पुस्तक चर्चा : जीवन काँडा कि फूल- झमक घिमिरे

पुस्तक चर्चा : जीवन काँडा कि फूल
।। प्रभाकर गौतम ।।

एक दशकभन्दा लामो समयदेखि नेपाली साहित्य क्षेत्रमा कलम चलाइरहेकी झमकका सृजना तथा लेख रचनाहरु पढेका धेरैमा पक्कै पनि उनकै जीवनको बारेमा जान्ने रहर थियो । हिँडडुल गर्न नसक्ने बोल्न नसक्ने आँखा पनि धमिलो देख्ने केवल सुन्न मात्र सक्ने झमकको जीवन र दुर्लभ प्रतिभाका बारेमा जान्ने सम्भवतः मजस्ता धेरैमा उत्सुकता थियो । ‘जीवन काँडा कि फूल’ कृतिले त्यो पूरा गरिदिएको छ । प्रकाशक ‘अनलाइन साहित्य मञ्च’ र ‘झमक घिमिरे साहित्यकला प्रतिष्ठान’ लॆ यो अवसर जुराइ दिएको हो । यो संग्रहमा सङ्गृहित विभिन्न ४७ शीर्षकमा समेटिएका आत्मपरक निबन्धहरुले झमकको जीवनका आन्तरिक र बाह्य पक्ष उजागर गरेका छन् । यो कृति उनको असामान्य जीवनयात्राको कथा हो । जहाँ खुसीभन्दा आँशु बढी छ तर पनि यो निराशाको हैन आशा र संघर्षको कथा हो ।

‘खुट्टाले लेख्ने लेखक’ का रुपमा झमकलाई चिन्ने सबैमा एउटा स्वाभाविक जिज्ञासा जन्मिन्छ उनले पढ्न-लेख्न कसरी सिकिन् र उनलाई साहित्य पढ्न केले प्रेरित गर्यो ? ‘आशाको त्यो त्यान्द्रोसम्म’, ‘आशाका किरणहरु ‘अक्षरसँग पलाएको हर्ष’, ‘शब्दको उत्सव’ पुस्तक संसारमा प्रवेश’ आदि शीर्षकहरुमा यस्ता जिज्ञासाको उत्तर समेटिएको छ । झमकको बालापनका थुप्रै मार्मिक र रोचक कुराहरु पनि यी लेखहरुमा पाइन्छ । आफ्नी बहिनी स्कूल गएको र बाबाले उनलाई घरमै पढाएको देख्दा उनमा पनि पढ्ने रहर पलाएको हो । तर उनले आफ्नो रहर पूरा गर्न निकै सकस बेहोर्नु पर् यो । उनको रुचि र बालमनोविज्ञानको बेवास्ता नगरी उनका बाबाले बरु उल्टै हप्काए ‘तैले जानेर के गर्नु ?” ( पृ. ४२) । तर उनले बहिनी पढ्ने ठाउँभन्दा टाढै बसेर बाबाले थाहै नपाउने गरी पढ्ने अभ्यास गरिन । उनी लेख्छिन् ‘मेरा लागि खुल्ला धरती अभ्यास-पुस्तिका बन्यो । यहाँका ढुङ्गा माटा अनि खुट्टाका मसिना आंैलाहरु पेिन्सल र इरेजरहरु बने ।’ भौतिक रुपमा मुखबाट शब्द उच्चारण गर्नबाट वञ्चित झमकमसँग भोक थियो तर भोक लाग्यो भन्ने आवाज थिएन प्यास थियो त्यसको अनुभूति पनि थियो तर त्यसलाई व्यक्त गर्ने कुनै माध्यम थिएन । यसरी माध्यम खोज्ने क्रममा उनी अक्षरहरुको संसारमा पुगिन् । यद्यपि अरुलाई जस्तो उनका लागि यो यात्रा सहज थिएन । प्रस्तुत पुस्तकले झमकका तिनै असहज यात्राहरुको कथा बोलेको छ ।

