“मन”- Sarthak Bhattarai- कविता

मन
मेरो मन बादल जस्तै थियो,
मन बाफ बनेर माथिमाथि उड्थ्यो
अलि माथि पुगेर टक्क अडिन्थ्यो
अनि पिडाको पहाडमा ठोक्किदा मन,
म निराश हुन्थेँ।
तब मानिसहरु मख्ख पर्थे,
नाच्थे, गाउँथे, गीत कविता लेख्थे
जब मेरो मन,
पानी बनेर बर्सन्थ्यो;
आँखाबाट,
नुनीलो पानी।
मेरो मन चङ्गाजस्तै थियो
खुला आकाशमा उडिरहने
स्वच्छन्द, उन्मुक्त।
तर अरुको जस्तै मेरो मन लट्टाईमा बाँधिएको थियो।
अनि जब आकाशमा उड्ने अरु चङ्गासँग जेलिन्थ्यो,
मेरो मन चुँडिएर खस्थ्यो
मेरो मन कमजोर थिएन,धागो कमजोर थियो।
चङ्गा चेट!

म मनसँग वार्तालाप गर्थे कहिलेकाहि-
मन, तँ बरु सिसाको भैदिएको भए हुन्थ्यो
टुक्र्याउनेको हात त कट्थ्यो।
मन, तँ बरु मैनको भैदिएको भए हुन्थ्यो,
पगालेर फेरी जोड्न त मिल्थ्यो।

अहिले सोच्छु-
अहँ,
मेरो मन त बरु ढुङ्गाको भैदिएको भए हुन्थ्यो
न टुक्रन्थ्यो, न पग्लन्थ्यो।

जस्तो भएपनि मेरो मन मलाई नभई नहुने थियो।