दिदी- कविता – अङ्कित खनाल ( फ़किर )

didi - poem - Ankit Khanal

कितापका पानाहरूमा ऊ छुटिगई कतै
एकादेशका घुमाउरा बाटाहरूमा हराएर
खोज्दै हिड्दा नयाँ ठिकाना
ऊ त कोइली जस्तै भई

 

रात मन पराउँछे
तर कुसुम विनोदी निशाचर हैन
पलाँस मन पराउँछे
पाषण सँग लुकामारी खेल्छे
क्षितिजलाई उचाल्ने रहर गर्छे
कलमले नलेखेका कथाहरू पढ्दै
कविले देख्दै नदेखेका कुइनेटाहरू
अनि मानचित्रमा नचढेका खोँच र गल्छीहरूमा
ऊ भेटिन्छे यदाकदा
कुहिरो जस्तै गरी
थुम्कामा चियाका मुनाले हरियै पोतिदिन्छन्
उसको मुस्कान
जसको प्रतिछाया
उषामा शीतले पोतिजान्छन् तिनै पातमा

 

दिदी हौ! ए दिदै हौ!
अब त फर्क न हौ
तिमीले घरको भित्तामा कोरेका राता
अक्षरहरू
अब काला भइसके
फेरि तिनलाई रङ्गाउनु छ
तिनीहरूलाई पराजित आफैँ सँग लडेर
जित्न सिकाउनु छ
रङ मात्रै फेरेका छेपारा तह लगाउन सिकाउनु

दिदी तिमी नै सपना भयौ भने
तिम्रो सपना चाहिँ?