पाण्डे र बञ्जाडेले मञ्चमा कथा पढ्ने

Kathakram Bannner

काठमाडौं, ५ असार । ‘बुक लभर्स नेपाल’ले सम्भवत: नेपालमै पहिलो पटक लेखकबाटै कथावाचन गराउन लागेको छ । ‘कथाक्रम’को पहिलो संस्करणमा असार ११ गते लेखकद्वय नयनराज पाण्डे र लेनिन बञ्जाडे मण्डला थियटरको मञ्चमा आउनेछन् ।

 

कविता, गीत, गजलजस्ता काव्यिक सिर्जनाका लागि नौलो नभए पनि कथामै केन्द्रित रहेर स्वयं लेखकबाटै वाचन गराउने नयाँ प्रयोग भएको बुक लभर्स नेपालका अध्यक्ष विवेक मिश्रले बताए । “कथा बुन्ने सर्जकले कथाको भाव राम्ररी बुझेको हुन्छ, वाचनमा उसले न्याय गर्न सक्छ,” उनी भन्छन्, “कथामा लेखकले के दर्साउन खोजेको हो, त्यो पनि प्रष्ट हुन्छ । कथा सुनेर पाठकलाई कथा पढ्ने रुचि जगाओस् भन्ने पनि हाम्रो उद्देश्य हो ।”

 

बुक लभर्सले ‘कथाक्रम’लाई संगीत संयोजन पनि गर्नेछ । नाटकमा गरिने संगीतजस्तै कथावाचनमा पनि परिवेशअनुसार संगीत बजाइने इभेन्ट म्यानेजर स्वस्तिक पाण्डेले बताए । “नाटक, चलचित्रमा संगीतले ठूलो अर्थ राख्छ, हामीले पनि त्यही प्रयोग गर्न खोजेका हौं,” उनले भने, “सबै लाइभ हुनेछ ।”

 

लेखक पाण्डे ‘कथाक्रम’को सुरुवातबाट आफू उत्साहित भएको प्रतिक्रिया दिए । “कथाकारका लागि पनि यो नौलो अनुभव हो,” उनले भने, “अब लेखेर पढाउने मात्रै होइन, सुनाउनु पनि पर्न सक्छ भनेपछि कथाकार अझ बढी संवेदनशील हुन्छन् ।”

 

अर्का लेखक बञ्जाडेले यो आफूलाई नयाँ चुनौती भएको टिप्पणी गरे । “मजस्ता भर्खर लेख्न सिक्दै गरेका लेखकलाई यस्ता इभेन्ट राम्रो प्लेटफर्म हुन्,” उनी भन्छन्, “र, नयाँ चुनौती पनि । यसले कथा लेखनमा पनि छुट्टै अर्थ राख्नेछ ।”

 

असार ११ गते शनिबार २:२० बजे मण्डलामा हुने यो कार्यक्रममा फिनिक्स बुक्सका प्रबन्धक कुमार ढकाल र बुकाहोलिक्सको पनि साथ छ । मञ्च व्यवस्थापन, संगीत संयोजन र थियटर भाडाका कारण प्रवेश शुल्क सय रूपैयाँ राखिएको मिश्रले बताए ।

 

बुक लभर्स समूहले यसअघि ‘शब्दाभाव’ कार्यक्रम गरिसकेको छ ।

Event Banner

KATHAKRAM Banner