माता तिर्थ औँसी अनि अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’ – Raman Paneru

Albert camus The stranger and Kushe Aunsi - Raman Paneru

माता तिर्थ औँसी अनि अल्बर्ट कामुको ‘द स्ट्रेन्जर’

 

चिउँडाका दुई किनारामा गाढा बन्दै गरेका धर्साहरु, अझ स्पष्टहुँदै गरेका आँखाका डिलह, चश्मा चढेको अनि कहिल्यै नमेटिने हाँसो भएको आमाको मुहार हेरिसकेपछि मनमा धेरै कुरा खेले । आज आमाको मुख हेर्ने दिन भनेर हिजो देखि नै सामाजिक सञ्जालमा चर्चा सुरु भइसकेको थियो । फेसबुक भएपछि पात्रै पनि हेरिरहनु नपर्ने भएको छ । हरेक कुराको भेउ पाउन सजिलो भएको छ । भोलिपल्ट कुरा गरौँला भनी सुतेको थिएँ । विहान आँख खुल्ने बित्तिकै फोनमा सन्देसहरु पढ्न खोज्दा बहिनीको सन्देश पनि भेटेँ ।

‘सान्दाइ, आज मम्मीको मुख हेर्ने दिन हो । कल गरेस मम्मीलाई, भिडियो कल गरे नि हुन्छ ।’

म आँखा माड्दै फोन लगाउन थालेँ । घरको लाइनमा एकतर्फी मात्रै सुनिने भएको रहेछ सायद, भाउजुको नम्बरमा फोन गर्न भनेर आमाले राखिन् । भाउजुकै नम्बरमा फोन गरेको केहि बेरमै ‘फोनबाट धेरै पैसा लाग्ला नेटमै आइजा ।’ भनेर आमाले कुरा टुङ्ग्याइन् । त्यसपछि आमाकै खाताबाट मेसेन्जरमा भिडियो कल आयो । ५७ मिनेट २८ सेकेण्ड लामो भलाकुसारीपछि आशिर्वाद लिँदै कुरा टुङ्ग्याएँ ।

आमाको मुख हेर्ने दिन पारेर सामाजिक सञ्जालमा फोटोहरु राख्ने अनि आमाप्रतिको भावनाहरु पोख्नु गलत हो भनी एकथरीले तर्क गर्दै गर्दा आमासँग त्यत्रो वार्तालाप गरियो । हुन त तिनलाई के थाहा उमेरले ५४ टेकेकी मेरी आमाले केहि सालदेखि फेसबुकमा समेत खाता खोलेकी छिन् । बेला मौकामा त्यसैमा सन्देश पठाइ रहन्छिन्, अनि आमा छोरा भिडियो कलमा गफिन्छौँ । मेरा आमा जस्ता कतिधेरै आमाहरु अहिले सामाजिक सञ्जालमा होलान् । फेरी सामाजिक सञ्जालमा पोखिएका भावना आमाले पढुन् नपढुन्, अरु छोरा–छोरीले अवश्यै पढ्छन् । आँखिर यो छोरोले पनि त्यस्तै भावनाहरु पढेरै कुशे औँशीको चाल पाएको हो । त्यसैले यसो गर्नु उसो गर्नु भन्नु भन्दा आफूलाई उचित लागेको सबैले गर्नु र उदाहरणीय बन्नु । मनपरे अरुले पनि पछ्याउँछन् । मन नपरेपनि आफूलाई मन लागेको गरेछु भनेर खुशी मिल्छ ।

सबैले आफू अपेक्षित व्यवहार गरोस् भन्ने सोच पहिले देखि नै मान्छेले राख्दै आएको हो । बेलाबेला त्यस्तो अपेक्षा पुरा नभइदिँदा मानिसले अनेक किसिमले आक्रोश पोख्दा रहेछन् । कामुको ‘द स्ट्रेन्जर’ पनि संयोगले कुशे औँशीकै छेउछाउमा सुरु गरेको थिएँ । आजै पढेर भ्याएँ पनि । उपन्यासका मुख्य पात्रले आमाको मृत्युप्रति अपेक्षित प्रतिकृया दिन नसक्नुले उनी प्रतिको धारणा नै फेरिदिन्छ । ‘आमा र आफूबीच आदानप्रदान गर्नका लागी केहि नहुँदा’ आमालाई सँगै राख्न नसकेको र वृद्धाश्रम पुगेकी आमा छुट्टिएको ३ वर्ष मृत्यु वरण गर्न पुग्छिन् । आमाको मृत्यु संस्कारमा सामेल हुँदा उनमा अपेक्षित पिडा नभेटाउँदा मानिसहरु उनको आमा प्रतिको मायामा शंङ्का गर्न पुग्छन् । त्यही कुराले हत्याको आरोपमा सजाय सुनाउन चलिरहेको अदालती बहसमा पनि असर गर्छ ।
‘हाम्रो समाजमा आमाको मृत्यु संस्कारमा नरुने मान्छे मृत्युदण्डको सजाय पाउने खतरा मोल्न पुग्छ ।’

In our society any man who does not weep at his mother’s funeral runs the risk of being sentenced to death

