अक्षरगंजमा नगरकोटीसँगको भेट (पाठक प्रतिक्रिया) – Raman Paneru

Akshyarganj Kumar Nagarkoti Book review

अक्षरगञ्जका पानाहरुमा डुल्दै गर्दा नाइट क्याफेको एक कान काटेको भ्यानगगले अचम्म मानेर हेऱ्यो । ऊ पिकासो र ब्राकसँग मगमा मगमा कालो कफि पिउँदै थिएछ। ‘तिमी को ?’ भ्यानगगले प्रस्न गऱ्यो ।
‘म नाथे पाठक।’
मैले अलि अदबसाथ जवाफ फर्काएँ । ‘नाथे पाठकहरुलाई अक्षरगंजको बाटो कसले देखायो ?’ उसले अचम्म मान्दै प्रश्न गऱ्यो ।                           ‘म नगरकोटीलाई पछ्याउँदै आएको ।’ नगरकोटीको नामले केही भइजान्छ कि भनेर बुढालाई सुनाएँ । ‘अचेल नगरकोटी पछ्याउँदै आउनेहरुको ओइरो छ । नाथे पाठक, वेलकम टु अक्षरगञ्ज ।’ सायद जुक्तिले काम गरेछ । बुढा आत्मीय बने । ‘धन्यवाद ।’ आफ्ना बत्तिसी देखाउँदै सधन्यवाद त्यहाँबाट अघि बढे ।
रेनासा रेस्टुरेन्ट भित्र पस्दा बालकृष्ण सम र पहलमानसिंह स्वाँर देखिए । स्वाँर समलाई नेपाली नाटकमा को पहिलो भनेर सुनाउँदै थिए । ‘स्वाँर काजीको कुरा सही हो ।’ मैले पछिबाट बोले।’; ‘तिमी को ?’ समले अचम्म मान्दै सोधे। ‘म नाथे पाठक । नगरकोटी पछ्याउँदै आएको ।’ पहिलेकै उपाय प्रयोग गरेँ । ‘यो रामलाल जोशीको ऐना । सुदूरको कोशेली । मदन पुरुष्कार पाएको किताप ।’ स्वाँर काजीलाई मैले ऐना देखाएँ । ऐनामा एकछिन आफ्नो अनुहार हेरेर स्वारकाजी मतिर फर्के ।
‘हाम्मा तिर लेख्दा छन् के त अझै । न्याँसम्म कोइ ल्याउँदो भयान ।’ स्वाँर काजीले यस्तै भने कि मैले त्यस्तै सुनेँ यकिन थाहा छैन. मैले उनलाई मनिराज जोशी, श्रेष्ठ प्रिया पत्थर, निरञ्जन बम ‘टि एम’, डा. पुष्करराज भट्ट लगायतका केही लेखकहरुको प्रतिनिधि रचनाहरु बुझाएँ। बुढा निकै दंग भए।

