राजुको कम्प्युटरको करामात by विनय कुमार कसजु

chat_Vinaya Kasajoo

राजु वाषिर्क परीक्षामा कक्षामा पहिलो भयो भने उसलाई कम्प्युटर किनिदिन्छु भनेर उसकी आमाले वचन दिएकी थिइन् । तर राजुले जाँच आउनुभन्दा पहिले नै कम्प्युटर किनिदिनु पर्छ भन्ने जिद्दी गर्दै थियो । जाँचभन्दा पहिले कम्प्युटर किनिदियो भने राजुले कम्प्युटरमा खेल खेलेर समय बिताउँछ र जाँच बिगार्छ भन्ने उसकी आमालाई डर थियो । आखिरमा राजुको जिद्दीले नै जित्यो । तर उसको जिद्दीले गर्दा नै ऊ जाँचमा पहिला पनि भयो । लाखौँको सम्पत्ती पनि जोगियो ।

राजुको बुवा विदेशमा काम गर्छन् । उनकी आमा स्कुल पढाउँछिन् । बुवाले राजु र उसकी आमालाई निक्कै माया गर्छन् । उनीहरू बुवासँग दुईचार दिन बिराएर फोनमा कुरा गर्छन् र दुबैतिरको सँचोबिसँचो थाहापाइराख्छन् । टेलिफोन बुथमा गएर कुरा गर्दा धेरै खर्च लाग्ने भएकोले राजु र उनकी आमा साइबर क्याफेमा गएर कहिले इमेल पठाउँछन् भने कहिले इन्टरनेटमा च्याट गर्छन् ।

राजुको बुवाले विदेशबाट पैसा पठाउँछन् । दिनदिनै साइबर क्याफेमा गएर च्याट र इमेल गर्न दुःख हुने र खर्च पनि धेरै लाग्ने हुनाले राजुको बुवाले उनीहरूलाई कम्प्युटर किनेर घरमै राख्न पैसा पठाएका छन् । तर कम्प्युटर भयो भने राजुको पढाइ बिग्रन्छ भन्ने उसकी आमालाई डर छ ।

कम्प्युटर घरमै भयो भने पढ्न मदत हुन्छ । मन लगाएर पढ्छु । होमवर्क पनि कम्प्युटरमै गर्छु भनेर अनेक तर्क दिएर राजुले आफ्नी आमालाई सम्झाउन खोज्यो । यही कुरा उसले इमेलमा पनि लेखेर बुवालाई पठायो ।

विदेशमा विद्यार्थीहरू सबैको आआफ्नै इमेल एकाउन्ट हुन्छ र शिक्षक र विद्यार्थीहरूले इमेलमार्फत होमवर्क चेक गर्ने, पाठ र सुझाव दिने काम गर्छन् भन्ने कुरा बुवालाई थाहा थियो । यसैले उनले राजुलाई उसको जन्मदिनको उपहारको रूपमा कम्प्युटर किनिदिन इमेल पठाए । फलस्वरुप राजुले बुवाआमाबाट जन्मदिनको उपहार एउटा नयाँ लोभलाग्दो कम्प्युटर पाए ।

घरमा कम्प्युटर भए पनि टेलिफोन थिएन । इमेल इन्टरनेटका लागि साइबर क्याफे नगई सुख थिएन । यसैले राजुले घरमा टेलिफोन ल्याउने माग राख्यो । उसका बुवाले यो कुरा नमान्ने कुरै थिएन । उनीहरूले तुरुन्तै तार नचाहिने फोन लिए । त्यसबाट कुरा गर्न र इन्टरनेट चलाउन पनि सकिन्थ्यो ।

अब राजुलाई साइबर क्याफे धाउन परेन । उसका साथीहरूको माझ उसको मान र फुर्ति नै बेग्लै भयो । उसका साथीहरू उसको घरमा आउन थाले । साइबरमा गएर गेम खेल्दा पैसा लाग्ने हुनाले उसका केही साथी कम्प्युटरमा खेल खेल्न चाहन्थे । तर उनले कम्प्युटरमा गेम खेल्दिन भनेर आमासँग प्रतिज्ञाजस्तै गरेको थियो । कम्प्युटरको मनिटरमाथि उसले “यो कम्प्युटरमा गेम खेल्न खतरा छ !” भन्ने वाक्य लेखेर टाँसेको थियो । कम्प्युटरमा खेल खेल्दा के खतरा हुन्छ भनेर उसका साथीहरूले ऊसँग सोध्थे । तर राजुले उनीहरूलाई सम्झाउन गाह्रो थियो । त्यस्ता साथीहरूबाट छुटकारा पाउन राजुलाई गाह्रो भयो ।

