नयनराज पाण्डेको ‘निदाएँ जगदम्बा’ पढ्दा अनिदो भएको रात – Raman Paneru

Nidaye-Jagadamba-Review---Raman-Paneru

मलाई ‘लू’ पढेदेखि नयनराज पाण्डेका कृतिहरुप्रति रुचि बढेको हो । त्यसपछि लगत्तै पढेको ‘उलार’ हो । ‘उलार’ पढ्नुको कारण लेखकले केहि अन्तर्वार्ताहरुमा ‘उलार’को चर्चा गरेका थिए । साझाको निलो बसबाट ओर्लिएको मधेसीलाई चिया पसलेले दूध उम्लेर पोखिएको झोकमा पुल्चोक इजार मुन्तिर छ भनेर देखाउँदा घटनाका प्रत्यक्ष दर्शी तथा उपन्यासका लेखकको मनमा भएको ‘उलार’ले नै लघु उपन्यासको प्रेरणाको काम गरेको भनेर सुन्ने बित्तिकै मलाई ‘उलार’ पढ्ने तलतल लाग्यो । पढेँ पनि र ‘लू’ को स्वाद त्यसले एकपटक फेरी सम्झाइ दियो । ‘लू’ र ‘उलार’ दुबै सशक्त लागे ।

तिनै पुराना अनुभवहरुका आधारमा मैले लेखकका पाएसम्मका सबै किताब पढ्ने सोच बनाएको थिएँ । ‘घामकिरी’ मैले पढ्न चाहेका नयनराज पाण्डेले लेखेका कृति मध्ये सबै भन्दा माथिल्लो स्थानमा थियो । कारण ‘घामकिरी’ नगरकोटीलाई मनपरेको पुस्तक हो । त्यसमाथि साहित्य महोत्सवमा शिवानीसिंह थारुले पनि नयनराज पाण्डेका कृतिहरु मध्ये सबैभन्दा मनपर्ने कृति र लेखकलाई लेख्न मजा आएको कृति ‘घामकिरी’ हुनुपर्छ भनेर अनुमान गरेकी थिइन् । लेखकले पनि त्यसमा सहि थपेका थिए । ‘घामकिरी’ हातमा थिएन । बरु ‘सल्लीपिर’ हात लागेको थियो ।

धेरै दिन देखि पालो कुरेर बसेको ‘सल्लीपिर’ पढ्दै गर्दा त्यसका सन्दर्भमा भएका गुनासाहरु जायज लागेनन् । ‘सल्लीपिर’ सितका गुनासाको कारण त्यसले पालो कुर्ने अवस्था आएको थियो । भएका सबै नेपाली पुसतक पढेर भ्याइन लाग्दा उपयुक्त मोटाइको (मलाई धेरै मोटा पुस्तक देखि डर लाग्छ–नोबेल पुरस्कार विजेता गाब्रिएल गार्सिया माख्र्वेजको पुस्तक पढ्न वर्षौ लाएको छु ।) ‘सल्लीपिर’ले मन छुँदै लग्यो । त्यसपछि ‘घामकिरी’को तलतल झन बढ्यो । त्यसैले नेपालबाट आउने मान्छे कुर्नु भन्दा पनि अनलाईन बाटै भएपनि मगाउँछु भनेर पुस्तकको खोजीमा लागेँ ।

अलि पत्यारिलो साइट पाण्डुलिपी बुक्सले ‘घामकिरीको’ विद्युतीय प्रति विकृका लागी राखेको रहेछ । भौतिक प्रतिका लागी झण्डै तीन गुणा दाम तिर्नुपर्ने र दुई–तीन साता कुर्नुपर्ने भएपछि विद्युतीय कापीमै चित्त बुझाउने मनसाय थियो । पहिले त खरीद प्रकृया नै अलि झण्झटिलो भयो । क्रेडिटकार्डले सोझै तिर्न नपाइने । त्यसैले धेरै पहिले थाहा पाउँदा पनि नकिनेरै बसेको थिएँ । यसपाली भने पेपलको नयाँ खाता खोलेरै भएपनि हात पार्छु भनेर लागेको थिएँ । ‘घामकिरी’ सँगै निदाएँ जगदम्बा, दामिनी भिर, खोलाको गित र बिसेनगर्चीको बयान पनि छानेको थिएँ । तर विद्युतीय प्रतिको गुणस्तरको बारेमा खासै जानकारी नभएकाले र किने पनि आफूसँग भएको किण्डलमा राख्न पाइने हो नपाइने हो भन्ने दोधारले एउटा परिक्षण पुस्तक खरिद गर्न मन लाग्यो । छानेका पुस्तकमा निदाएँ जगदम्बा सबै भन्दा सस्तो देखेर त्यसैलाई किनेँ । त्यस्तै चार पाँच घण्टामा पढेर भ्याएँ ।

