पुस्तक चर्चा: कहाँ गए ती दिनहरु-अम्बर गुरुङ

पुस्तक चर्चा: कहाँ गए ती दिनहरु
।। प्रभाकर गौतम ।।

kaha

‘कहाँ गए ती दिनहरु’ अम्बर गुरुङद्वारा चार दशकभन्दा लामो अवधिमा रचिएका प्रकाशित रचनाहरुको सङ्‍कलित कृति हो । यसमा संस्मरणात्मक, आत्मपरक र विषयपरक गरी जम्मा २६ वटा रचनाहरु परेका छन् । यसबाहेक शङ्‍कर लामिछाने र अगमसिंह गिरीले अम्बर गुरुङका बारेमा लेखेका दुईवटा लेखहरुलाई पनि एतिहासिक दस्तावेजका रुपमा भूमिकामा राखिएको छ । विभिन्न कालखण्डमा समकालीन साहित्य, बागीना, मधुपर्क, रुपरेखा, गोरखापत्र, कान्तिपुरलगायतका पत्रपत्रिकामा प्रकाशित यस पुस्तकमा रहेका रचनाहरुको सङ्‍कलन र सम्पादन युवा पत्रकार देवेन्द्र भट्टराईले गरेका छन् ।

स्वर, शब्द र सङ्‍गीत तीनै विधामा समानरुपमा सक्रिय गुरुङ नेपाली साङ्‍गीतिक क्षेत्रमा पूर्वीय र पाश्चात्य दुवै शैलीमा गहिरो ज्ञान राख्ने सङ्‍गीतज्ञका रुपमा परिचित छन् । जन्मथलो दार्जिलिङदेखि कर्मथलो काठमाडौँसम्मको आफ्नो लामो साङ्‍गीतिक यात्राका क्रममा उनले प्रवासी नेपालीको पीडादेखि नेपाली कान्छा-कान्छीको प्रेम प्रसङ्‍गलाई आफ्ना सिर्जनामा समेट्‍न भ्याएका छन् । उनी नेपाली साङ्‍गीतिक फाँटमा स्वर्णकालीन युग भनेर चिनिने कालखण्डका प्रतिभावान् श्रष्टा हुन् । भूपी शेरचन, शङ्‍कर लामिछाने, अगमसिंह गिरी, ईश्वरबल्लभ, वैरागी काइँला, हरिभक्त कटुवाल, नारायणगोपाल, अरुणा लामा आदिसँग साङ्‍गीतिक सहयात्रा गर्ने सुअवसर पाएका गुरुङमा उनका समकालीन कलाप्रेमी मित्रहरुको स्पष्ट प्रभाव भेटिन्छ । यो पुस्तकलाई अगमसिंह गिरी, शङ्‍कर लामिछाने र इन्द्रबहादुर राईका नाममा समर्पित गर्नाले पनि उनको साहित्यिक व्यक्तित्वहरुसँग स्थापित गहिरो सम्बन्धको महत्व खुल्छ । अगमसिंह, शङ्‍कर र भूपी त उनको सिर्जनात्मक क्षमतालाई उर्जा दिने मात्र नभई दुईचार घुट्‍को मारी दु:ख-सुख साट्‍ने अन्तरङ्‍ग मित्र नै थिए ।
मनभित्रका भावना र जीवनका अनुभूतिहरुलाई कहिले लहर त कहिले तरङ्‍मा ढाली सिर्जनात्मक आकार दिने क्रममा गुरुङले जन्मेहुर्केको ठाँउ मात्र होइन, आफूभित्रको कलाकारिता जोगाउन बेग्लै अस्तित्व खोजिरहेको सङ्‍घर्षरत परिवेश पनि त्याग्नु पर्‍यो । जुन एउटा कलाकारभित्रको संवेदनालाई कहिले उर्जा दिने त कहिले पीडा दिने कारण बन्न पुग्यो । यो कृति पनि त्यही उर्जा र पीडारुपी संवेदनाको उपज हो । यसमा सङ्‍कलित रचनाहरुमा ‘बन्दै रह्‍यो बाल्कोनी’, ‘एउटा तुच्छ सम्झना’, ‘गीत सुनाउनै सकिनँ’ क्रमश: शङ्‍कर, अगमसिंह र उत्तम कुँवरको मृत्युपश्चात् उनीहरुको स्मृतिमा रचिएका संस्मरणात्मक लेख हुन् । त्यस्तै ‘कहाँ गए ती दिनहरु’ शीर्षकको लेखमा चाहिँ लेखकले भूपी, शङ्‍कर र अगमसिंहका प्रसङ्‍गहरुलाई विषय बनाएका छन् । यो लेख जीवित छँदै कलाकार वा स्रष्टाहरुको महत्व नबुझ्ने र सही मूल्याङ्‍कन नहुने तर मृत्युपछि उनीहरुलाई महान् घोषित गरिने परिपाटीमाथिको व्यङ्‍ग्यसमेत हो । ‘फज्लु भैया’ र ‘हिरो र आश्वासन’ पनि व्यक्तिलाई केन्द्रबिन्दु बनाई रचिएका लेखहरु हुन् । यी यस्ता साधारण पात्रहरु हुन् जसले उनको मनमा मात्र नभई सिर्जनामासमेत गहिरो प्रभाव पारेका छन् ।