पुस्तकको पहिलो खण्ड अत्यन्तै मार्मिक र हृदयस्पर्शी छ । आफ्नै दृढ इच्छाशक्तिका भरमा अक्षर सिकेकी तिनै केटीले स्वाध्यायनका भरमा लेखेको पुस्तक पढ्दै छु भनेर सोच्दा अपत्यारिलो लाग्छ । झमकको जीवन आफैमा एउटा कथा (व्यथा) हो । शारीरिक रुपमा अशक्त भएकैले उनले प्रशस्त मानसिक समस्या पनि भोग्नुपर् यो । लेखकका रुपमा आफ्नो चिनारी बनाउन सफल हुनुपूर्व उनको परिवार र आफन्तजनबाट पनि उनले उपेक्षा मात्र पाइन् । उनले विभिन्न सन्दर्भमा अभिभावकबाट धेरै चुटाइ खाएको उल्लेख गरेकी छन् । जुन निकै दुःखद् पक्ष हो । बहिनीको माया पाएकोमा झमक उनीप्रति कृतज्ञ छिन् । त्यसैले पुस्तकमा परिवारका सदस्यहरुको व्यवहारप्रति उनले तीव्र असन्तोष प्रकट गरेकी छन् । तथापि आमा र बाबाको तिरस्कारलाई उनले व्यक्तिगत तहमा भन्दा सामाजिक मूल्य-मान्यतासँग जोडेरी हेरेकी छन् । ‘समाजको दृष्टिमा अपाङ्गता’ शीर्षकअन्तर्गत शारीरिक रुपमा अपाङ्ग भएकाहरुप्रति मानिसहरुको नकारात्मक दृष्टिकोण र व्यवहारको चर्चा गर्दै आफूले त्यस्तो दृष्टिकोण चिर्न गरेको संघर्षबारे उल्लेख गरेकी छन् । आफ्नै दृढ अठोटको जगमा स्वाध्ययन गरेकी झमकले साहित्यिक सांस्कृतिक राजनीतिक लैङ्गिक आदि थुप्रै विषयमा कलम चलाएकी छन् । लैङ्गिक विभेद धार्मिक-सांस्कृतिक रुढिवाद निरंकुशता युद्ध िहंसा आदिको उनी प्रखर विरोधी हुन् । महिला उत्पीडनका पछाडि उनी धर्म अन्धविश्वास र परम्परागत मान्यतालाई कारक मान्छिन् । पितृसत्तात्मक संरचना बदल्नुपर्ने मत राख्छिन् । यस मानेमा उनी प्रगतिशील विचार राख्छिन् । नेपालको सांस्कृतिक पछौटेपनाप्रति पनि उनको गहिरो चिन्ता छ । माक्स्रवादी दर्शनप्रति झुकाव भएकी झमकका लेखहरुमा नेपाली समाजको रुढिवादी संस्कार र धार्मिक अन्धविश्वास चिर्नमा लेखकका रुपमा आफ्नो पनि अहम् भूमिका हुनुपर्ने दायित्वबोध र आग्रह झल्किन्छ । पारिजातका लेखनबाट विशेष प्रभावित झमक मृत्युपछिको संस्कारजन्य कर्मकाण्डीय कुराहरुमा विश्वास गर्दिनन् । “मृत्युले लगेपछि पनि लासलाई कुनै धर्मको कात्रो नओढाइयोस् कि्रयापुत्री पनि नबसाइयोस् लासमाथि दागबत्ती नदिइयोस् (पृ. २४९)” उनको आग्रह छ ।

झमक समाज रुपान्तरणमा लेखकको विशेष भूमिका हुने मत राख्छिन् । र यही मान्यताका कारण द्वन्द्वका बेलामा आफूले स्वतन्त्र विचार राख्ने जमर्को गरेको विश्वास छ । तर त्यो बेला सरकारी र विद्रोही दुवै पक्षबाट भएका हत्या-िहंसाका घटनाको निन्दा गर्ने काम चुनौतीपूर्ण भएकोले आफूले पनि विभिन्न धाकधम्कीको सामना गरेको उनको अनुभव छ । स्वतन्त्र लेखकका रुपमा कलम चलाउन संकटकालका समयमा राज्यपक्ष र विद्रोही पक्ष दुवैको मारमा आफू पनि परेको तिक्त अनुभव छ । ‘कान्तिपुर’ दैनिकमा स्तम्भकारसमेत रहेकी झमकले ‘कलम र मृत्युको सन्त्रास’, ‘बन्दुकसँग शब्दको परेड’ आदि निबन्धहरुमा उक्त अनुभूतिहरु पोखेकी छन् । यसबाहेक ‘संकटकाल र सन्त्रस्त समय’ ‘धनकुटा जल्यो’ ‘रगताम्य समयसँग स्तब्ध मन’ लगायतका शीर्षकअन्तर्गत द्वन्द्वकालीन नेपाली समाजको त्रासदीको वर्णन समेटिएको छ ।

