“Cheena Harayeko Manche” book review

Hari Bhansa Acharya

आत्मकथा लेख्दा लेखक इमानदार हुन पर्छ कि पर्दैन ? प्रश्न सर्वव्यापी रहिआएको छ । जीवनका केही रहस्य आफैसँग राख्नुपर्ने वाध्यता भएपनि लेखक इमानदार नभए उनको मनले पुस्तकलाई ‘आत्मकथा’ भन्न नदेला । यी वाध्यताबाबजुद, इमानदारीतासँगै पुस्तकमा लेखकको विचारधारा पनि देखिनुपर्छ जुन अन्तरमनबाट उकुसमुकस भएर पोखिएको होस् । यति भएन भने त्यो पुस्तक आत्मकथा नभएर ‘अर्कैकथा’ हुन के बेर ?

अभिनयका सम्पूर्ण खुड्कीलाहरू पार गरेर लेखकको दज्र्यानी चिन्ह हासिल गर्दै हरिवंश आचार्य ‘चिना हराएको मान्छे’ पुस्तक सहित देखिएका छन् । यस आत्मकथामा उनका जीवनवर्णनहरू पढ्दा लाग्छ, इमानदारीपूर्ण ढङ्गमा प्रस्तुत भएर हरिवंशले आत्मकथा लेखक हुनुको धर्म पूरापूर निभाएका छन् ।

राष्ट्रको बहुचर्चित कलाकारले के खाला, के लगाउला, कस्तो सपना देख्ला– आम मानिसलाई जिज्ञासा लागिरहन्छ । पाठकलाई आचार्यले दिएको यो कोसेलीले ती सबै जिज्ञासा पूरा गर्न सहयोग गर्नेछ । पढिसकेपछि मानिसलाई लाग्नेछ, हरिवंश आचार्य एउटा खुला किताब हुन् जसलाई सबैले सजिलै पढेर बुझ्न सक्छन् । उनी पनि सामान्य मानिसले झैँ खान्छन्, बोल्छन्, सोँच्छन् र सपना पनि देख्छन् । रमाइलो बाल्यकालको विवरणसहित सुरु भएको पुस्तक पढ्दा पाठकलाई हरिवंश तिनकै अगाडि सशरीर उपस्थित भै टेपरेकर्डले झैँ आफ्ना संघर्षपूर्ण जीवनकहानी बकिरहेको जस्तै लाग्छ । फरकफरक प्रसंगअनुसार ५३ ओटा अध्यायमा बाँडिएको किताबमा हरिवंशको जन्म, चकचके बानी, पारिवारिक झमेला, बैंशालु दिनका मनोभाव, कलाकारिता यात्रा र त्यसको निरन्तरता, राजपरिवारसँगको भेटघाट, विदेश यात्रा, पत्नीवियोगमा कुँडीएको मन र पुनर्विवाह आदि गरी गम्भीर तथा रमाइला कुराहरू छन् ।

हरिवंशको जीवन किस्साहरू पढ्दा पाठक रुँदारुँदै हाँस्छन् र हाँस्दाहाँस्दै रुन्छन् पनि । यो आत्मकथा एउटा टुहुरो केटोको कथा हो, चञ्चले युवाको कथा हो, देशको प्रतिष्ठित कलाकारको कथा हो, मुलुकका प्रत्येक राजनीतिक परिवर्तनमा सक्रिय एउटा देशभक्तको कथा हो जसले देशलाई गुन लगाएको छ । पत्नीबियोगमा संघर्ष र दुख्खसँग जबरजस्त लाप्पा खेलेको एउटा दुखी अधबैँशेको कथा हो र मुर्झाएर फेरि तंग्रिएको पतिको कथा पनि हो ।

काभ्रे जिल्ला पुख्र्यौली घर भएका हरिवंश काठमाण्डौँमा जन्मन, हुर्कन, पढ्न, लेख्न र संघर्ष गर्न पाए र देशको ठूला कलाकार भए । जनताले तिरिनसक्नु गुन लगाए । जीवनमा उनले गरेका संघर्षहरू देख्दा लाग्छ उनी चरम संघर्ष गर्न सक्ने मानवका अनुपम नमुना हुन्, भन्छन्, ‘थाहा छैन, जिन्दगीमा अझ कति दुख्ख र सुख्ख पाउनु छ । म चिना हराएको मान्छे !’ सानै हुँदा बाआमा स्वर्गे भएपछि दिदीहरूसँगै हुर्कीए उनी । बाआमाको काखमा लडिबुडी गर्न नपाउँदा बच्चा पक्कै पनि उग्र हुन्छ, बढी स्वतन्त्र भएको अनुभव गर्छ । तर उमेर हुँदै गएपछि पिरलोहरूले थिचिएको महसुस गर्छ । हरिवंशलाई पनि त्यस्तै हुनुथियो, भयो ।

