जीवन – मिठो धून…by Basant Chaudhary

जीवन – मिठो धून…

स्वप्नहरू –
बादल बनेर बर्सिंदै छन्
रातका अँध्याराहरु
सूर्योदयी आभा बनेर टल्किंदै छन्
जीवन,
मिठो धून गुनगुनाउँदै छ
केहि नयाँपन,
भित्र भित्रै पलाउँदै छ
यस्तोमा
यो मन किन नरमाओस् ?

ताराले भरिभराउ आकाश छ,
हरेकतिर चन्दन छरेको सास छ
हिजो जस्तै खडेरी किन न होस्,
आज धानको बाला झुल्ने आश छ

दृश्यहरु विभोर छन्
सुगन्धहरु मन चोर्छन,
यस्तोमा एक शान्त उपवन
आत्माले किन नपाओस् ?

बृक्षहरुमा फूल फुल्छन्,
निराशा अब बाटो छल्छन्,
भविष्यका क्षितिजहरु
आकाश-दीप झैं धप्प बाल्छन्
यस्तोमा शितल बगेको
खोला किन नकलकलाओस् ?

जून हाँस्ने रात हो यो
किरण भर्ने प्रात: हो यो
जीवनको संघर्षहरुमा
मान्छेहरुको साथ हो यो
लहरहरूको हात हो यो
उषाको लाली पिएर
हरियोपनलाई,
हलुको लाग्ने मात हो यो
धर्तीलाई आकाशले
माया गरेर,
दिएको सौगात हो यो
यस्तोमा उडान भर्दै
मुटु किन न गुनगुनाओस् ?

Image and content source: Basant Chaudhary Fan Club Facebook page