दोष कसको ? – भाग ३ (अन्तिम भाग ) -Selgien

भाग १ यहाँ पढ्नुहोस 

भाग २ यहाँ पढ्नुहोस 

(३)

आज पनि एकान्तपनको शुन्यतामा यिनै कुराहरुमा म बढी गमिरहेको छु । एउटा सच्चिएको भविष्य र सुध्र्रिएको दुई जीवन । यत्ति न हो मेरो आकांक्षा । फेरि यो दुःखको मुस्लो छुट्ने गरी केको सजाय व्योहोरिरहेको छु ? औशत भन्दा निम्न व्यतित भईरहेको जीवनको म वास्तवीक भागिदार छु र ? भावनात्मक रुझानले मन निमोठे पछि मेरो आँखा तरल बन्नबाट मैले रोक्न सकिन । नियतिको दोष थियो र यो जसले बेसमयमा वुवालाई हामीबाट अलग्यायो । हाम्रो दुदर्शा त उही दिनबाट शुरु भएको थियो जब वुवाको साथ हामीसीत छुट्यो । एउटा सुखी परिवार छिन्नभिन्न बनेको थियो नियतिबाट । वा यो हाम्रो यस समाजको खोट हो ? शब्दहरुमा एउटा संस्कार भर्ने तथापि व्यवहारमा अरु थोक ओकल्ने । उचित अवसरहरु सिर्जना गर्न नसक्ने र भएकामा भेद गर्ने यस समाजसँग अभ्यस्त हुन चुकेको न यो मेरो पो विराम थियो कि ? किनकी समाज भित्र ठाँऊ बनाउनु छ भने सामाजिक व्यवहारसँग सम्झौता गर्नु अपरिहार्य छ । तर मैले आफ्नो नैतिकता माथि अन्याय गर्न सकिन । ‘आर्दशहरु कुल्चेर आपूmलाई नबेच’ अन्तस्करणबाट एकहोरो निस्किरहने यो ध्वनिलाई पछ्याउनु मेरो भूल थियो शायद ।

घरमा मेरो निरश अनुहारलाई मुमाले लक्ष्य गर्नुभ’छ । ‘पीर गर्नुपर्ने कुनै जरुरी छैन’ उहाँले भन्नुभयो । ‘बुबाको सपना र घरको अभिभारालाई यस्तो गम्भिरसँग नलिऊ कि तिमी बाँच्नै छोड्देऊ । तिम्रो आत्मोत्सर्ग स्वभावको जति सरहना गरे पनि कम हुन्छ । मैले यो संसारलाई धेरै भोगेको छु । अर्काको मर्मको यहाँ कुनै सरोकार छैन । मलाई ज्ञान छ खालि एउटा अवसरले तिमी र सफलता बीचको दुरीलाई छुट्टाएको छ । एउटा कुरा मनमा बाँधिराख । एक समय यस्तो आँउनेछ जब युगले तिमीलाई एउटा पद दिनेछ र तिमीले एउटा चिनारी भेट्टाउनेछौ । मेरो भनाईमा गौण गर्नु । यसले तिम्रो कहिल्यै विश्वासभङ्ग गर्ने छैन ।’

मुमाले स्नेही भाषामा अरु धेरै कुरा भन्नुभयो । उहाँले ममा व्याप्त उदासीलाई ठम्याउनुभ’को थियो । उहाँलाई म प्रति म स्वयंभन्दा ज्यादा विश्वास थियो । तर मेरो आत्मबल निकै पातलिईसकेको थियो । एकसरो यस्तो जीवन ग्रहण गर्दागर्दै मलाई आफ्नै अस्तित्व माथि मोह उर्लन छाडेको थियो ।      

भोलिपल्ट म हरेक दिन जसो देखावटी कामका लागि निस्के । मुमाले माथि बार्दलीबाट म गईरहेको हेर्नुभएको मलाई आभाष भयो । मैले नजर उहाँतिर पारे । मैले फर्केर हेरेको देखेर उहाँ मुस्काउनुभयो । मैले उहाँको मुस्कान अनुहारमा उत्रेको स्पष्ट देखे तर उहाँका धमिलीदै गएका आँखाले मेरा रसाएका आँखा देख्न सकेनन् ।

 समाप्त

[Pic: George Hodan]