तिमीलाई शुभकामना…by Basant Chaudhary

नयाँ वर्ष आएको छ
पुराना सम्झनालाई लट्पट्याउँदै
के गरूँ म,
आफ्नो शुभकामनालाई,
जुन,
तिम्रो लागि सांचिबसेको छ ।

तिमीलाई छ शुभकामना !
तिम्रो लागि जीवन
एउटा बैसालु सपना बनोस
कलकल गर्ने एउटा खोला बनोस ।

तिमीलाई मात्रै होइन,
शुभकामना ती आँखालाई,
जुन अब
कुनै अरु दृश्यलाई हेरेर
रमाउँछन् ।
तिम्रा स्नेहिल पाखुरालाई,
जुन अब माँसल बनेर
कुनै अरु खुशीयालीलाई
समाउँछन् ।

ओठहरुलाई पनि छ शुभकामना !
जहाँ मैले छापेको माया,
अब पुछिएझैं लाग्छ ।
जसरी मलाई,
मेरो हर सपना
चारैतिर,
लुछिएझैं लाग्छ ।

म इश्वर होइन
लाख गल्ती गर्न सक्छु,
तर किन हो
चाहेर पनि,
तिमीलाई बिर्सिने गल्ती
कहिल्यै हुन सकेन ।
मैले आफुलाई चोट दिएर पनि हेरें,
तर कुनै पनि चोटले
मुटुभित्र बसेको तिम्रो मूर्तिलाई
छुन सकेन ।

तिमिलाई शुभकामना दिंदा
यहि फरक देख्छु म,
नयाँ वर्षले छोएर
अरुलाई त यसले झन युवा पार्छ,
मुटुमा उन्माद-हरियाली उमार्छ,
तर,
मलाई भने नछोएरै
बृद्धतातिर घचेटीदिन्छ,
बसन्तको जिन्दगीलाई
पिडै पिडाले रेटीदिन्छ ।

Image and content source: Basant Chaudhary Fan Club Facebook page