अगाडि बढ्ने क्रममा अक्षरगञ्जमा नगरकोटीले बयान गरे जस्तै थुप्रै स्वदेशी र विदेशी साहित्यकारहरु पनि भेटिए । तर मलाई त तल्लो तलामा जानु थियो। त्यसैले सबैलाई कर्के नजर लाउँदै तल ओर्लेँ। शंकर लामिछानेसँगै नगरकोटी र खलिल जिब्रान पनि भेटिए। ‘हु द हेल आर् यु ?’ नगरकोटी बम्किए। ‘म नाथे पाठक !’ पहिले जस्तै स्वीकृत होला भनेर पुरानै शैलीमा ङिच्च हाँस्दै सुनाएँ । ‘टु हेल विथ नाथे पाठक। यहाँ किन आएको ?’ नगरकोटीले फेरी प्रश्न तेर्स्याए। ‘म अक्षरगञ्ज घुम्दै आएको। शंकर लामिछानेलाई कुमार नगरकोटी बुझाउन आएको।’ झोलाबाट नगरकोटीका किताब झिकेर वाल्ल परेर हेरिरहेका लामिछानेलाई बुझाएँ । ‘प्रकाश सायमी पछिका अर्का कस्मिक फ्यान यिनै होलान्। तपाईंको लेखनको ठूलै प्रभाव छ यिनमा।’ नगरकोटीका पुस्तकहरु ओल्टाइ पल्टाइ हेरि रहँदा मैले व्याकग्राउण्ड इन्फोर्मेसन दिएँ। नगरकोटी पालैपालो लामिछाने, काफ्का र मलाई हेर्न थाले । लामिछानेको प्रतृक्रिया बुझ्न होला उनले बसेको कुर्सिमा अलि तानिएर बस्दै दारी चलाउँदै सुन्न चाहे । ‘अच्छा छ। म यी सब पढ्छु ।’ लामिछानेले बोली फुटाए । ‘कस्मिक फ्यान नै नभए पनि सानो तिनो फ्यान त मै पनि हुँ । प्याजी चिन्तन खुब पढेँ । पहिले साहित्य खासै मन नपराउने तपाईँ मन पराउने हुनु भएकोमा खुशी लाग्यो ।’ मैले लामिछानेलाई उनकै किताबबाट उनकै शब्दहरु सुनाएँ । ‘प्याजी चिन्तनका क्रममा “मलाई मन पर्ने कुरा मात्र, त्यस्ता कुरा जो म ठान्दछु अरु पनि मन पराउलान, र त्यस मन–पराइको माध्यमबाट मलाई रुचाउलान् र मेरो नाम लिनेछन्, भन्नेछन् वाह, लेख्छ, शंकर नयाँ चीज दिन्छ …. यही हो साहित्य ! … यही छलकपट, धोका, एक सेलेक्शनको रुप हो, साहित्य !” यस्तै लेख्नु भएको थियो ।

(( अझै “कवि, तिमीले अनुभव गरेको भावना हो … अथवा यस्तो अनुभव, गर्नुपर्दछ भन्ने तिम्रो परम्परागत आदर्श हो ? …. मलाई लाग्दछ, साहित्य वास्तवमा विडम्बना हो ! किनभने साहित्य नाम कमाउने पेशा मात्र हो!” ‘म हृदयले तिमीलाई प्यार गर्छु !’
… बेवकूफ, प्यार हृदयमा हुन्छ ? प्यार भनेको त यौन..भावनाको विकृत, अचेतन रुप हो !’ पनि लेख्नु भएको थियो।’ ))
‘मैले “लेखकको औपचारिक प्रदर्शनलाई किन लेबिल लाउने हँ ?…भर्खर प्रेम परेकाहरु आफ्ना तत्कालीन अनुभवको असल रुप मात्र प्रस्तुत गर्ने प्रयास गर्छ।” भनेर पनि लेखेको छु।’ शंकर लमिछाने अलि निधार खुम्च्याउँदै बोले। ‘अनि “सबै लेखको आधारमा मेरो विश्लेषण गर्न खोज्यौ भने कत्रो भाम्लो हुन जानेछ। …त्यो दुस्साहस मैले स्वयं आफूउपर गर्न सकेको छैन !” भनेर पनि लेखेको छु ।’ ‘लेबिल सहजताका लागि लाउँदा रैछन्। रक्सीमा लेबिल लाउँदा कति कडा भन्ने थाहा हुन्छ। सबैले आफ्नो रुची र आवश्यकता अनुसार पिउँछन्।
साहित्यमा पनि त्यहि होला’ म भन्न थालेँ। ‘साहित्य रक्सी होइन । फल्स एनालोजी !’ चुपाचाप सुनिरहेका नगरकोटी एक्कासी बम्किए। ‘मेटाफोर मानवका अघि मेटाफोरको गलत उपयोग गरेछु। तपाईंलाई मनपर्ने भएर पनि मैले त्यो एनालोजी दिएको। फेरी लेख्न पनि रक्सी जस्तै लेख्नु हुने रहेछः सुरुमा पिउन गाह्रो पिएपछि लत लाग्ने। मैले पनि एक पेग, दुई पेग गर्दै २९ पेग पिए पछि ठीस भएर अक्षरगञ्ज खोज्दै पसेको।’ मैले प्रस्ट्याएँ। ‘ह्वाट ननसेन्स! म अचेल रक्सी पिउँदिन। म त अचेल गुरु रिम्पोचे र सावित्री कार्कीको प्यार पिउँछु।’

