लेखक संग ५ प्रश्न – Lenin Banjade

तपाईंलाई कुन नेपाली किताब सम्झिँदा ‘यो किताब चैं मैले लेखेको भए हुन्थ्यो’ जस्तो लाग्छ ?
नयनराज पाण्डेको ‘लू’ ! यो किताबले मलाई सधैं हल्लाइरहन्छ । यस्तो किताब दशकमा एकपटक लेखिन्छ ।

तपाईं कुन नेपाली किताब को सिनेमा बनेको हेर्न चाहनु हुन्छ ?
‘लू’ नै हो । यो असाध्यै सिनेम्याटिक छ । नयनराज पाण्डे आफैं पनि पटकथाकार हुनुभएकाले ‘लू’ लाई उहाँले कागजको पर्दामा बडो सुन्दर ढंगले उतार्नुभएको छ ।

तपाईंलाई एकदिनका लागि कुनै लेखक बन्न दिए तपाई को बन्न रुचाउनु हुन्थ्यो ?
म १२ घण्टा पारिजात र १२ घण्टा शंकर लामिछाने बन्थें । यी दुई सर्वकालीन हस्तीबाट आफूमा शिल्प र लालित्य ट्रान्सफर गर्थें र नेपाली साहित्यमा राज गर्थें 🙂

बिदाको बेला तपाईंलाई कुन ठाउँ घुम्न जान मन पर्छ ?
मेरो घर । वर्षमा एकपटक जान पाउने घरजत्तिको सुन्दर अरु कुनै गन्तव्य छैनन् मेरा लागि । मलाई म हुर्केको, म खेलेको, मैले आफ्नो यौवन बिताएको घर सबैभन्दा प्यारो लाग्छ र गइरहन पाऊँ जस्तो लाग्छ । रारा, पोखरा, सौराहा र नगरकोटबाहेक अन्त घुम्नकै लागि गएको पनि छैन अहिलेसम्म !

लेखक नभएको भए के हुने सपना देख्नुहुन्थ्यो ?
म गाउन साह्रै रहर गर्ने मान्छे हुँ । संगीत सिक्ने रहर सधैं रहरमै सीमित भयो । बेला-बेला घरमा चिच्याएर गाउँछु पनि । पत्नीले त मन राख्दिन राम्रो छ भनिहाल्छिन्, छोरोले चाहिँ ‘गन्दा गाउनुभो बाबाले’ भन्दिन्छ र चुप लाग्छु !

 

Lenin Banjade is an upcoming writer. He has written many short stories. You can read his stories at lendaai.wordpress.com. He recently featured at Kathakram along with Nayan raj Pandey where he read “Affariganj” in front of a live audience.