कैदी – अंकित खनाल

Kaidi Ankit Khanal

 

“के म भित्र आउन सक्छु?”
“भित्रै पसिसकेर अनुमति माग्ने कस्तो काइदा हो?”
“यही अनुमति पाउनका लागि मान्छेलाई यत्रो सास्ती? होइन, के हो यस्तो तिम्रो चाल? के अरे यो तिम्रो विचित्र, अद्भुत र संसारमा नै सायद पहिलो प्रकारको कैदको नाम?”
“ए! यसलाई स्वैच्छिक कैद भन्छन्।”
“अनि के अपराध गऱ्यौ र यो कैदमा छौ त?”
“स्वैच्छिक कैद त आफैंले अपनाएको एक प्रकारको जीवनशैली हो। जसले समाजमा अटाउन नसकेका म जस्ता असामाजिक प्राणीहरूलाई जिउने प्रशस्त स्थान र समय दिन्छ।”
“खै तिम्रा कुरा पनि। फेरि असामाजिक प्राणी? लु भैगो। अनि तिमीलाई भेट्न समय माग गर्ने आवेदन दिनुपर्ने अनि त्यसको कारवाहीका लागि प्रतिक्षा गर्नुपर्ने, वास्तविक जेलमा पनि नभएको नियम तिम्रो जेलको। बाबा हो!”
“यो जेलको जेलर र कैदी पनि एउटै छ। त्यसैले समय लाग्यो होला।”
“किन आयौ, तातो-चिसो के लिन्छौ भनेर सोध्ने चलन छैन हो?”
“म्याडम, यो जेल हो। घर होइन। रह्यो कुरा आउनुको प्रयोजन सोध्ने। अब कैदीलाई भेट्दा प्रयोजन हुने त केवल वकिल हो। मेरा त वकिल पनि छैनन्।”
“तिमीलाई थाहा छ कि छैन, तिम्रो जेल बाहिर त तिमी मेरै कारण कैदी बनेका हौ भन्ने हल्ला छ भन्ने? मलाई यसले कति तनाव दिएको छ, थाहा छ? किन यसो गर्छौ तिमी?”
“तिमीले यी कुरा सुन्यौ र मान्यौ। त्यसैले तनाव भयो। सुन्न त सुन्यौ, ठीक छ। तर मान्यौ पनि भने त्यो तिमीले नै उत्पन्न गरेको परिस्थिति हो। नमान, सकिहाल्छ कुरा।”
“कति सजिलै नमान भन्छौ। नमान्न सजिलो छ र?”
“नमान्न सजिलो छैन भने मान। तर तनाव पनि मानेरै भएको हो भने किन लिनु? कुनैबेलाको तिम्रो र मेरो सम्बन्धका कारण लख काट्नेहरू निस्केका होलान्। अब यसलाई रोक्न त फेरि त्यही समयमा फर्केर जानुपर्छ। सक्छौ भने फर्केर त्यो भेटलाई हुनै नदेऊ।”
“के चलचित्र जस्तो लाग्छ तिमीलाई जिन्दगी पनि? समयलाई उल्टाएर कुनै पल मेट्न, त्यो हाम्रो भेट भएको समय मेट्न?”