‘निदाएँ जगदम्बा’ कथासंग्रहमा १७ वटा कथाहरु संग्रहित छन् । भिडन्त, आवरण, प्रवाश, किला, शासन  र रावण अलि मनपरेका कथाहरु हुन् । भिडन्त द्वन्द्वमा पिसिएका निर्दोष नेपालकिो प्रतिनिधि कथा हो । आवरण हाम्रो समाजमा विद्ययमान पाखण्डको कथा हो । प्रवाशले पत्रकारिता जगतको दुरावस्ता दर्शाएको छ । किलाले सामाजिक सद्भावको विषय उठाएको छ । यो पढ्दै गर्दा ‘लू’ र ‘उलार’ सम्झना आउँछ । शासनले राजतन्त्रको कथा भन्छ । रावण थारु या भनौँ गैह्र खस–आर्यहरुप्रतिको उपेक्षा र त्यसको परिणतीको कथा हो । त्यसका अलावा मृत्युशैय्यामा युधिष्ठिर परिचित राजनीतिक पात्र( सम्भवतः गिरिजाप्रसाद कोइराला)को अन्तिम अवस्थाको वर्णन छ । ‘निदाएँ जगदम्बा’ शीर्ष कथा पहिले पनि पढेको थिएँ । यसको बिम्म भने पुरापुर बुझेको छैन । गाडिएका र छाडिएका सबै पुस्तकमा एक समान चारित्रिक विशेषता नपाउँदा (सायद नबुझेरै होला) त्यस्तो लागेको पनि हुन सक्छ । ०६५ सालमा प्रकाशित यो कृतिको त्यति चर्चा नभएको भएपनि कृति पठनीय नै मान्नु पर्छ ।

संग्रहका अन्य कथाहरु पनि राजनीतिक व्यंग्य र सामाजिक विषयवस्तुमा आधारित छन् । निदाएँ जगदम्बा लगायत कतिपय त पहिले नै विभिन्न माध्यममा प्रकाशित कथाहरु पनि छन् । संग्रहका केही कथाहरु निबन्ध जस्ता लाग्छन् । कुकुर कथा पदढ्दा पहिले त लेखकलाई दिक्क लागेर कुकुरका बारेमा लेख्न थाले कि भन्ने लागेको थियो । केहि कथाहरुमा विषय दाहोरिए जस्तै लाग्छ । तर आकार सानो हुनाले पढेर भ्याएको पत्तो हुँदैन । ‘प्रकाशकको अनुरोध नकार्न नसकेर’ लेखेको भनेर पहिले नै पढ्दा अलि खल्लो महसुस हुन्छ । रहरले लेखेको र करले लेखेकोमा फरक त भइहाल्छ नै । करैले लेखेको भएपनि उल्लेख नगरेको भए राम्रो हुन्थ्यो होला ।

यति हुँदाहुँदै कृतिको गुदि बाहेक खास चित्त नबुझेको भनेको विद्युतीय प्रतिको प्रकृति हो । भौतिक प्रति भन्दा झण्डै ५ गुणा मोल तिरेपछि कम से कम किन्डलमा राखेर पढ्न पाइने त हुनुपर्ने हो । कारण लामो समयसम्म पुस्तक पढ्दा प्रायले आँखा खराब हुने र निद्रा विथोल्ने हुँदा ल्यापटपमा पढ्दैन । तर यो विद्युतीय प्रति ल्यापटप बाहेक कसैमा पनि पढ्न सकिँदैन । कति प्रयास गरँे तर केहि सीप चलेन । तिरि त हालियो अब पढ्नै प¥यो भनेर ल्यापटप मै पढेँ ।

तर ‘घामकिरी’ यसरी पढिँदैन । दुई सय बढि पानाको पुस्तक पढ्न मलाई १० घण्टा जति लाग्ला । त्यति लामो समय ल्यापटपमा गुजार्न गाह्रै हुन्छ । जोर आँखाहरु प्रशस्त निदाउन नपाएका दिनमा ३० वर्षको उमेरमै चश्मा खोज्छन् । यिनलाई अझ केहि वर्ष दुरुस्त राख्ने रहर छ । यिनै आँखाका साहाराले केहि लेखौँला भन्ने जाँगर पनि छ । दुखजिलो गरेर एक कथा संग्रह लेखि भ्याएको छु । आधा लेखेर छाडेका थुप्रै कृतिहरु प्रतिक्षामा छन् । त्यसैले किण्डल संस्करण नआए सम्म विद्युतीय प्रति प्रतिको मोह त्याग गर्ने निर्णय गरेको छु ।

नयाँ पुस्तकहरुको किन्डल संस्करण नआए पनि पुराना पुस्तकहरुको त अब आउनु पर्ने हो । दशक पुराना पुस्तक पनि विद्युतीय प्रति उपलब्द्ध नहुँदा नेपाली साहित्यका समुद्रपारीका पाठकहरुका लागी निकै नै असुविधा हुने गरेको छ । नेपालबाट भौतिक पुस्तक मगाएर पढ्न त्यति सहज हुँदैन । ल्याउने मान्छे हुँदैन र सोझै किन्दा समय र लगानी थुप्रो लाग्छ । विदेशमै भएपनि आर्थिक अवस्था प्राय उस्तै हुन्छ । देशका युवाको ठूलो जमात विदेशमा भएको र संचार माध्यमसँग पनि निरन्तर जोडिएकोले यो जमान नेपाली साहित्यको राम्रो बजार पनि हो । आशा छ यो कुरालाई लेखक र प्रकाशक सबैले मनन गर्नेछन् र विदेशमा रहेका नेपालीहरुको लागी पनि नेपाली साहित्यको अध्यन सहज हुँदै जानेछ ।