दोष कसको ? – भाग २ -Selgien

दोष कसको ? – भाग १ – Selgien

(२)

मुमाको निम्ति मैले सानैदेखि साँचेको विचारको संकल्प वास्तवीक गरेर देखाउने बेला आईसकेको मैले बिर्सेको थिईन । वुवालाई पनि स्मरणमा राखेर मैले युवावस्थामा फेरि एकपटक एउटा ठोस निधो गरे । अँधुरो छाडिएको वुवाको व्यवसायी सपनामा जीवनको रंग भर्ने । शायद यो वंशाणुगत गुण नै हुनुपर्छ नत्र व्यपार व्यवसायसँग मेरो मन आश्लिष्ट भएको हालसालको कुरा हैन । चेतनास्तर परिपक्वताको बाटो हिड्दादेखि नै यो अभिष्ट ईच्छा मसँग गाँसिएको वोध मलाई भएको थियो । मेरो भविष्यले सरिक हुने एउटा माध्यम भेट्टाएको थियो । तथापि वर्तमान म प्रति पूरै रुष्ट थियो अनि मलाई आजकलका दिनहरुसँग धेरै गुनासा थिए । व्यवसाय आरम्भ गर्ने मसँग पूँजी थिएन । साथीभाई, छरछिमेक, ईष्टमित्र र आजसम्म आर्जेका सम्पूर्ण सम्बन्धहरु कसैलाई पनि मैले अनुरोध गर्न छुटाईन तर कसैले मलाई पत्याएनन् । अपेक्षा राखिएका आत्मियहरुबाट मेरो याचनाको सम्वेदनशीलता छाम्ने तत्परता देखिएन । विवश मेरो, जागिर सिवाय अरु विकल्प अनुपल्वध थिए । जागिरको अनुभव पहिलेको भन्दा बेग्लै रहेन । नातावाद र कृपावादका सशक्त संस्कार । प्रतिस्पर्धाको जमाना । थिएन कसैको सिफारीस न थियो कुनै स्रोत व्यक्तिसँग हिमचिम अनि कुनै संजाल । बेरोजगारीले आफूतिर डाँक्नु अस्वभाविक थिएन । समाधान एउटै देखे ।

मसँग पनि डिग्रीको प्रमाणपत्र छ भन्ने हेक्का विस्मृत गराएर पढाई अनुरुपको कामको आश त्याग्नु । विगतमा झै साधरण नै सही काम गर्न थाले । उतिखेर डिग्री थिएन, अहिले थियो । फरक यत्ति थियो । तर कामको स्तरमा डिग्रीले कुनै फरक पार्न सकेन । अनैतिक कामहरुमा प्रयोग हुन आत्माले नमान्ने । माथिका ठूलाबडाहरुका फोस्रा प्रशंसा गर्ने सस्ता विधि मलाई नआउने । एकहोरो काम मात्र भनेर लाग्नेलाई माथिकाहरुले सम्मान दिन नजान्ने । मैले कहि गएर खासै उपलव्धि हासिल गर्न सकिन । यसरी एउटा नरोजेको यथार्थसँग सम्झौता गर्दागर्दै मेरा तन्नेरी उमेर मासिन थाले । अहिले सत्ताईसको भए । स्थिति थोरै अनुकूल पनि भ’को छैन । परिवेश झनै विभत्स बन्दै गएको छ । दुई महिना भईसक्यो आफू कार्यरत कार्यलयको कर्मचारी कटौतीमा म परेको । छोराको प्रगति सुन्न हतारिईरहेको मुमाको सामू यस्तो अस्तव्यस्तताको विवरण त के संकेत सम्म दिन सक्ने साहसी म थिईन । हरेक दिन कार्यलयका लागि निस्किनु र छुट्ने समयमा फर्किनु मेरो आजकल देखावटी दैनिकी निर्माण भएको छ । दिनभर म कहिले कामको लागि भौतारिन्छु । या त भने गलेको शरिरलाई कतै सुनसान ठाँऊमा एकान्तवासमा लैजान्छु जहाँको शान्तिमा हृदयलाई थोरै चैन मिल्छ ।

मेरो सोच अनुरुप भविष्य विस्तार होला ? मैले कल्पेका कथाबस्तु पछि जीवनको रंगमञ्चमा प्रस्तुति देलान् ? अचेलका क्षणहरुमा मसँग यिनै प्रश्नहरु सुचिबद्ध छन् जुन आँखीझ्याल जस्तै बनेको मेरो मष्तिस्कमा आरपार भईरहन्छन् । हाम्रा विचार र कल्पित बस्तु हाम्रो व्यवहारीक जीवनमा नपरेसम्म यथार्थबाट त्यसले मान्यता पाँउदैन । मनको प्राङ्गगणमा तिनको मूल्य दिन–ब–दिन उचाई छुदै गएको किन नहोस् तर अस्तित्वमा नआईसकेको त्यो अदृश्य उचाईलाई हेर्न कसैले आफ्नो शिर उचाल्दैनन् ।

क्रमश…….

[Pic: George Hodan]