‘त्यो झन कडा नसा हो।’ लामिछानेले थपे । ‘नगरकोटीमा के पायौ?’ कुनामा बसेका खलिल जिब्रानले सोधे। ‘राजकुमार श्रेष्ठ टु कुमार नगरकोटीको यात्रा गज्जब लाग्यो। बा र आमाका कथाले त झनै मेकिङ्ग अफ नगरकोटी पुरै बुझायो। ऋतु र मिरा भट्टराईका प्रसंगले त्यो दिन पनि छिलबिल भएको रै‘छ भन्ने लाग्यो। नामै लेख्न नहुने थियो कि जस्तो पनि लाग्यो । बट हु केयर्स ? इट्स नगरकोटीज् फिक्सनल वल्र्डह जे लेख्दा पनि हुन्छ। उनलाई सजिलो छ । ‘मुक्त लेखन’ भनेर लेख्दा के, कसरी, कुन भाषामा, कुन शैलीमा, भन्ने कुनै प्रश्नै आउँदैन। गोपाल रिमालले कवितामा मुक्त छन्द नगरकोटीले आख्यानमा घुसाए। त्यसैले अक्षरगञ्जमा पनि नगरकोटी पढियोस् भनेर आज बोकेर ल्याएँ। अँ, क्याजुअल लेखहरु पढ्दा वाङ्गदेलले अब्स्ट्रयाक्ट लेख माग्दा जन्मेको अब्स्ट्रयाक्ट चिन्तनः प्याज खुब याद आयो। नगरकोटीको अक्षरगञ्जको यात्रा रमाइलो बडा लाग्यो।’ एकै सासमा सबै भनि भ्याएँ। ‘यो भाषाको लफडा अझै छ ?’ शंकर लामिछानेले विषयान्तर गर्दै चिन्तित भएर सोधे ।

‘अहिले अझै जटिल बनेको छ। एउटै भाषा एउटै भेषका कुरा गर्नु अहिलेलाई पाप हो।’ मैले नेपालमा पहिचानको आन्दोलनको प्रसंङ्ग उठाएँ। ‘संस्कृति जान्नेले संस्कृत शब्द घुसाउँदा आपत्ति नहुने, अंग्रेजी पढेकाले त्यसो गर्दा यहाँ निकै बबाल मचाइँदो रहेछ ।’ लामिछानेले निष्कर्ष निकाले । ‘संस्कृत श्रोत भाषा भएकोले हो कि ? आतिस तासिरले मान्टोका कथाहरुको भूमिकामा हिन्दीको संस्कृतिकरणमा चिन्ता देखाए जस्तै अवस्था नेपालीमा पनि आएको हुनसक्छ । तर नेपाली भाषाको नेपालीकरण सम्भव छैन ? बरु नेवारीकरण या किराँतीकरण गरे पनि भयो । त्यसले भाषालाई पनि समावेशी बनाउँथ्यो । अंग्रेजीकरणले मौलिकता नरहला भन्ने लागेको छ।’ ‘टु हेल विथ योर । के फरक पर्छ ? हु क्येर्स ?’ नगरकोटी उवाच । नगरकोटीले भाषा विवादमा दख्खल दिएपछि त्यसमा धेरै बोल्न मन लागेन । त्यसैले फेरि विषय परिवर्तन गरेँ । ‘अँ घटा गणेश पढ्दा चिनेकै मान्छे पो हो कि लाग्यो । एकै गाउँठाउँका भएर होला ।’ नगरकोटीको प्रतिक्रियालाई केयर नगरेरै मैले किताबको एक किस्सासँग जोडिएको पात्रको सन्दर्भ उक्साए । ‘आइ स्टिल डन्ट नो, ह्वाइ ही कमिटेड अ सुसाइड ?’ नगरकोटीले नोस्टाल्जिक प्रश्न सोधे । उत्तर मसँग पनि थिएन । तसर्थ, नगरकोटीलाई नोस्टाल्जियामा, लामिछानेलाई नगरकोटीका किताबमा र खलिललाई दुबैका माझमा छोड्दै म भने त्यहाँबाट छु मन्तर भएँ।

-Reviewed by Raman Paneru