“हाम्रो होइन, तिम्रो र मेरो भेट हो। व्यक्ति एक मात्रै हो। यसलाई एक्ला-एक्लै सम्बोधन गर्नुपर्छ। म कैदमा छु। म सम्म कसैका कुरा आइपुग्दैनन्। तिमी पनि यसै गर।”
“असामाजिक?”
“होइन! स्वैच्छिक बन्दी।”
“मलाई बन्दी बन्न स्वीकार छैन। म तिमी जस्तो सरफिरा पनि होइन। म सक्दिनँ समाज त्यागेर यसरी गुफाबास बस्न। मान्छे असामाजिक प्राणी होइन।”
“मलाई तिम्रो समाज प्रति गुनासो छैन, खेद छैन। तिमी यस्ता नाथे कुरा लिएर म सम्म आइपुगेकी हौ भने तिमीले तिम्रो समय नराम्री नाश गऱ्यौ। यो कैद मलाई स्वीकार्य छ। विगत सँग यसको केही तालुकात पनि छैन। बोल्ने मुख र बोलिने शब्द अरुका हुन्। यिनमा काबु पाउन कदापी सक्दैनौ। सुन्ने कान र बुझ्ने मगज तिम्रा हुन्। यिनलाई जितेर नसुन अनि सुनिहाले अनावश्यक नबुझ अनि बुझिहाल्यौ भने ………………..”
“ल ल भयो भयो। मलाई यति मात्र जान्नु थियो कि कतै यो सबैको कारण मलाई पो मानेका छौ कि छैनौ। बाहिर कतै यस्तो हल्ला चलेको छैन। म आफ्नै शंकाको निवारण गरिरहेकी थिएँ।”
(मौन)
“तर कैदमा भएपनि हरेक कुरा रङ्गिन लाग्छ रे नि तिमीलाई? कुरा के हो?”
“आँखाले श्यामश्वेत चित्र त पक्कै देख्दैन। फेरि मेरा आँखामा दृष्टिदोष छैन। त्यसैले हो, मलाई हरेक कुरा रङ्गीन नै लाग्छन्।”
“होइन, कति बङ्गा कुरा गर्छौ तिमी?”
“सत्य वचन प्राङ्गारिक उत्पादन जस्तै आकर्षण विहिन नै हुन्छ। लालायित बनाउन नसक्ने कटु नै हुन्छ।”
“होइन मैले त कवि, लेखकहरु बिम्व र प्रतीकको प्रयोगमा अभ्यस्त भएर बङ्गा कुरा धेरै गर्छन् र सीधा कुरा पनि बङ्गै देख्छन् भन्ने सुनेको छु।”
“गलत, गलत। पहिलो गलत मलाई कवि वा लेखक भन्नु। म मेरो लगम आफ्नै मुटुलाई जिम्मा लगाएको मान्छे हुँ। दोस्रो गलत सत्यलाई असत्य बनाउने दुस्साहस ममा छैन। म बङ्गोलाई सीधा देख्न सक्दिनँ भने सीधालाई बङ्गो पनि देख्न सक्दिनँ। भनिहालें नि ममा त्यस्तो कुनै प्रकारको दृष्टिदोष छैन।”

