“आमा” – Santosh Basyal – कविता

आमा
बिहानै भगवान आउँछन् भनेपछि
आमा पूर्व तिर फर्केको आकाशलाई
जल चढाउँदै भन्नुहुन्छ ”परमेश्वर, रक्षा गर’!!

मैले आमाको भक्ति भाव भन्दा पनि रजस्वला भएर,
रगतले भिजेका पेटीकोट देखेर टिठाउथे,
आमा भगवान लाई फुल चढाउनु हुन्थ्यो,
तर भगवान आमालाई सधैँ दुख मात्रै चढाउथे !

हिजो राति आमालाई अल्छी लाग्दा नमाझेका भाडा
सुकेर कक्रक्क छन्,
दमले थालिएका मेरा बा जस्तै
आमालाई आफ्नो न स्याहार गर्ने फुर्सद छ,न आहार भर्ने
फुर्सद छ !
आमा सुइया गर्न नपाउँदै घाम अस्ताउँछ !!

कुनै दिन त आमा लाइ नि लाग्दो होला नि
हातै भरि रातै चुरा अनि लामो डोरीले कपाल बाट्ने रहर
तर समय नै कहाँ, फुर्सद नै कहाँ ?
चाहनाहरू पटपटपत्थी फुट्थे
आमा का हातमा
बाकी रहेका तीनै दुइटा चुरा पनि फुटे जस्तै,

अप्रदर्शित माया देखाउने मेरी आमा एकदिन कठोर प्रदर्शन गर्दै भनिन,
चिसा मझेरी,भत्किएका भित्ता अनी बेहिसाब प्वालैप्वाल परेका
छाना देखाउदै भनिन
छोरा विदेश जा घर चलेन !
रोगले ग्रसित भएर मृत्यु कुरेका मेरा बा
र आँखा का बार्दलीमा अडिएका आमाका आशुलाई
रुख हराएको छाया जस्तै अलपत्र पारी हिँडे म-“विदेश”

हिँड्ने बेला बातिर फर्केर नेबुलैज़र थमाइदिदै भन्न मन थियो
’बा मेरो चोर औँला समाएर हिडाल्नु न फेरी बच्चा हुन मन छ
उता आमा मैले एसएलसी दिन जाँदा को दिन जस्तै
आँखा मा आशु अनि हात मा दहीको कचौरा लिएर बिदाइ गर्न बस्छिन्!

धेरैपछि म फर्किए, सुटकेस लिएर होइन,
आमा को खुसी लिएर होइन,
आफै गुमेर आए
काठ को बाकस मा बेरिएर आए
यस पाली नि अधुरै भो आमाले
किन्छु भनेको निधार को नयाँ रातो टिका

आँगन नजिकै सुताइयो
बा पीढी बाट बल गरेर रुन खोज्दै हुनुहोला
आमा मलाइ अँगालो हालेर रुँदै हुनुहोला
अनि पल्लो गाउ कि पार्वती पनि कसैले नदेखुन
भनेर सचेत पूर्वक रुँदै होला !!

मलाई बा, आमा अनि मेरो कोठाको खाट मुनि
माकुरा को जालो लागेको काठ को बाकस भित्र
स्कूल पड्दा लुकाएको पार्बतिको फोटो सँगै लान मन थियो,
तर मेरा हातै चलेनन् म उठ्नै सकिन
म भित्र भित्रै भकानिएर रोए,तर म रोएको कसैले देखेनन्

मलाई साँझ पर्ने लाग्दा घाट मा लगेर जलाइदिए,
मलाई जलाएर फर्किदैं गर्दा
गालाभारी बसेका आशुका धमिला धर्सा हरु पुछ्दै
उकालीको चौतारीबाट आमाले एकचोटी
फर्किएर हेर्नुभएको होला,
र आमा ले आज पनि म विदेश जाँदा जस्तै गरि

भन्दै हुनुहोला ”छोरा, राम्रो सँग जा है !!”