“बजार अनि टेम्पोका कुरा”-बानेश्वरको छत बाट- Part 5- सुमी Jr.

बजार अनि टेम्पो का कुरा - Sumi JR

५. बजार अनि टेम्पोका कुरा

मलाई टेम्पो मन पर्दैन| धकधक खट्खट धकधक खट्खट; थाहा छैन रफ्तारको आधीन भएर हो या समयको अभावले, मलाई टेम्पो मन पर्दैन| तर टेम्पोमा बस्न पाइन्छ अनि २० रुपैंयामा एकैचोटी ८-१० जनाका कथा सुन्न-नियाल्न पाइन्छ, कस्तो किफायती!

कुनै एउटा स्टपबाट चढेका एक परिवार, श्रीमान चाहिँको अनुहार तेत्ति मजाले हेरिन (हेर्न चाहिन), हँसिलै थिए क्यारे, तर अझ हँसिली उनकी श्रीमती अनि अझ चंचल उनीहरुको ४/५ बर्षे छोरो| खै, कारण के थियो तर उनलाई गार्हो हुन्छ भनेर होला ५जनाको सिटमा सबैले आ-आफ्नो भागको अलिकति ठाउँ छुट्याएर बनेको छैठौं जनाको सिटमा बसेकी थिईन ति दिदी| घरि टेम्पोको ढोकामा झुन्डिएका आफ्नो श्रीमानलाई घरि छोरालाई हेर्दै उनि मुस्कुराउथिन्| उनको मुस्कान देखेर लाग्थ्यो, वैंशले भर्खर काउकुती लगाउन थालेकी, १३ बर्षे ठिटी हुन्| एकैछिन पछि उनको छोरो खासखुस गर्न थाल्यो, आमाको घाँटी तानेर, कानमा केहि भन्यो, आमाचैंले हुन्न भन्दै खितित्त हासिन्| छोरो चै अट्टेरि गरेर आमाको छातीमा लेप्पासिन थाल्यो, टेम्पोमा भएजति सबैले कुरा बुझे, मुसुक्क हाँसे|

]

मेरै अगाडी एक जना लिखुरे केटा पनि बसेको थियो, उमेरमा म भन्दा जेठो जस्तो| जस्तो पातलो उसको गाला, तेस्तै पातलो उसका चस्माको फ्रेम पनि| ज्ञानी जस्तो देखिने, केहि सोचेजस्तो, फिजिक्सका डेरिभेसन, घर-बाबु-आमा अनि जिम्मेवारी, प्रेमिकासंग गर्ने कुरा, नँया गेम-ग्याजेट, यिनै मध्ये केहि त सोच्दै थियो ऊ| तर उत्रिने ठाउँ नजिकै भएकाले होला, आफ्नो ध्यान अन्तै सारेर खल्तीबाट अप्ठेरो गरि केहि (भाडा शायद) निकाल्न थाल्यो| दुई जना केटिका बिचमा बसेको, उसलाई त्यो पैसा निकाल्न २ मिनेट लाग्थ्यो होला, होस् पुर्याएर, कुइनो बचाउदै, ४ मिनेट लगाएर झिक्यो| उसको छेउकि केटिले पनि कुरा बुझेर अलि सजिलो गरि बसिदियी, मैले पनि कुरो बुझें| टेम्पोको ढोकै छेउमा बसेका दुई किशोरीहरु फूटपाथ तिर हेरेर आँखा जुधाए अनि मुख खुम्च्याउदै गलल्ल हाँसे| अलि चखिलो निलो रंगको नसुहाउने लुगा लगाएकी २०-२२ वर्षे केटीलाई हेरेर हाँसेका थिए उनीहरु, मैले फेरी पनि कुरो बुझें|

बजार कस्तो अचम्मको छ है; बोल्दै नबोली नियमहरु राख्छ अनि बुझ्छ इशाराहरु | गलत नजर र सहि नजरहरु कति सजिलै छुट्याउछ बजार| ‘आज मलाई बाटोमा दुइ-तीन जनाले फर्की-फर्की हेरे नि’ र ‘आज मलाई तिनीहरुले कस्तरी हेरे’ भन्नुको अर्थ ठ्याक्कै बुझ्छ बजार| कुन रंग गाउँले र कुन रंग सहरिया कस्तो प्रस्टै थाहा पाउँछ बजार| यत्तिकै प्रस्ट हामी मान्छेले पनि एक-अर्काको चोइस बुझे?

क्रमशः