उपन्यासका मुख्य पात्रले देखाएको इमान्दारिताका बाबजुद उनका कुराहरु मानिसले पत्याउँदैनन् । त्यसको एउटै कारण भनेको उनले सबैले अपेक्षित उत्तर दिँदैनन् । आफूले सुन्न चाहेको कुरा उनको मुखबाट ननिस्किँदा उनीहरुले झुठो बोलेको आरोप लगाउँछन् । इश्वरसँग साक्षात्कार गरेका भनेकाहरुले पनि उनको इश्वरप्रतिको अनास्था र निराशालाई देखावटी भन्छन् ।

‘नाइ, म तिमीलाई विश्वास गर्न अस्वीकार गर्छु । मलाई थाह छ कुनै न कुनै बेला तिमीले अर्को जीवनको कामना गरेका छौ ।’ मैले भनेँ, हो मैले कामना गरेको छु तर ती कामना मेरो धनी हुने, छिटो पौडने, अझै सुन्दर आकारको मुख, जस्तै मात्र थियो ।

“No, I refuse to believe you ! I know that at one time or another you’ve wished for another life.” I said of course I had, but it didn’t mean any more than wishing to be rich, to be able to swim faster, or to have a more nicely shaped mouth. It was all the same.

कामुको उपन्यासमा मुख्यपात्रले आमाप्रतिको वाक्षित संवेदना देखाउन नसक्दा भोग्नु परेको अप्ठ्यारो र कुशे औँसीमा आमा प्रतिको भावना देखाउँदा वा नदेखाउँदा भोग्नु परेको अप्ठेरोले कताकता पढाइको अर्कै सान्दर्भिकता थपिदियो । भावना र संवेदना नितान्त व्यक्तिगत हुनु पर्ने । आमासँगको साइनो या अन्य कुनै व्यक्तिगत साइनो पनि नितान्त व्यक्तिगत हुनुपर्ने । त्यसलाई कसरी बाहिर देखाउने वा नदेखाउने व्यक्तिगत इक्षामा निर्भर रहनु पर्ने । ती सबै कुरामा सफाइ खोज्ने हाम्रो समाजले बरु सुध्रनु पर्छ । अब अलि परिपक्व भएर अघि आउनु पर्छ ।

लामो समयपछि पहिलो पटक मैले आमाको बारेमा सोचेँ । जीवनको अन्ततिर आएर उनले जीवन साथी किन छानिन्, किन त्यहाँ नयाँ सुरुवात जस्तै गरीन् भन्ने कुरा बुझे झैँ लाग्यो । जीवन खुइलिँदै गएको त्यो घरमा समेत साँझहरु ग्लानीले भरिएका विराम जस्तै थिए । मृत्युको त्यति नजिक पुग्दा आमाले आफूलाई स्वतन्त्र भएको र फेरी जिउनका लागी तयार भएको महशुस गरेको हुनुपर्छ । उनका लागी रुने कसैलाई, कसैलाई पनि अधिकार छैन ।

For the first time  in a long time I thought about Maman. I felt as I understood why at the end of her life she had taken a “fiance,” why she had played at the beginning again. Even there, in that home where lives were fading out, evening was a kind of wistful respite. So close to death, Maman must have felt free then and ready to live it all again. Nobody, nobody had the right to cry over her. 
कामु पढे पश्चात मेरो मन स्थिर रहन सकेन । कामुसँग सम्बन्धित पाए जति सबै कुरा खोतलेँ । उनको विचारहरुका बारेमा धेरथोर पढेँ । उपन्यासकै लेखिएका केहि प्रतिकृयाहरु समेत पढेँ । तिनै मध्ये एक प्रतिक्रियामा पुस्तकका बारेमा अरुले पढ्ने सुझावदिँदा विषयवस्तुका बारेमा बोलेका कुराले ती पाठकले पुस्तक ३० वर्ष सम्म नपढि बसेका रहेछन् । तर जब उनले पढे त्यसबेला पुस्तकका बारेमा उनले सुनेका सबै कुरा गलत सावित भए । उनले पुस्तक आफूले सोचेको भन्दा बढि नै उत्कृष्ट पाए । मेरो हकमा पनि धेरथोर त्यो लागु हुन्छ । मैले यो पुस्तक सानो भएका कारण र कामुले लेखेकोले पढ्ने सोचेको थिएँ । तर पुस्तक भित्र यस्तो छ भन्ने सानो भनक पनि पाएको भए सायद म यो पुस्तक धेरै अघि पढि सक्थेँ होला । त्यसैले मलाई यो पुस्तकको बारेमा केहि लेखौँ या नलेखाँै भएको थियो । मैले यो पुस्तकलाई जुन तरिकाले सान्दर्भिक पाएँ सायद त्यो सान्दर्भिकता प्रति अरुको उति चाँसो नहुन सक्छ । त्यसैले यो प्रतिकृयालाई आधार बनाएर पुस्तकको विषयवस्तुको अनुमान लगाउने भुल नगर्न अनुरोध गर्दछु । यो मात्रै होइन कुनै पनि पुस्तकका बारेमा भएका टिप्पणीले पुस्तकले तपाईंलाई दिने आनन्दको पूर्वानुमान लगाउन सक्दैन ।

अन्तमा सबै आमाहरु प्रति सादर नमन ।

-Raman Paneru

[ You can visit his blog here ]