दोष कसको ? – भाग १ – Selgien

(१)

मेरो पनि जीवनमा त्यस्ता संचित घडीहरु छन् जसलाई स्थायी बनाएर म सदा भोग्न चाहान्छु । यथार्थबाट एक्लिएर ती संस्मरणहरुमा आफ्नो जीवन बिताउन चाहान्छु । यसर्थ कि वर्तमानको वास्तवीकता मलाई निर्मम प्रहार गर्दैछ । कहाँ मेरो बुबा साथ छँदा खेरिका ती दिनहरु जति बेला दुःखका कुनै पनि चरणहरु मलाई भेट्न अनकनाउथे । त्यतिखेरै हो मैले जीवनको मनोरम अवधि सँगालेको । पुग न पुग म बाह्र बर्षको थिए बुबाको देहान्त हुँदा । हृदयघात थियो त्यसको कारण जुन अकारणमै उहाँलाई भएको थिएन । ‘अत्यधिक तनाव’ डाक्टरले यसै भनेको थियो । व्यापर घाटाबाट उहाँ तनावग्रस्त हुनुभएको थियो जसलाई उतिखेर मेरो उमेरले ठम्याउन सकेन । जाने मान्छे गयो तर बाँचेकाले समाजसँग उहाँको व्यवहार मिलाउनु प¥यो । मुमाले उतिखेरै हाम्रो घर बेचेर हामीलाई उधारो जीवन जीउनबाट जोगाउनु भयो । संवेदना हराएको समाजको निदर्यी चरित्रले शोषित देखिन्थे उहाँका आँखा जहाँ बुबाको मृत्युले दिएको आँशुको झरीलाई मेरा निम्ति बलजफ्ती सुकाएर उहाँले घर र बाहिरको कामको दोहोरो भूमिकामा आपूलाई उभ्याउनुभयो ।

मुमाले ‘म तिम्रो लागि मात्र बाँचेको हुँ’ भन्दै मलाई हुर्काउनुभयो । आफू केही गर्न सक्ने युवाको श्रेणीमा पर्ने बित्तिक्कै मुमालाई दुःखबाट तर्काउने मेरो अठोट थियो । उमेरको भरमा मैले एउटा जिम्मेवारी तोकेको थिए जसलाई अचेल मलाई ती बालमस्तिष्कका उपज परी कथाहरु जस्ता अनुभूत हुँदैछन् जुन कहिल्यै अस्तित्वमा आउनन् । कलेज पढ्दै ताका अलमस्त पाराका मेरा सहपाठीहरु विपरीत म सानातिना काममा झुण्डिन थाले । आफ्नो खर्च जेनतेन धान्न खोज्थे तर कमाईको आकार यति ठूलो थिएन कि घर व्यवहारमा पनि साझेदारी गर्न सकु । मुमाले मलाई पढाईमै केन्द्रित रहन सुझाउनु भएको थियो । पढाईमा असर नपरोस् भन्ने हेतुले काम छोड्न पनि उहाँको बारम्बारको आग्रह हुने गथ्र्यो । मेरो खाँचो आफू सक्रिय भईन्जेल टार्न उहाँ प्रतिबद्ध हुनुहुन्थ्यो । तर मन मानेन । म उहाँको सक्रियतामा आफ्नो परनिर्भरता जोड्न चाँहन्थिन । नत्र आफू संलग्न रहेको कामकाजमा मलाई न कुनै रुचि थियो न यसलाई कायम राख्ने सोख । मलाई परिवारले दिएको संस्कार अनि मैले अध्ययन गरेका पुस्तकमा पाईने नैतिकता र ईमान्दारीता जस्ता गुणका लागि कर्मस्थलमा कतै कुनै वातावरण थिएन । पदपूर्तिमा आफन्तजन नै प्रियजन हुन्थे । पदक्रममा पनि तिनै नजिकको साईनो छोटो अवधिमै लामो छलाङ्ग मार्न भ्याउथे । योग्यहरु कार्यलयमा छिर्दै नछिरेका होईनन् तर तिनीहरुको सक्षमतासँग पदोन्नति अनि कार्यक्षमताको बिस्तार कसैको चासोको विषयमा पर्दैन थियो । म पनि ६ महिना भन्दा बढी कुनै कार्यलयमा टिकेको ईतिहास छैन । मलाई मानिसहरु आफ्नो पदिय हैसियत मार्फत अरु माथि गर्ने व्यवहार चित्त बुझ्दैन थियो । कतै कार्यलय संस्कृति र व्यवस्थापनले चिढ्याउथ्यो । यसरी कहिले रोजगार अनि कतिखेर बेरोजगार बन्दै मैले स्नातक पूरा गरे ।

क्रमश…….

Image source:drmerz