राजुले कम्प्युटर पाउने बित्तिकै सबैभन्दा पहिले अंग्रेजी र नेपालीमा टाइप गर्न सिक्यो । अनि उसले कक्षामा टिपेका नोटहरू र होमवर्क पनि कम्प्युटरमा लेखेर राख्न थाल्यो । स्कुलमा अंग्रेजी, विज्ञान, गणित र अरू पनि विषय पठाउने केही शिक्षकहरूको घरमा पनि कम्प्युटर थियो । उनीहरूले आफ्नो पाठको तयारी र इमेलबाट पाठ दिने होमवर्क जाँच्ने काम कम्प्युटरमै गर्न थालेका थिए । राजुले पनि अब होमवर्क इमेलबाट पठाउन थाल्यो । भोलिपल्ट कक्षामा शिक्षकले राजुको होमवर्कको बारेमा अरू विद्यार्थीलाई सुनाउँदा राजु निक्कै मख्ख पर्थ्यो । राजु स्कुलबाट फर्कने बित्तिकै कम्प्युटरमा नोट सारेर होमवर्क सिध्याउँथ्यो अनि मात्रै खाजा खान जान्थ्यो । यसरी पढाइमा लगनशील भएको देखेर राजुकी आमा निक्कै खुशी हुन्थिन् । मिठोमिठो खाजा बनाएर उसको कम्प्युटरको छेऊमै राखिदिन्थिन् । राजुको मेहनत थाहा पाएर राजुको बुवाले उसलाई अर्को वर्ष मोबाइल फोन पठाइदिने खबर पठाए । मोबाइल फोन पाउने भएँ भनेर राजु खुशीले बुरुक्क उफ्र्यो ।

एक दिन राजुको घरमा दिउँस एक जना मानिस आयो । वास्तवमा त्यो मानिस घरमा कोही नभएको मौका पारेर पस्न खोजेको थियो । राजुकी आमा दिनभरि स्कुलमा हुन्थिन् । राजु पनि स्कुलमै हुन्थ्यो । तर त्यो दिन राजु जाँचको तयारी गर्न घरमै बसेर पढिरहेको थियो ।
घरमा राजुलाई देखेर त्यो मानिस पहिले त अकमकियो । तर उसले तुरुन्तै आफूलाई राजुको मामा हुँ भनेर परिचय दियो र आमा कहाँ हुनुहुन्छ भनेर सोध्यो । राजुले गाउँमा बस्ने दुई जना मामालाई त चिनेको थियो । तर यो मामालाई चिनेको थिएन ।

अपरिचित मामाले राजुसँग पानी खान माग्यो । राजु भान्छा कोठामा गएर पानी ल्याउँदा मामाले कोठाको दराजमाथि केही खोज्न लागेको उसले देख्यो । राजुलाई मामाको कुरामा शंका लाग्न थाल्यो । उसले आमासँग फोनमा सोध्ने बिचार गर्यो । तर यदि त्यो मानिस चोर बदमास हो भने उसले फोन गर्न दिने छैन भन्ने कुरा राजुलाई थाहा थियो । यसैले उसले अर्कै उपाय सोच्यो ।
राजुले त्यो मानिसलाई भन्यो, “मामा, तपाईँ आमा नआउनुभएसम्म यहीँ आराम गरेर बस्नुस् । म एकैछिन मेरो कोठामा पढदै बस्छु । केही कुरा चाहियो भने माग्नु होला ।”

राजुको कुरा सुनेर त्यो मानिस दंग पर्यो । उसले भन्यो, “हुन्छ बाबु । मेरो केही चिन्ता लिनुपर्दैन । राम्ररी मन लाएर पढ । तिम्री आमा अनाएसम्म म यहीँ आराम गरेर बस्छु ।”

राजु कोठामा गएर कम्प्युटर खोल्यो र इन्टरनेटमा कनेक्ट गरेर को साथी लाइनमा छ भनेर खोज्यो । उसका दुई जना साथी अनलाइनमा रहेछन् । संयोगले उसकै एक जना शिक्षक पनि अनलाइनमा रहेछन् ।

कोठाभित्र राजु कम्प्युटरमा व्यस्त भएको बेला नक्कली मामाले राजुको कोठाको ढोका भित्रबाट खोल्न नभिल्ने गरी बाहिरबाट बिस्तारै चुक्कुल लाइदियो । अब राजु एक्लै कोठामा बन्द भयो । नक्कली मामाले बाहिरको कोठाको दराज खोल्न थालेको आवाज राजुले सुन्यो । उसलाई डर लाग्यो । तर उसले हिम्मतले काम गर्यो ।

राजुले अनलाइनमा आएका तीनैजना र शिक्षकसँग पनि च्याटमा आफू खतरामा परेको कुरा बतायो । ‘एक जना मानिस मामा हुँ भनेर घरमा आएको छ । तर उसको चाल हेर्दा चोर्न आएजस्तो छ । तुरुन्तै आउनुपर्यो’ भनेर उसले सबैलाई सन्देश दियो ।

उसको सन्देशले काम गर्यो । नक्कली मामाले बाहिर कोठाको बन्द दराज खोल्न नसकेपछि अरू खुला दराज र टांडबाट सामान झिक्दै झोलामा राख्दै थियो । त्यही बेला राजुका शिक्षकले प्रहरीहरूलाई लिएर आइपुगे ।

प्रहरीले त्यो टिपुवा चोरलाई धेरै पहिलेदेखि खोजिरहेको रहेछ । राजुले चोर समात्न मदत गरेको हुनाले प्रहरी कार्यालयले उसलाई इनाम दियो । यसरी राजुले कम्प्युटरको निक्कै राम्रो र रचनात्मक काममा उपयोग गरेको हुनाले सूचना प्रविधि समारोहमा उसलाई सम्मान गरियो । अनि ऊ कक्षामा सबैभन्दा बढी अंक ल्याएर पास भएको कुरा त छँदैछ । अब अर्को जन्मदिनमा उसले मोबाइल फोन पाउने भएको छ । मोबाइल फोनलाई कसरी रचनात्मक काममा लगाउने भनेर ऊ अहिलेदेखि इन्टरनेटमा खोज्न थालेको छ ।

Story from Balsansar.org