मानव-हृदयभित्रका स्वच्छ भावना र मानवीय संवेदनालाई सङ्‍गीत वा सिर्जनाको प्रमुख स्रोत मान्ने गुरुङका लागि गीतसङ्‍गीत गाएर छोडिदिने विषय मात्र होइन भन्ने कुरालाई ‘सङ्‍गीत र उत्तरदायित्व’, ‘हारमोनियम: प्रसिद्ध अभागी बाजा’, ‘अन्तर्वार्ता अनुभव’ ‘जीवनजत्तिकै नजिक !’ ‘सङ्‍गीतमा प्रविधीकरण’, ‘इच्छुकलाई शुभेच्छुकको पत्र’, ‘शास्त्रीय गायन’, ‘किन म सङ्‍गीत गर्छु ?’ जस्ता लेखमा व्यक्त गम्भीर विचारहरुले पुष्टिसमेत गरेका छन् । विश्वसङ्‍गीतका हस्तीहरुको सङ्‍घर्ष र सफलता-असफलताका दृष्टान्तहरु बुनेर नेपाली परिप्रेक्ष्यमा रचिएको ‘सङ्‍गीत र उत्तरदायित्व’ शीर्षकको लेखमा नेपालमा विदेशी स्रष्टाका सिर्जना तथा रचनाहरु पढ्‍ने पर्याप्त अवसर र वातावरण नहुनु पनि नेपाली सङ्‍गीतको विकास वा विस्तार नहुनुको एउटा प्रमुख कारण मान्दै उनी भन्छन्, ‘यहाँनेर यो कस्तो विडम्बना भने उनीहरु पहिला रिकर्ड अथवा प्रदर्शनी क्रिया सुन्छन् र त्यसबारे रिभ्यू आदि लेख्छन् र हामीहरु ती बासी रिभ्यूहरु पढ्‍छौँ, मात्र पढ्‍छौँ, सुन्न पाउँदैनौँ ।’ त्यस्तै ‘सङ्‍गीतमा प्रविधीकरण’ शीर्षकको लेखमा उनले केवल लोकसङ्‍गीतलाई विशुद्ध नेपाली सङ्‍गीत मानेर नेपाली सङ्‍गीत क्षेत्रको विकास नहुने तर्क अघि सार्दै भनेका छन्, ‘लोकसङ्‍गीत पूर्णरुपेण सङ्‍गीत व्याकरणकै हिसाबले पनि सानो छ, कारण यसको परिवेश जुनसुकै हिसाबले पनि सानो छ । सानो र सरल हुनु नै वास्तवमा लोकसङ्‍गीतको मौलिकता तथा सौन्दर्य पनि हो तथापि लोकसङ्‍गीतले मात्र साङ्‍गीतिक सभ्यता तथा संस्कृतिलाई समृद्धशाली पार्न सक्दैन ।’

