भुइयाँ – एउटा एक्टिभिज्म – Kumud Adhikari

Bhuiyan- Yangesh Reviewed by Kumud Adhikari

यज्ञशको निजात्मक अनुभूतिहरूले सराबोर रहेको कृति ‘भुइयाँ’ले हामीमाझ एउटा प्रश्न तेर्स्याएको छ – के जमिन नभएको मानिस मानिस होइन ? यदि हो भने किन उसले यही धरतीमा यति विघ्न दुःख र पीडा खेप्नुपर्छ ? लाग्छ हामी मानिसहरूबाट मानवता नामको कुनै चीज गायब भैसक्यो। वा मानवताको परिभाषा फेरिएको हुनसक्छ – हामी कथित उपल्लो स्तर (जमिनवाला, धेरै जमिनवाला र नक्कली सुकुम्बासी)का मानिसहरूको मानवतामा कपट र दुष्ट्याइँ पनि सामेल छन्। हामी परपीडक भएका छौँ। मान्छेलाई दुःख दिएर आनन्द लिन्छौँ। अझ यो कपट र दुष्ट्याइँ त जेनेटिक क्यारेक्टर नै हो कि क्या हो? जिनमै पुस्तौँ पुस्तादेखि सर्दै आयो। रूप फेरियो होला तर आउनचाहिँ आयो – कतै अनुदानका रूपमा, कतै आश्वासनका रूपमा, कतै छलका रूपमा, कतै के कतै के का रूपमा !

भारतीय लेखिका अरून्धती रोय मलाई मन पर्ने लेखिका हुन्। उनका उपन्यास भन्दा पनि निबन्धहरू र ती निबन्धहरूमा उनले उठाएका तर्क दमदार हुन्छन्। उनी सामान्य मानिसका बारेमा लेख्छिन्। पूँजीबजारबाट पिल्सिएका, कर्पोरेट बजारको पैसाबाट डढेका, प्रकृतिलाई तहस नहस पार्ने सरकारी ठूला योजनाहरूमा डुबेका, जङ्गलमा पनि बस्न नदिई लखेटिन लागेका, सरकारको आवरणमा गरिएको आमहत्याबाट मृत्यु भएका, आदि आदि मानिसहरूको आवाज उनका निबन्धहरूमा पाइन्छन्। पीडितका लागि बोल्ने, पीडितका पक्षमा बोल्ने, र भारत सरकारलाई आच्छु आच्छु पार्ने लेखिका हुन अरून्धती। त्यसैले उनी एउटी लेखिका त हुन् नै एउटी एक्टिभिस्ट पनि हुन्। अरून्धतीको एक्टिभिज्मले के कति काम गऱ्यो त्यो मैले यहाँ उल्लेख गर्न नपर्ला।

मैले भुइयाँ पढ्दै गर्दा मलाई नेपालमा पनि एउटा लेखक एक्टिभिस्ट जन्मियो है जस्तो लाग्यो। एक्टिभिस्टको भूमिकामा मतान्तर हुन सक्ला तर भुइयाँले ती मानिसहरूका आवाज बोलेको छ जो लेख्न पढ्न सक्तैनन्। लेख्न पढ्न सके पनि तिनको पहुँच आमसञ्चारमा माध्यममा कदापी पुग्दैन। किनकि आमसञ्चारका माध्यम पनि बिक्ने सामग्री मात्र प्रसारित गर्छन्। जसले उनीहरूलाई पाल्छ तिनीहरूकै मात्र जयजयकार गर्छन्। यस्तो स्थितिमा धरतीको सबैभन्दा नजिक बस्ने मानिसहरू – सबै किसिमले भुइँमा सुत्ने, कपडा लगाउन नसक्ने, त्यही भुइँमा अन्नपात उमारेर जीवन धान्नु पर्ने –ले त्यही धरतीको उपयोग गर्न नपाउनु, पाए पनि खोसेर लगिनु, एक ठाउँबाट लखेटिनु, अर्को ठाउँमा पनि उभिन नपाउनु, एक छाक राम्रो खान त परै जाओस्, लाज छोप्न कपडा पनि नपाउनु…. वा नदिइनु के समाचार बन्ला र ? उनीहरूको समाचारले मानिसहरूको हृदय कतै छोला र ?

भुइँया पढ्दा सोचिनसक्नुको पीडा भयो – कारण स्पष्ट छः हामी कथित उपल्लो वर्ग, सत्ता, पूँजीबजार, कर्पोरेट जगत कति अमानवीय भैसकेछौँ भन्ने लाग्यो। सरकारले कमैया मुक्तिको घोषणा गर्छ – कुनै कमैया मुक्त हुँदैन। राजनैतिक दलहरू गएर सुकुम्बासी बस्ती बसाल्छन् – वन उपभोक्ता समितिले लखेट्छ। दलितका लागि अनेकन् आयोग बन्छन् र कोठे बैठकमा सकिन्छन्। छुवाछूत कानुनमा कहाँ छ र ? व्यवहारमा पो छ त। पानी छोइने, खानेकुरा छोइने, के छोइने, के छोइने। खासमा भन्ने हो भने यो धरती त धेरै अछूतहरूले छोएका छन्, किनकि उनीहरूसँग जुत्ता चप्पल लगाउने कुनै पैसा छैन। नाङ्गै खुट्टा हिँड्छन्, नाङ्गै शरीर सुत्छन्। धरतीमा यति धेरै अछूतहरूले छोएको धरतीमा हामी कथित उपल्लो जातले किन बस्ने, धरतीकै माध्यमबाट छोइहालियो। साँच्चै छूवाछूतबाट बच्ने नै हो भने एउटा उपाय छ – सबै ठूलाबडाहरू मङ्गल ग्रहमा गएर बस्ने। त्यहाँ चाहिँ बलदेव राम पुग्न सक्तैनन्। ग्यारेन्टी छ।

मान्छेले त मान्छेलाई खेद्‌यो खेद्‌यो, प्रकृतिले पनि त्यसै गर्छ। पहिरोलाई पनि तिनकै बस्ती चाहिने, बाढीलाई पनि तिनकै घर चाहिने। हुन त मान्छेले नै प्रकृतिले खेद्‌ने सीमासम्म पुऱ्याएर राखेका हुन् नि उनीहरूलाई। नत्र किन रातभरि टर्च बाल्दै बाढीले बगाउला कि भनेर हेरिरहनुपर्थ्यो? नत्र किन वन उपभोक्ताहरूले लखेटिरहन्थे ? नत्र किन खान नपाएर काखको बालक मर्थ्यो ? नत्र किन….? नत्र किन……?

यज्ञशको कलमले यस्तै यस्तै लेखिरहून्। उनको एक्टिभिज्म थोरै भए पनि सफल बनोस्। शुभकामना।

kumud-adhikari.com.np