पुस्तकमा स्वाभाविक रुपमा खड्किने पक्षहरु पनि छन् । उनको कथा तिथि मितिका आधारमा सिलसिलाबद्ध छैन । भाषा सरल छ तर पूर्णविराम र अल्पविरामहरुको यथोचित प्रयोग हुन सकेको छैन । एउटै शीर्षकअन्तर्गत राख्न सकिने कुराहरुलाई बेग्लाबेग्लै शीर्षकमा निबन्धात्मक शैलीमा लेखिएकाले थुपै्र कुरा दोहोरिएका पनि छन् । त्यसैले पुस्तकको पछिल्लो खण्ड केही पट्यारलाग्दो बनेको छ । धेरै ठाउँमा लेखकभित्रको ‘म’ भाव हाबी भएको भान हुन्छ । यसलाई सम्पादनको कमजोरी पनि मान्न सकिएला । सबैभन्दा अन्योल चाहिँ झमकले आफ्ना आमाबाबुप्रति राख्ने दृष्टिकोण नै प्रस्ट हुँदैन । एकातिर उनीहरुको व्यवहारप्रतिको उनमा तीव्र असन्तुष्टि छ रोष छ र अर्कोतर्फ उनी आफ्ना अभिभावकप्रति कृतज्ञ पनि छिन् ।
पुस्तकमा झमकका बारेमा धेरै अन्तरङ्ग प्रसङ्गहरु पनि छन् । ‘टालेका पाइजामा र लाज’ र ‘ऋतुधर्म र बैँस’ मा मुख्यतः उनको किशोरावस्थाको यौन मनोविज्ञानको उद्घाटन भएको छ । शारीरिक जटिलताका कारण किशोरावस्थाको उनको मनोदशा पृथक छ । उनमा पनि बैँस आएको थियो तर फरक हिसाबले । “मलाई दश÷एघार वर्षको उमेर हुँदासम्म लाज सरम के हो थाहै थिएन …। यो कारणले पनि मेरा सम्पूर्ण लुगा कपडाहरु अरुले नै लाइदिनु फुकालिदिनुपर्ने र नुहाइदिनुपर्ने भएको हुनाले लाज सरम मानेर साध्य पनि छैन ।” उनी विद्रोही स्वाभावकी भएकाले ऋतुधर्मको अवधिमा दाजुभाइको मुख हेर्नु हुँदैन नत्र अशुभ हुन्छ भन्ने आमाको आदेशको यसरी अवज्ञा गरिन् “आज मैले तिम्रो छोरालाई छोएर हेरेर उसको आयु स्वात्तै कसरी घट्दो रहेछ ? ऊ कसरी मर्दोरहेछ ?” उनको यो प्रश्न आमालाई मात्र हैन हाम्रो परम्परागत रुढिवादी समाजलाई हो । ‘रङ्ग कुची र क्यानभास’ ले कविता निबन्ध कथा आदि लेख्ने झमकको अर्को व्यक्तित्व पनि बाहिर ल्याएको छ । आफ्नै निबन्ध सङ्ग्रह ‘बेमौसमका आस्थाहरु’ मा उनले आफ्नो आवरण चित्र कोरेकी छन् ।

अहिले साहित्यकार र समीक्षकहरुमा झमकको तारिफ गर्ने र उनलाई पुरस्कृत गर्ने होडबाजी चलेको देखिन्छ । निःसन्देह झमकको उचित मूल्याङ्कन हुनु राम्रो हो । तर हाम्रो समाजमा एक हैन हजारौँ झमकहरु छन् जसलाई हाम्रो समाजले अझै तिरस्कार गरिरहेको छ । प्रोत्साहित गर्नुको साटो उपेक्षा गरिरहेको छ । एक जना झमकप्रति सबैको ध्यान हुनु तर अन्य हजारौँ झमकहरुलाई बेवास्ता गरुन्जेल झमकको पनि सम्मान नभएको ठहर्छ । तसर्थ झमकको कृति हाम्रो समाजको संकुचित दृष्टिकोणलाई फराकिलो बनाउने एउटा माध्यम बन्न सकोस् ।

“मैले हात चलाउन खोजेँ सकिनँ । हातका औँलाहरुसँग चल्न सक्ने शक्ति अलिकति पनि बाँकी रहेनछ । ओठहरु जमजमाए तर कुनै शब्द वा वाक्य निस्केन । खुट्टामा पनि शरीर बोकेर हिँडाउन सक्ने शक्ति थिएन…।” यसरी प्राकृतिक रुपमा आफूलाई ठगिएको पाएकी झमकले जीवनमा नपाएका अवसरहरुको स्वयंले सिर्जना गरेकी छन् । काँडाभन्दा फूलको आयु छोटो हुने भए पनि फूल सुन्दर हुन्छ । त्यसैले उनले काँडारुपी जीवनलाई फूल बनाएकी छन् । मदन पुरस्कार उत्तम शान्ति पुरस्कार पद्मश्री पुरस्कार शंकर लामिछाने निबन्ध पुरस्कार गुाजन पुरस्कारजस्ता धेरै पुरस्कारबाट सम्मानित भइसकेको यो कृति अङ्ग्रेजीमा अनुवाद भएमा अझ लोकपि्रय हुने निश्चित छ ।

पुस्तक : जीवन काँडा कि फूल
लेखक : झमक घिमिरे
विधा : आत्मजीवनीपरक निबन्ध
प्रकाशक : अनलाइन नेपाली साहित्य मञ्च / झमक घिमिरे साहित्यकला प्रतिष्ठान
पृष्ठ : २९ + २५०
मूल्य : २५०

– प्रभाकर गौतम
http://meeprabhakar.blogspot.com