खग्रास , फराडे र बिजुली – कविता – पुजन पौडेल

खग्रास , फराडे र बिजुली
कोरा ढुङ्गो रगडेर झिल्को तापिरहेको
आफ्नै छायाको खग्रास आकार नापिरहेको
 
गुफाभित्र मास भाला चिरी दरिद्रता चराउँदै
गिट्टी गन्ती सकिदा झिल्का छेलियो हराउँदै
 
एउटा बनमान्छे हराउँछ , भुली बाटो मासको
त्यहि मरुमा झ्याङ्गिन्छ , अग्लो खम्बा बाँसको
 
बुद्धत्व खोजी गुफामा,
राँको मात्रै सिद्धिन्छन्,
छायादेवको भाकल; प्रार्थना मात्रै रित्तिन्छन।
 
जल्ले बाटो भुलेरै नि ज्योति पाइताला चलाउछ ,
उसैले परालका झ्याङमा बिजुली बत्ती बलाउछ
 
 
 
चङ्गा बनी मनका
अनेक वेग उड्छन नभमा,
सुर्यास्त पछि ढकमक्क
अँध्यारो छाउँछ जगमा।
 
अध्यारो, दरिद्रता,गरिबी, अशिक्षा खडेरीको
लुट, पाट, असभ्यता किल्ला अनि पखेरिको
 
चङ्गा बनी उडेका मन गर्हा गरुङ्गा,
बालुवा-थिम निरर्थक छरिएका धातुका ढुङ्गा।
 
यत्तिकैमा उम्रन्छ सिस्नो एउटा बेन्जामिन,
त्रासहीन, निडर बुद्धिको चङ्गा उडाउछ बेन्जामिन ,
धातु जोडी पर ,पर
 
पार्श्वमा चट्याङले जलाउँछ , घर गाउ सारा
तर बेन्जामिन बादल चड्काउछ ; होमिएर हारा
 
करेन्टका तीन-चार झिल्को रक्त कोसिकाले नचाटी
पराल बिजुलीका तार त्यसै हुन्नन्न : हुरी नकाटी
 
करेन्ट खाइ मात्र बन्छन ती बेन्जामिन हरु फ्र्याक्न्लिन
मगज को चङ्गा उडाइ बने,
ति बेन्जामिन हरु फ्र्याक्न्लिन
 
 
 
खिया लागी धातुका टिना- फलाम चुहिन्छन
थिर बनी नाला त्यो, तालावमै कुहिन्छन
 
आलस्यको डकारमा खेर टर्बाइन : बुढो मत्ता
अन्धकारको गोठालाका हसुरी अध्यारो सत्ता
 
यत्तिकैमा फराडे आउछ , चट्टान फोर्छ ,फोर्छ व्युह्-गट्टा
खम्बाका अग्ला पोल ठड्याइ ; बिछ्याउछ तार लट्टा
 
पसिनाले पगाली टर्बाइनको लेउ : पाइप बिछ्याइ इलम को
चित्र फुर्छन विज्ञानका : नक्सा धुरी कलम को
 
साइकल पेलिन्छन दर्जनौ : पिसिन्छ चामल मिल
भोल्ट्-मिटर चल्न थाल्छ : तोडी अचलता सिल
 
अब फिलामेन्ट जलाउनका लागी फराडे दिमाग चलाउँछ
थिरताका हुल ब्युँझाएर ,
फराडे आन्दोलन चलाउँछ
 
घर्षण गर्नु पर्छ फराडेलाई,
फोसिल अनि कोइलासित
तर्सनु पर्छ मध्यरातमा सर्ट सर्किट्का चोइलासित
 
फराडे एउटा वैज्ञानिक होइन : लडाकु हो फराडे।
 
अन्धकारसित अँध्यारोको पिरले चकमन्नताको बिष शमन गर्दै लड्ने फराडे
फिलामेन्ट प्रेमी फराडे
शिक्षा प्रेमी ,
बुद्धत्व प्रेमी , फराडे।