उल्लिखित सुख र दुखका किस्साले पुस्तकलाई कहिँकतै पट्यारलाग्दो बनाएका छैनन् । एसएलसी परिक्षा दिँदा उनको संघर्ष, भारत भ्रमण गर्दाको प्रसंग, गाइजात्रे महोत्सवमा सहभागिताका कथाले पेट मिचिमिची हँसाउँछन् भने पत्नी मीरा बिरामी हुन थालेपछि उनले झेलेको मानसिक तनाव र उनको मृत्युपछिको अवस्था वर्णन पढ्दा पाठकका आँखाका डील आँसुले टम्म भरिन्छन् ।

साढेतीन दशकयताका पार्टनर मदनकृष्णलाई दिल खोलेरै असली प्रतिद्वन्द्वी भन्न सकेका छन् उनले । यो उनको इमानदारीताको चरम बिन्दु हो । राष्ट्रबैंकको एउटा कार्यक्रममा छुट्टाछुट्टै प्रतिभा देखाउन गएका दुई प्रतिद्वन्द्वी केही बेरमै जीवनभरका सहकर्मी हुन्छन् । हरिवंशले आफू सहि समयमा जन्मिएको बताउँदै आफ्ना अघिल्ला पुस्ता, आफूसँगैका पुस्ता र आफूपछिका पुस्तासँग कसरी सँगै काम गरिरहेका छन् त्यसको लेखाजोखा पनि राखेका छन् । सारा नेपालीलाई आफन्त ठान्दै सबै कुरा छर्लङ्ग भनेका छन्, केही लुकाएका जस्तो लाग्दैनन् । एउटा परिवारले ढोका थुनेर गर्नुपर्ने वार्तालाप पनि उनले सबैलाई सुनाएका छन् ।

राजनीतिक प्रसंग लम्बेतान भएजस्तो लागेपनि धेरैजसो रमाइलै छन् । भारतबारे उनले दिएको कडा प्रतिक्रिया आश्चर्यजनक छ, भन्छन्, “भारतको कुनै मुख्यमन्त्रीले दिल्ली हल्लाउन सक्छ तर नेपालको प्रधानमन्त्रीले भारतको स्वीकृतिबेगर काठमाण्डौँ पनि हल्लाउन सक्दैन ।” देशका प्रत्येक आन्दोलनहरूका साक्षी र सहभागी हरिवंशले देशले भोगेको भूत र वर्तमानको सहि वृत्तान्त दिएका छन् । राष्ट्रप्रेमी र इमानदार नागरिकलाई लागेका उकुसमुकुस पोख्ने गतिलो मञ्च पनि सावित भएको छ यो पुस्तक हरिवंशलाई ।

आत्मकथा नितान्त नीजि भएपनि उनले व्यक्तिगतबाहेकका आफ्ना कर्मक्षेत्रसँग गाँसिएका प्रसंगहरूमा ‘म’ होइन ‘हामी’ भएर प्रस्तुत भएका छन्, र धेरै ठाउँमा लाग्छ यो ‘मह’ जोडीको आत्मकथा हो । आफ्नो जोडीलाई गरेको श्रद्धाको चरमबिन्दु मान्नुपर्छ यसलाई । देश बनाउन हरकालमा लागिपरेका यिनले राष्ट्रपतिको हातबाट ‘मह’लाई राष्ट्रिय सम्मानको आस गरेका छन्, जुन आफैमा उचित पनि छ ।

आकर्षक कभरको अघिल्लो भागमा हरिवंश एउटा सामान्य मानिस देखिन्छन् भने त्यसको पछिल्लो भागमा उनको कर्मक्षेत्रको प्रतिबिम्ब झल्किएको छ । पुस्तकका अध्यायहरू आफैमा स्वतन्त्र छन् । तिनलाई तासझैँ फिटेर पढे पनि असहज महसुस हुँदैन । भाषागत रूपमा सामान्य लाग्ने यो पुस्तक देशको प्रतिष्ठित कलाकारको वास्तविक पाण्डुचित्र हो । यस्ता कलाकारबारे जान्ने चाह धेरैले गरिरहेका हुन्छन् । पुस्तकले ती मानिसको जिज्ञासाभाव मेटाउन सहयोग गर्दै पाठकहरूको संख्या ह्वात्तै बढाएर पठन संस्कृतिलाई उच्च बनाउन मद्दतकारी ठहरिन पनि सक्छ । पुस्तकको बाहिरी र भित्री कलेवर, प्रस्तुती र शैली आकर्षक छन् । तर दर्जनौँ ठाउँमा भएका साना–मसिना भाषिक त्रुटीहरू गाँसमा ढुङ्गा बनेर दोहोरिरहन्छन् । पुस्तकले पस्केको खाना मीठो छ तर भाषिक त्रुटीको रूपमा दाँतमा बारम्बार मसिना ढुङ्गा बजारिन आउँछन् । यसले एउटा प्रश्न जन्माउँछ, हामीले त्रुटीरहित पुस्तक कहिले पाउने ? जेहोस्, देशले पाएको सच्चा र प्रतिभाशाली कलाकारको इमानदारीतापूर्ण बयानको रूपमा यो पुस्तकले पाठकको मन सजिलै कब्जा गर्ने अड्कल गर्न सकिन्छ ।

Book review by CP Aryal (सिपी अर्याल).
Image source: Ajit Baral’s Twitter page