“टाँक र बटनहरु”-बानेश्वरको छत बाट- Part 4- सुमी Jr.

४. टाँक र बटनहरु

सर्ट लगाउदै गर्दा बटन टुट्यो| “हिड्ने बेलामै यस्तो हुनपर्ने” म झोक्कीरहेकी थिँए| “हेर न बोइफ़्रेण्डसंग भेट्न हतार भा’को”, मेरी रुममेटले ठट्यौलो स्वरमा भनी| ‘ह्या, ठट्टा नगर, जे पाए तेइ”, म अझै दिक्क मानिरहेकी थिए| “हिहि! तर साँची भन्या, त्यसले आजै प्रपोज गर्छ तलाई, खूब इन्ट्रेस्ट ल्या’छ तेरो बारेमा| सर्टको बटन पनि टुट्यो, सेक्सी देखिनलाई होला| केहि छैन, नसुर्ता, अहिले बटन टुट्या छ, भरे बटन र मन दुवै जोडेर आउनु”, उसले अझै मेरो खेदो गरिरहेकी थिई, म भने टि-सर्ट चेन्ज गरेर कोठाबाट निस्किहाले| एउटा रेस्टुरेण्टमा भेट्ने प्लान थियो हाम्रो, म पुग्दा नपुग्दै ऊ पनि आइपुग्यो| फर्मल कुरा भयो, उसलाई मेरो लेख्ने शैली मनपरेको रहेछ त्यसैले एउटा लेख लेखिदिन आग्रह गर्नलाई भेट्न बोलाएको रहेछ| तेस्तै नर्मल गफ भयो, एक-दुइटा कुरामा हासियो, अरु केहि भएन|

]

बाटोमा फर्किदै गर्दा म आफ्नी रुममेटको कुरा सम्झेर फिस्स हाँसे| एउटा टाँक टुटेकोमा त्यत्रो कहानी बनाई त्यसले| कोठामा पुग्दा आफ्नो खाटमा एउटा नोट देंखे| लेखिएको थियो, “कंग्र्याचुलेसन्स, थ्यांक्स टु योर सर्ट्स बटन|” “हावा”, मैले मनमनै भने| तर त्यो नोटमा बटन शब्द देख्दा, मैले भेट्टाएको अनौठो नोटको एउटा अंश याद आयो, आफ्नो कप्बर्ड खोलेर त्यो पाना खोंजे:- “. . .जीवनमा जति टाँकहरु टुटेपनि, जोडेरै लाईयो, मन पनि निकै पटक च्यातियो, सिलाएरै हिँडियो| कति व्यक्तिहरु छुटे, कति टाँकहरु हराए, अरुनै बटनले भएपनि, काम चलाईयो| कहिले ती ‘अरु’ बटनहरु साना हुन पुग्थे, बारम्बार फुस्किरहने, बारम्बार लगाइरहन पर्ने; आफ्नो इज्जत-लाज-भावना छोप्नै गार्हो पर्ने| ठुला बटनहरुको त कामनै भएन, एस्सै थुप्रिरहे मनको एउटा कुनामा| घरिघरि चुँडिएका-चुँडाइएका स-साना बटन खोज्दा देख्छु म, ती ठुल्ठूला बटनहरु, त्यहिँ जस्ता का त्यस्तै| कहिले कुनै लुगामा ठाउँ पाउलान कि तिनीहरुले| खैर, उसले मेरो बटन चुँडाएन| हामी दुबैले आ-आफ्नो स्व-इच्छाले एक-अर्कालाई सुम्पिएका थियौ| मलाई उसले प्रपोज गर्दाका कुराहरु प्रस्टै याद छन्| “टन्नैले प्रपोज गर्या होलान है” ,उसले पनि उही सबैले सोध्ने बेसिक प्रश्न नै सोद्याथ्यो| म तिमीलाई साह्रै मनपराउछु तिम्रो मिठो ओठ चाख्न दिन्छेउ कि, आफ्नो एउटा न्युड पठाऊ न, म बाहेक मेरा सबै साथीको गल्फ़्रेण्ड छ तिमी मेरी जी.एफ बनिदेउ न, जस्ता केहि बेइज्जति आधा दर्जन प्रस्तावहरुलाई भुलेर, “ह्या, छैन”, भनेर जवाफ दिएकी थिए मैले|

ऊ आज अर्कै केटिसंग वैवाहिक बन्धनमा बाँधिएको छ र शायद खुसि पनि छ| हामी मुभीमा जस्तो समाजसंग लड्न सक्ने प्रेमी थिएनौ तर हामी प्रेममा जरूर थियौं, हामी अडल्ट थियौं, हामीले सेफ्टी अपनाएका थियौ र एक-अर्का संग बिताएका क्षण्हरुमा हामी खुशी थियौं| हामी कैयौं कारणले गर्दा छुट्टीयौं र आज हामी संगै नभएपनि उसको सामु आफ्नो सर्टको बटन खोलेकोमा, ऊसंग प्रेमका पल बिताएकोमा मलाई कुनै पश्चाताप छैन|. . .”