कि-रिङ्गका रिङ्गहरु- शिशिर सुवेदी

कि-रिङ्गका रिङ्गहरु

कथयिताः
जब मानव जगत अलि जान्ने-बुझ्ने भइटोपल्यो तब उसका खु्ट्टा भुईँमा रहेनन्। म शाब्दिक अर्थमै भन्दै छु सरकार; पिलेन-रकेट जो बनेका छन्। तर, हाम्रो कुरो अलि अघिको हो। मान्छेको लोभ भौतिक कुरामा बढ्न थालेको बखत हो हजुर। लुटेर, चोरेर, भ्रस्टाचार गरेर कमाएको सम्पत्तिको के भर, कसैले मङ्सिरमा आफ्नि जि.एफ. उडाएजसरी उडाउन सक्छ भनेर होला चाबी-ताल्चाको आबिष्कार भा’को। बिस्तार-बिस्तार चोरी-चकारीको टेकनिक सँगै ताल्चा-चाबिको पनि बिकास हुँदै गयो (होला भन्छु म) । तर, यो चोरीगर्ने र ताल्चा-चाबी मेकर सँगठित छन् भन्ने आशंका बाढी बनि आयो यो मगजमा। हैट! हो कि क्या हो? <(Ah… makes sense भनि अङ्ग्रेजी लेखी टोपलीहालौँ) > लक फोडिन्छ र नयाँ साँचो आफ्नो मोटे ताल्चा पार्टनरसँग आउँछ, चोर र चाबी-ताल्चामेकरको जोडि जस्तो। यत्रो लामो कथा किन भन्दै छु भने, अब हाम्रो हिरोको इन्ट्री हुन लागो। यो चाबी-ताल्चाको र चोर र चाबी-ताल्चामेकरको राम्रोसँग चलिरहेको माया-प्रेममा किसिम-किसिमका आन्द्राले सुसज्जित भएर आउँछ ‘कि-रिङ्ग’, अन्डरएस्टिमेटेड एक पात्र।

ढोका, चुकुल, सेफको बखानः
साँचो स्त्री जात हुनुपर्छ भन्ने मेरो भनाइ रहेको छ। ताल्चालाई ‘Turn-On’ गरेपछि हर बिहान, हर दिउँसो, हर बेलुका दराजको माथि, र्याकको सबभन्दा पुरानो जुत्ताभित्र, डोर-म्याटमुनि (अझ सेफको त काँ-काँ) ताल्चासँगको अर्को भेटको मीठो आशामा पर्खी बस्ने साँचोले नयाँ साथी पाएको छ, कि-रिङ्ग। कि-रिङ्ग एक महान प्रेमी। थाहा छ उसलाई घरमा कोहि नभएको बखत ताल्चाले साँचोसँग के-के हर्कत गर्छ भनेर र साँचोले पनि कति मजाले ताल्चालाई रोमान्चित गराउँछ भनेर। अहिलेका प्रेमीको के कुरा गर्छौ? कि-रिङ्ग खुद आफ्ना आँखाले हेर्दछ यी सबै हर्कत। तर चुप रहन्छ, साथ दिन्छ साँचोलाई जँहा भएपनि, जहिले भएपनि, खियाले अन्तिम भाग नखाएसम्म ( Alloy र Stainless Steel का नमुना बाहेक)। न्यानो अँगालो दिन्छ साँचोलाई बिछोड भएको बखत। त्याग त यस्तो होस्, साथ त यस्तो होस्।

ताल्चाको बखानः
कि-रिङ्ग मोरो रण्डो! मेरी Stainless Steel/Alloy ले बनेकी, कहिले गृजको मग-मग बासनामा घुम्टो ओढेर मलाई भेट्न आउने मेरी एकमात्र (खोक्छ) (हैट् यार, तेसरी आँखैमा नहेर न, ल ल अरुलाई नभन नी आजकाल ३‍‍‌/४ वटा साँचो आउँछन एउटै ताल्चामा भनेर, हिट जो भइया छ, हेहे) जीवन-सँगी साँचोलाई उडाइदियो। लिपिक्क लाज-शरम पचाएर बस्छ, अर्को असत्ति कि-रिङ्ग नै जन्माउला जस्तो गरेर।

साँचोको बखान:
कि-रिङ्ग मेरो सबभन्दा मिल्ने साथी हो। अझ भनौँ बेस्टी हो। म एक्लो भएको बखत कस्ता-कस्ता ठाउँमा पनि मलाई साथ दिन्छ। यो ताल्चावादी समाजमा एक साँचोले एक कि-रिङ्गलाई मनबाट साथी बनाउनुलाई अनैतिक कार्य मानिन्छ। आशा राखौँ निकट भविष्यमा ( डिजिटलले हामीलाई सुकुम्बासी नबनाए) त्यो दिन पनि आउँनेछ जहाँ हर कि-रिङ्ग र हर साँचो आनन्दले समाजको कुनै ट्यागबिना बाँच्न सक्नेछन्।

कि-रिङ्गको बखानः
तनाव छ हजुर तनाव।