पागल-बस्ती पढेपछि : A Book reading experience

pagal-basti---reading-experience

पागल-बस्ती पढेपछि

करिब दुई महिना अघि भाषा र साहित्य(विशेष गरि नेपाली)को मामिलामा निकै कमजोर भएँ अब अल्छी परित्याग गरि पढ्ने बानी बसाल्छु भनी फेसबुकमा खुला प्रण गरेको दिन देखि जन्मदिनमा उपहार पाएको सरुभक्तको उपन्यास “पागल-बस्ती” पढ्न सुरु गरेँ। उसो त २५० पेज पनि नपुगेको, त्यसमाथी निकै interesting पनि, एकै बसाईमा नभए नि एक-दुई दिनमा त भ्याउनै पर्ने किताब, अहँ फेरि अल्छी गरेँ। वर्तमानका distractionहरुमा अल्झिदैँ, तिनलाई छिचोल्दै, उक्लदै-टोपल्दै, झन्डै दुई महिनामा बल्ल सिध्याएँ।

सफाइ दिन खोजेको भन्नुहोला(म प्रतिकार गर्दिन) तर गल्ती मेरो मात्र होइन।सरुभक्तले यस उपन्यासमा मानव संवेदना र विचारहरुसँग यस प्रकार खेलेका छन् कि म अलमलिन बाध्य भएँ। कतिपय स्थानमा आफ्नै भाषिक र बौद्धिक गरिबीका कारण त अन्य कैयौं स्थानमा उपन्यासमा पस्किएका विविध वैचारिक र दार्शनिक जटिलताका कारण अल्झिएँ। बुझिने अभिव्यक्तिहरु पनि सरसर्ती पढेर अघि बढ्न सकिन कैयन पटक। विषयवस्तु सार्है चुम्बकिय थिए, केही हदसम्म भावनात्मक र व्यवहारिक विषयहरुसँगको मेरो आफ्नै लगावले गर्दा पनि हुनसक्छ।
सूक्ष्म भाव र व्यवहारहरुलाई केही पानी पखालेर जुन blunt honesty का साथ उपन्यासमा उतरिएको छ, त्यो इमानदारी कतै खस्रो, कतै तीखो त कतै मीठो महशुस हुन आए। उसो त म honesty को वकालत गर्ने मान्छे, धेरै हद्सम्म अनुकरण पनि गर्न खोज्ने मान्छे तर केहि भावहरुको सत्य स्वरूप किनकिन अपाच्य थियो, त्यसैले उक्ताएँ पनि।कहिले ती स्वरूपहरुलाई real world को तराजुमा जोख्न भनी दोहोर्याएर पढेँ त कहिले किताबलाई कतै पर फालेर बसौँ जस्तो भयो, त्यसमाथी पात्रहरुको मानसिक उतारचढाव उक्लदै-ओर्लदै गर्दाको थकान, केही हप्ता विश्राम पनि लिएँ।
तुच्छ भनी लुकाइने (लुकाउन सिकाइएका) अन्तरङ्गहरुलाई सधैँ बहानाको आँखाले हेर्ने बानी परेकाले होला, “पागल-बस्ती”मा बिना सन्त्वना, बिना justification प्रस्तुत ती भावनाहरुको anatomy पढ्दै गर्द तर्सिएँ पनि।अझ तिनै भाव र पात्रहरुको अंश कताकता आफूँमा पाउँदा एकातिर reality check जस्तो प्रतीत भएको “पागल-बस्ती”, अर्कातिर उपन्यासमा गरिएको संवेदनाहरुको जटिलताको सरली तथा सहजिकरणले गर्दा आफैप्रती क्षमाभाव उद्धृत गराउने सद् गुरु जस्तो पनि प्रतीत भयो।

सरुभक्तको clever लेखाइका कारण पात्रहरुको नैराश्यता र चन्चलताहरुसँग हुने प्रत्यक्ष भेट-वार्तालाप, द्रुतगतिमा fluctuate हुने उपन्यासको भावनात्मक storyline, उपन्यासमा प्रकट गरिएका नैतिक, वैचारिक दोधारहरुबिचको तानातान अनि जीवन-जगत् का अन्य कैयौं पाटाहरुको अभिव्यक्तिको उदाङ्गो-इमानदार प्रहारहरुले “पागल-बस्ती” पढ्नु निकै frustrating र overwhelming अनुभवका रूपमा साबित हुन पुग्यो। सौभाग्यवश, उपन्यासका जटिलताहरु अप्राकृतिक महसुश नभएर होला, frustrationको अनुभूति रोमान्चक लाग्यो।
साहित्य जगतको कमजोर ज्ञानका कारण “पागल-बस्ती”लाई उत्कृष्ट घोषणा गर्ने अधिकार त मसँग छैन, तर व्यक्तिगत अनुभवका आधारमा यसलाई “दमदार” भन्न पाउने अवसरबाट भने पछी हट्ने छैन। मलाई भएझैं अनुभव अरु पाठकहरुलाई पनि भएको हुँदो हो वा हुनु पर्छ म भन्दिन, तर adulthood को चाख पाएका वा पाउदै गरेकाहरुलाई भने यस उपन्यासले अवश्य घचघच्याउने छ।

अन्तिममा उपन्यास नपढ्नुभएकाहरुलाई “पागल-बस्ती”कै सापेक्ष बाट केहि सब्द पैंचो लिएर एउटा चेतावनी तयार पार्ने हिम्मत गरेकी छु: “वैचारिक संकटको चक्रव्यूहमा फस्न तैयार रहनुहोला।”