“ल उसो भए भनिदेऊ न त सत्य के हो?”
“सत्य भ्रम होइन।”
“यो त मलाई पनि थाहा छ। अझ विस्तारमा पो…..”
“थाहा भएको भए तिमी भ्रम बाँचिरहने थिएनौ सायद।”
“म बुझ्दिनँ तिम्रा कुरा।”
“होइन, तिमी बुझ्न चाहन्नौ।”
“ल यही सही। कुरा अर्कै थियो। कता मोडेको? ल सीधै सोध्छु। आजकाल प्रेममा परेका छौ रे, हो?”
“किन प्रेममा पर्नु आश्चार्यको विषय हो र? कि प्रेम अवाञ्छित छ?”
“उल्टै प्रतिप्रश्न पो? प्रेममा पर्नु आश्चार्यको विषय होइन। न त त्यो अवाञ्छित नै हो। तर तिमी?”
“तर के म? भनाइको तत्पर्य स्पष्ट पार।”
“पानीलाई ढुङ्गा सँग प्रेम हुन्छ र?”
“किन हुँदैन? त्यही प्रेमले गर्दा त ताल बनेका छन् नि।”
“तिम्रो बेगले तिमीलाई ताल बन्न देला त?”
“म ताल बन्न नसकुँला। तर वहाब रोक्ने त प्रेम हुनै सक्दैन। फेरि यसपटक यो पानीले बुझिसक्यो त्यस्तो ढुङ्गाको प्रेम।”
“अनि केलाई प्रेम गरेका छौ त? मान्छेलाई प्रेम गर्न जानेका छौ र?”
“मान्छे? (अप्रिय मुस्कान) सही भन्यौ मैले मान्छेलाई प्रेम गरेको छैन यसपटक। मान्छे चिन्न सक्दिनँ। त्यसैले मान्छेलाई प्रेम गरिनँ। फेरि मान्छेलाई गरेको प्रेम आकर्षण-विकर्षण, दुरी-हुरी अनि चुरिफुरी अनुसार घटबढ हुन पनि सक्छ। मलाई मेरो प्रेम घटाउनु‍-बढाउनु छैन। अचर राख्नु छ।”
“होइन, दिउँसै पिइसकेको? के बोल्दैछौ? थाहा छ?”
“म्याडम, हजुरलाई त पिएपछिको बेहोसी मात्रै थाहा होला। तर म त सधैँ बेहोसी। अझ गज्जब के भने मैले पिउन छाडेँ।”
“पिउन छाडेँ रे! ए बाबै! कस्तो अपत्यारिलो कुरा। कसरी पिउन छाड्यौ?”
“धेरैले भने तँ पिएपछि होस सम्हाल्छस्। मलाई होसमा रहने कुनै मन छैन र त्यसको अर्थ पनि छैन। रह्यो कलेजोको कुरा ………”
“भैगो छाडिदेऊ यी तिम्रा बेतालका कुरा। बरू भन को सँग प्रेम गऱ्यौ त?”
“(खाली पाना देखाउँदै), हेर आफैँ।”
“के हो यो? केही नलेखेको कागज छ त।”
“ठीक भन्यौ। त्यो केही नलेखेकै कागत हो।”
“मेरो प्रश्नको जवाफ नदिई किन यो कागज थमायौ?”
“जवाफ त्यहीँ छ। नियालेर हेर।”
“खोइ के छ? केही छैन त। मेरो सीधा प्रश्नको जवाफ सीधै दिए हुन्न?”
“प्रेममा त छु। तर को सँग छु त्यो कागतमा लेख्न बाँकी छ।”
“बौलायौ? के बर्बराएको? नबताउने भए बताउदिनँ भन। कर छैन क्यारे।”
“(खिस्स हाँस्दै) सार्वजनिक गर्न डर लाग्छ। कतै श्रापित हो भइने हो कि?”
“के को डर रे। श्रापको? आफूलाई ‘इडिपस’ ठान्न लाग्यौ कि क्या हो? कि स्किज्जोफ्रेनिक भयौ हँ? तिम्रो कुराले डर लाग्न थाल्यो मलाई त।”
“ब्रह्माको कथा सुनेको छैनौ?”
“कस्तो कथा?”
“ब्रह्माले आफ्नै सृष्टिसँगको प्रेमले गर्दा श्रापित भइ पूजिन अयोग्य भएको कथा।”
“ए! सरस्वती सँगको सम्बन्ध। तर तिम्रो कुरा बुझिन नि?”

“स्पष्ट छ, म पनि मेरै कथाकी पात्र ‘परी’ सँग प्रेममा छु। एउटा अनौठो प्रेम जसमा प्रेमिका अवास्तविक संसारमा छे, अक्षरहरूमा छे। तर ऊ मुटु, मन र मथिङ्गलमा उग्र तरङ्ग उत्पादन गराउन अभ्यस्त छे।”
“थाहा छ? तिमी बौलाएछौ।”

“एउटा अज्ञात भनाइ छ: Eccentricity is not, as dull people would have us believe, a form of madness. It is often a kind of innocent pride, and the man of genius and the aristocrat are frequently regarded as eccentrics because genius and aristocrat are entirely unafraid of and uninfluenced by the opinions and vagaries of the crowd.”

(अकस्मात बत्ती बल्छ। ऊ देख्दैन आफूलाई तर देख्छ ऐनामा आफ्नो आकृति।)