“उसको प्ले लिस्ट!”- बानेश्वरको छत बाट- Part 3- सुमी Jr.

“हाहा! उसको प्लेलिस्ट कस्तो अनौठो|
” आफ्नो खित्का थाम्दै उसले भन्यो, “साँच्चै, तेरो साथीलाई मल्टिपल पर्सनालिटी डिसअर्डर नै भएको हुनपर्छ|” मैले पनि हास्दै सोधें,”अँ, हल्का पागल छे, तर डिसअर्डर नै चाहिँ किन नि?” उसले अझ हास्दै भन्यो,”नारायण गोपालको ‘आजै र राति’ र निकी मिनाजको ‘एनाकन्डा’ संगै छ, उसको प्लेलिस्टमा|” मलाई चिन्नुभएन होला| म उही पागल केटीकी रुममेट| एकपटक साथीलाई भेट्न जाँदा आफ्नो मोबाइल बिग्रिएकाले उसको मोबाइल लिएर गएकी थिएँ, त्यतिबेला को कुरा हो यो| दुई महिना भन्दा धेरै भयो एउटै कोठामा बसेको तर अहँ, ऊ कस्ती केटी हो भनेर मैले अझै पनि ठम्याउन सकेकी छैन|ऊ घरि न घरि कहाँ बाट के कागज निकालेर पढीरहन्छे| हामीबीच मेलखाने कुरा पनि दुइ-चारवटा मात्र छन्| पहिलो त यो कि हामी दुवै एकअर्कालाई अनौठो भन्ठान्छौं (महत्वपूर्ण फरक यत्ति हो कि उसलाई म बाहेक अरुले पनि अनौठो भन्छन) र दोस्रो यो कि हामी दुवै महिलाजाति हौँ|
]
ऊ कहिलेकहिँ रिसउठ्दा कुरा गर्छे, कहिले मनछुने कुरा गर्छे| एकपटक मलाई ममीदेखि वाक्क लगेर आएको थियो, वहाँले फोन गर्दा नि उठाउन मन लाग्या थिएन, उसले एउटा नोट ल्याएर दिई| हेर्दा उसको ह्यान्डराइटिंग जस्तो चाहिँ थिएन :- “. . .उसले घरमा थाहा नै नदिकन अर्कै नम्बर लिएकी थिई| पुरानो सिम-कार्ड हाल्ने बित्तिकै उसको ममीको फोन आउथ्यो| खै किन हो, ऊ आफ्नो ममीसंग कुरा गर्नै मननगर्ने; २०दिन जति भएको थियो उसले आफ्नो ममीसंग नबोलेको| आज कत्ति पछि उसले पुरानो सिम हाली| एक्कैछिन पछि उसको ममीको फोन आयो|२-३ कल सम्म उठाइन| चौथो पटकको कलमा रिसाउदै-मुर्मुरिदै मोबाइलको ब्याट्री झिकेर राखी| मेरो मन कटक्क खायो, मनमनै त्यो हर्कतलाई सरापे | म पनि मामुलाई त्यस्तो धेरै माया गर्ने मान्छे त हैन तर त्यतिबेला बिछट्टै माया लगेर आयो| ऊ मेरी रुममेट थिई; रमाइली मान्छे, तर आफ्नै आमासंग किन त्यस्तो? म कारण पत्ता लगाउन खोजिराथिएँ | मैले आफ्ना गल्तिहरु सम्झिए, मामुसंग झर्किएको-रिसाएको सम्झिए, छटपटी भयो| कोठामा बस्नै नसकेर छततिर गएर मामुलाई फोन गरेर सबै सुनाए, वहाँ पनि भावुक हुनुभयो, आमा भएर आमाको मर्म बुझ्नुभएर होला| मामुसँग कुरा गरेपछि मन निकै हलुको भयो. . .” म त्यति पढ्दापढ्दै रुन पुगेछु, उसले थाहा पाएर,”ल अब धेरै सेण्टि खान पर्दैन| भरे खुरक्क ममीलाई कल गरेस| अहिलेलाई ला गीत सुन, राम्रो फील गर्छेस, सहि छ मेरो प्लेलिस्ट’, भन्दै आफ्नो फोन दिई| “साइको! रुवाउने बेला रुवाएर प्लेलिस्टले मलाई फकाउने? तेइमथि मल्टिपल पर्सनालिटी डिसअर्डर वाला प्लेलिस्ट होला”, मैले पनि जिस्काए| ‘जीवननै डिसअर्डर भा’छ यार, प्लेलिस्टको के कुरा गर्नु. . .”, ऊ शायद दर्शनका कुरा गर्दै थिई म भने उसको प्लेलिस्ट सुन्न तर्फ लागे|
क्रमशः

Comments