“राजधानी, सपना र खरानी”-बानेश्वरको छत बाट- Part 6- सुमी Jr.

“राजधानी, सपना र खरानी”-बानेश्वरको छत बाट- Part 6- सुमी Jr.

६. राजधानी, सपना र खरानी

राजनीति पढेर-कडा बोलेर खतरा नेता बन्छु अनि देश बदल्छु भन्ने कलिला सपनाहरु, भ्यागुताको डिसेक्सन गरेर सर्जन नै बन्छु होला जस्तो लाग्ने उत्साहहरु, अकाउन्ट पढेर ए.सी. मा बसेर काम गर्छु भन्ने कल्पनाहरु; यस्तै उस्तै कलिला सपना हरु देख्ने कलिलो उमेरमा राजधानी छिर्दा कलंकीको जाम मैले देख्दै देखिन, शायद निद्रामा थिए, तिनै सपनाहरुलाई काँटछाँट गर्दै थिएँ होला|
राजधानीको उज्याला रातहरुमा खै कुन अन्धकारमा गएर मेरा सपनाहरु जाकिए म आफैलाई याद छैन| याद भएको भए शायद सिगरेट तान्दै गर्दा ति छुटेका सपनाहरुलाई पनि खर्लप्पै निल्थे होला| शायद, सपनाहरु कुनै एस-ट्रे मा थन्किएका छन्| शायद, चिया पसलहरुको भुइँमा लम्पसार परेका छन्, पशुपतिको घाटमा अस्तु लम्पसार परे जसरि|

मैले त मेरा पनि सपनाहरु थिए भन्ने नै बिर्सेको| राजधानीका सडकहरुमा हिड्दा, जब छेवैबाट निस्पट्टै कालो धुँवा उड्छ अनि म सकेसम्म आफ्नो स्वास थुन्छु त्यतिबेला याद आउँछ कि म पनि जिउंदै रहेछु र लाग्छ शायद मेरा सपनाहरु पनि कतै अन्तिम स्वास फेर्दै होलान| मैले मेरा सपनाहरु नखोजेको हैन| पशुपतिमा बाँदरले खोस्रेको खाली परागको खोल भित्र, प्रेमको पीडा, खुसीको गहिराई, जलेर खोक्रो बन्दै गरेको लासको करंगभित्रको शून्यतामा खोजें तर अहँ कतै भेटिन मेरा हराएका सपनाहरुलाई|

]

कहाँ गए मेरा सपना, गफहरुमा अलमलिए कि, मरेर-जलेर धूँवा बनेर बिलाए कि, आँसु बनेर खसे कि, चप्पल बनेर खियिए कि, पसिना बनेर सुके कि, आखिर कहाँ गए मेरा सपना? कसलाई सोधूँ म मेरो सपनाहरुको नँया ठेगाना? मरेपछि स्वर्ग वा नर्क गइन्छ रे, मेरा सपनाहरु स्वर्गमा होलान कि नर्कमा? केहि साधुहरु भन्छन मृत्युपछि मोक्ष्य नपाउन्जेल सम्म पुनर्जन्म भैरहन्छ रे, त्यहि आशमा अडिएको छु शायद| बादलका बुट्टाहरुमा, उज्याला आँखाहरुमा, सिंहदरबार अगाडिका धुले बाटोहरुमा, बुढानिलकण्ठको चिसो सिरेटोहरुमा, पशुपतिको घाटमा, स्वयम्भूका सिढिहरुमा, थकित अनुहार पछाडिका उत्साहपूर्ण संघर्षहरुमा, चुरोट जलेर खस्दैगरेको खरानीका पाप्राहरुमा नियाल्दै हुन्छु म यहि आशमा कि कहीं कतै त मेरा सपन्हारुको पुनर्जन्म भएको होला|

क्रमश: