खुस्बु – Sushant Paudyal

Khusbu- Sushant Paudyal

खुस्बु

जुनेली रातमा घर अगाडिको बारीमा खेलिरहेका किराहरुको किरकिर कानमा परिरहेको थियो। झ्यालबाट बेलाबेला चिसो बतासले गालामा चुम्मा खाइरहेको थियो।  म निक्कै रोम्यान्टिक मुडमा थिएँ किनभने मेरो काखमा थि लोलिता। म बिस्तारै उसलाई सुमसुम्यांउदै उसका पानाहरु पल्ट्याइरहेको थिएं।उसका हरेक पानाका शब्द शब्दलाई कल्पनाको चित्रमा उतारिरहेको थिएं। आँखा बन्द थे, नजर प्रष्ट थियो। आँखा खोल्थें, एक वाक्य पढ्थेँ र फेरि आँखा चिम्लेर कथालाई अघि बढाउथेँ। मज्जा आइरहेको थियो। बतास फेरि झ्यालबाट छिरेर मलाई चुम्बन गर्न आयो। र साथ बोकेर ल्यायो एउटा नयाँ खुस्बु।
आहा ! कति मीठो बास्ना। यति मीठो बास्ना त कुनै फूलकै मात्र हुन सक्छ। तर यो नयाँ खुस्बु थियो। मैले सोचें अगाडिको बारिमा नयाँ फूल फक्रेछ। भोलि नै यो अदभूत फूललाई खोजेर आफ्नो छतबगैंचामा रोप्नेछु। म फेरि लोलितामा फर्केँ। तर लोलिताको कामबास्ना मलाई त्यो फूलबास्नाको अगाडि फिक्का लाग्यो। त्यसैले लोलितालाई काखबाट टेबलमा सार्दें र बिहानीको पर्खाइमा आँखा चिम्लें।

बिहान सबेरै आँखा खुले। लामो सास फेरेँ। त्यो मीठो बास्ना थिएन। मैले सोचें त्यो फूल अहिले सुतिरहेको होला। ओहो ! त्यसोभए त फूल चिन्न झन सजिलो हुने भयो। म निदंमग्न फूलको खोजीमा हत्त न पत्त घर अगाडि बारीमा पुगें। फेरि लामो सास फेरें। खुस्बु आएन। म सुतिरहेको फूल खोज्न थालें। त्यो सानो बारीमा मैले दुई घन्टा बिताएँ तर न मैले फूल भेटें न फूलले मलाई भेट्न बोलायो। त्यसपछी मलाई अनुभूति भयो कि म फूल खोज्दा खोज्दै आफैं फूल बनिसकेंछु। त्यो अङ्ग्रेजीवाला फूल क्या ! म निराश भएर घर फर्किएं।

“आमा चिया बनाइदिनु” मैलें बत्तिएर भनें। आमाले केही भन्नुभएन। म दुई घन्टा बारीमा अलमलिएको आमाले पक्कै याद गर्नुभएको थियो। तर म हल्का खुस्केट छु भन्ने आमालाई थाहा थियो। सायद त्यहीभएर केही नभन्नुभएको होला। चियाको कप हातमा थमाएर आमा आफ्नो कोठाभित्र छिर्नुभयो। मेरो रुखो बोलिले आमा रिसाउनुभयो कि क्याहो ! मलाई ग्लानिपुर्ण खुलदुली हुन थाल्यो। तर एक्कैछिनमा आमा बाहिर आउनुभयो र आफ्नो मौनब्रत तोड्नुभयो, “हिजो कल्पना आएकी थिई। तेरो कम्पुटर खोल्न खोजिरथी तर पासवर्डले गर्दा सकिनछे। इ यो ठुटो छाडेर गकी छे, तँ सँग भाका राम्रा राम्रा फिलमहरू हाल्दे रे। इ ला…” आमाले मलाई पेनड्राइभ थमाउनुभयो।

यो जांठी कांबाट आइछे मेरोमा – म मनमनै सोचिरहेथें – अरू बेला त बाटोमा देख्दा नि मुख फर्काएर हिंड्थी। चिया सुरुप्प पार्दै कम्प्युटर खोल्न आफ्नो कोठामा छिरें। कम्प्युटर किडिक्क पारेर कुर्सिमा थ्याच्याक्क बस्न आफ्नो चाक छोडें।

ल्यान्डिङ जारी छ। चाक स्लो मोसनमा कुर्सीको सिटतर्फ बढ्दै छ। आँखा झिम्किने तरखरमा स्लोली बन्द हुँदै छन्। मुटुको धकधक जारी छ। सास चलिरहेछ। कुर्सीमा ल्यान्ड गर्न भनी अवतरन गरेको चाक त फूलको बगैंचामा पो इमर्जेन्सी ल्यान्ड गर्न पुग्यो। झिम्किएर खुलेका आँखा चकित भएर ठूलाठूला हुँदै गए। मुटुमा रोकिएला जस्तो आनन्दको अनुभुति हुन थाल्यो। त्यो कुर्सीको खुस्बुले मलाई स्वर्गमा अप्सराहरूले भरिएको बगैंचामा पुर्यायो। म बिहानभरी जुन खुस्बुको तलाशमा पागलझैं भौतारिएको थिएं त्यो खुस्बुले मलाई घेर्यो कम्प्युटर कुर्सीमा ।

मेरो जिन्दगीको अर्को दुई घन्टा त्यही कुर्सीमा बित्यो। खुस्बु बिस्तारै हराउंदै गयो । म कुकुरजसरी कुर्सीको हातखुट्टा सुंघ्न थालेँ। जब अनायास आमाले भात खान बोलाउनुभयो, म झसङ्ग भएं। ओहो मैले यो पागलजस्तो के गरेको – मनमनै सोचें र भात खान भन्छाघरतिर लागें।

बांकी दिन सधैंजस्तो रेगुलर बित्यो। राती सुत्नुअघी म सधैं कुनै पुस्तक पढ्थें। हिजो राती जां पुगेको थिएं त्यहीँबाट लोलिता पढ्न सुरु गरें। जसरी ओछ्यानमा पल्टिनेबित्तिकै निंदाइदैन त्यसरी नै कथा पढ्न थाल्ने बित्तिकै कथामा हराइंदैन। एकछिन पढेपछी बल्ल लोलिताको संसारमा मैले अवतरण गरें। मेरो आँखा अगाडि आइ हट एयान्ड सेक्सी लोलिता। हिजोसम्म लोलिता एउटा अनुहार बिहिन फिगर थिइन् तर त्यो दिन मैले देखेको लोलिता को अनुहार थियो। र त्यो अनुहार थियो कल्पनाको। कल्पना माने त्यही जांठी जो हिजो मेरोमा आकि थि।

मैले खोजेको खुस्बुदार फूल कल्पना थि र मैले उसलाई लोलितासँग मिस्साउन पुगेको थिएँ। जति लोलिता पढ्दै गएँ त्यति कल्पनासँग नजिकिने चाह बढ्दै गयो। आज तीन दिन भैसकेको छ, कल्पना पेनड्राइभ लिन आएकी छैन। मलाई डर छ, यदि उ मेरो सामु आइ भने के म आफुलाई रोक्न सकुँला ! के म उसमाथि जंगली जनावरजस्तो नझम्टी भद्र भएर कुरा गर्न सकुँला !

Sushant Paudyal
IOE, Pulchowk