यसबाहेक ‘अन्तर्वार्ता र अनुभव’ र ‘सुनको तारा खसाउने गीत’ शीर्षकका लेखहरुमा गुरुङले सर्जक भएका कारणले मात्र भोग्नु परेका तिक्तताहरु ओकलेका छन् जुन निकै मार्मिक लाग्छन् । अन्तर्वार्ताकारका सूत्रात्मक प्रश्नहरुदेखि आजित गुरुङ अन्तर्वार्ता दिँदा भनेको कुरा र प्रकाशित भएपछिका कुराहरुमा हुने हेरफेरले कलाकारहरु ‘बलिको बोको’ हुनुपरेको गुनासो पोख्दै भन्छन्, ‘अन्तर्वार्ता नदिउँ त आफू अहङ्‍कारी, असामाजिक र असहयोगी ठहरिने ! दिउँ भने आफ्नो बँचेखुँचेको छवि नै चौपट हुने !’

स्रष्टालाई आफ्नो सिर्जनाप्रति नराम्रो हुँदाहुँदै त मोह हुन्छ भने झन् सबैले रुचाएको आफ्नो सिर्जनालाई अरु कसैको नाममा सुन्नु/पढ्‍नुपर्दाको दु:खद अनुभूति कस्तो हुन्छ होला ? गुरुङको ‘सुनको तारा खसाउने गीत’ शीर्षकको लेख पढ्‍दा प्रष्ट हुन्छ । सन् १९६८ तिर गुरुङको शब्द/सङ्‍गीतमा नारायणगोपाल र अरुणा लामाले गाएको ‘ए कान्छा मलाई नको तारा खसाइ देउ न…’ बोलको गीतलाई पासाङ वाग्बलको शब्द भनी ‘सङ्‍गीत माधुरी सम्झाउनी’ नामक स्मारिकामा पढेपछि उनले यस गीतको प्रसङ्‍ग कोट्‍याउन बाध्य भएको उल्लेख गरेका छन् । अझ तीसको दशकमा रेडियो नेपालमा रेकर्ड भएको नारायणगोपालको स्वर र गुरुङकै शब्द/सङ्‍गीत रहेको ‘मेरो आँखामा राख्ने फूलबारी छैन…’ बोलको गीतसमेत कवि एवं गीतकार हरिभक्त कटुवालको नाममा बज्ने गरेकोले पनि उनलाई लेख लेख्न बाध्य बनाएको भन्छन् उनी ।
वास्तवमा यो लेख उनको पीडा मात्र नभई नेपाली सङ्‍गीत क्षेत्रमा विद्यमान प्रतिलिपि अधिकारको अवस्था र यसप्रति स्वयं स्रष्टाहरुको निरीहता एवं निष्क्रियता झल्काउने रचना पनि हो । नेपाली साङ्‍गीतिक फाँटमा योग्य व्यक्तिहरुको कमी नभए पनि यस क्षेत्रमा भएका समस्या र सम्भावनाहरुबारे गम्भीर रुपमा कलम चलाउने व्यक्तिहरुको खाँचो रहेको अवस्थामा यो पुस्तक सहायक हुने आशा गर्न सकिन्छ । तर सम्पादित कृति भएर पनि शुद्धाशुद्धीमा पर्याप्त ध्यान दिइएको देखिँदैन । पुस्तकमा ०४६ सालको राजनीतिक परिवर्तनपछि नेपाली सञ्चार क्षेत्रको विकास र विस्तारले साङ्‍गीतिक क्षेत्रमा पुर्‍याएको योगदानबारे चर्चा गरिएको छैन । जुन पुस्तकको कमजोर पक्ष हो । तथापि, पुस्तक सुगम सङ्‍गीतका नयाँ-पुराना पुस्ताका लागि उपयोगी छ नै, साहित्यिक दृष्टिकोणले पनि महत्वपूर्ण छ ।

पुस्तकः कहाँ गए ती दिनहरु (संस्मरण/निबन्ध)
संस्करण २०६३
प्रकाशक- रत्न पुस्तक भण्डार, पृष्ठ- २४+१००