खोई किन ? by Basant Chaudhary

खोई किन ?

तिम्रो मायाको शितल छहारी मुनि
शितलता पाउने आशमा बसी रहें
खोई किन,
तिमी उजाड हौ वा म आफै राप
मेरो ताप कम हुन सकेन

तिम्रो हाँसोको हलुको मुस्कानमा
खुशी पाउने इच्छा ब्यक्त गरें
खोई किन,
तिमी उदास हौ वा म आफै दु:खी
मेरो ओठ फक्रिन सकेन

तिम्रो पाइलाको हरेक चालमा,
साथ पाउने रहर लिई हिडें
खोई किन,
तिमी बोझिल हौ वा म आफै गतिहीन
मेरा पैताला अघि सर्न सकेन

तिम्रो कोमल हत्केलामा हात राखी
कसम खाने स्वप्न देखें
खोइ किन,
तिमी कठोर हौ वा म आफै कमजोर
मेरो हात अघि बढ्न सकेन

तिम्रो न्यानो आलिंगनमा बेरिएर
भक्कानो छाडी रुने मन गरें
खोइ किन,
तिमी मूर्ति हौ वा म आफै ढुँगा
मेरो आँसु मोति बन्न सकेन

तिम्रो नजरको प्रत्येक हेराईमा
स्वर्ग नियाल्ने प्रयत्न गरें
खोइ किन,
तिमी जानीबुझी आँखा चिम्लिन्छौ वा मेरो दृष्टि दोष
स्वर्ग त के आफ्नो अनुहार पनि देख्न सकिन

Poem and image source: Basant Chaudhary Fan Club Facebook page