बानेश्वरको छत बाट – सुमी Jr. – Part 1

“ग्लानीले ओइलाएको मनलाई घिसार्दै-घिसार्दै छतको एउटा पर्खाल्सम्म पुर्याएर अड्याएको छु | मन नराम्रोसंग भारी भएको छ | शितल बतासले पनि तर्साउछ, खसिहाले ! जोडिने नसक्ने गरि टुक्रिए भने? मन नअडिए पनि शरीर अड्याउछु, अढेस पाउने यहि एउटा ठाउँ न छ; अढाई इन्चको खाट र सामाजिक संजालको जेल भन्दा अलिकति टाढा, खुला छतको एउटा कुनामा | म भित्रको बेसिक-र्याशनल फेमिनिस्ट आज कोठामै छोडेर आएकी छु | अनि निर्लज्ज पर्भर्ट जसरी चियाउदै छु चर्किएका-भत्किएका पर्खाल पछाडिका कहानीहरु, नियाल्दै छु वरिपरिका अजंगका निर्जीव बिल्डिंग भित्रका जीवनहरु | पर्भर्टले छाला र मासुका डल्ला तौलिए जसरी तौलिदै छु हरेक को मन र नबोलिएका तरङ्गहरु | म जस्ता पर्भर्टहरु बाट बच्नलाई छिन-छिनमा पर्दा मिलाइरहेका बिम्बहरुलाई हेर्दै खिस्स हास्छु म |

आत्तिदै घर फर्किरहेकाहरु जस्तै कहिले आत्तिदै त कहिले एकटकले म हेर्छु झलमल्ल बानेश्वर र आसपासका छिमेकीहरु | नियाल्दै हरेक सटर-हरेक कोठा, म आफ्नै मनगढन्ते रुलरले नापजोख गर्छु | ‘मीनी-शरलक’ बन्दै ठम्याउन खोज्छु; त्यो पर्दा पछाडी पक्कै कोहि केटी छे | अनि स्टीरियोटाईप गरेको आरोपमा आफैले आफैलाई गिरफ्तार गरी स्वगालीको सजाय भोगेर फेरी फर्किन्छु म उही दुनियामा | कुम्लो बोकी फर्किरहेका मान्छेजस्तै देखिने मान्छेहरु; कोहि फुटपाथमा समय-सीप-साग र परिश्रम बेचेर भोक मेट्न-मेटाउन फर्केका, कोहि गुम्सिएको सटरभित्र दिनभर झिंगा मारेर ‘तीर्खा’ मेटाउन फर्केका, कोहि मक्ख त कोहि थकित | “मान्छेले भोक र सम्भोग नमेटियेसम्म अरु केहि नखोज्ने रहेछ”, भन्दै २१सौ शताब्दिको मोडर्न दार्शनिक बन्नै लाग्दा विध्युत् प्राधिकरणले मलाई झस्काउछ | लोडसेडिङ्ग, छुच्चो मोरो |”

-सुमी Jr.