CP Aryal’s review of Tuin

Tuin by Suresh Pranjali
माओवादी विद्रोहले के के कुरा दिएर गयो? के के कुरा नदिएरै गयो? कतिको सपना तुइन चुँडिएर झ्वाम्म कर्नालीमा बगेझैँ सुलुलु बगाएर लग्यो? अनि, कतिको विपना पूरा गर्‍यो? यसको यकिन लेखाजोखा सायद कोहीसँग छैन। द्वन्द्वको घाउ र त्यसले निम्त्याएको पीडाको लेखाजोखा भने भइरहेकै छ, साहित्यमार्फत। त्यही द्वन्द्वको सेरोफेरोमा बुनिएको कथा हो, तुइन।

सशस्त्र युद्धको दुःख र मालतीसँगको प्रेमको सुखबीच हुर्किरहेको भूमिराजको कथा छ, तुइनमा। आफू बाँचेका सम्पूर्ण परदिृश्यलाई उत्कृष्ट ढंग र इमानसाथ बयान गर्दै भूमिराजले युद्धग्रस्त र भोको जुम्लाको गीत गाइरहन्छ। ऊ एउटा दुःखी पात्र हो। दुःखहरूबाट ओझेलिन ऊ निरन्तर यात्रा गररिहन्छ, बन्दुकबाट जोगिन यायावरझैँ कताकता घुमिरहन्छ। यद्यपि, उसले बाँचेको जीवन सधैँसधैँ ‘आइरोनिक’ साबित हुन्छ। ऊ दुःख, पीडा, भोक र बन्दुकको छायाँबाट टाढिन निरन्तर हिँडिरहन्छ तर तिनै कुराले उसलाई पछ्याइरहन्छन्। भन्छ, ‘म जुन अँध्यारो चिर्न हिँडेको थिएँ, आज त्यही अँध्यारोले मलाई चिरेको छ, चिराचिरा पारेर। कर्नालीमाथिको आकाशमा बारुदको बादल लागेर आँसु र रगतको झरी पार्न थालेपछि भागेको थिएँ, भाउजूलाई एक्लाएर।’

कुनै पनि पात्रले सजिलो मृत्यु मर्न पाएका छैनन्। न त जिउन नै पाएका छन्। भूमिराजकी भाउजू, आमा, बा, दिदी र केही साथीहरू सबै सबै जुम्ली हुनुको सकसमा छन्। कर्नाली नदीमाथि झुन्डिएको तुइनले जुम्लीको सपना र विपना हाडखोर नभेटिने गरी सर्लक्कै बगाएर लैजान्छ। तुइन भनेको त सेतु हो, जसले सम्बन्धहरूलाई, किनारहरूलाई जोड्ने मात्र काम जानेको हुन्छ। तर, कर्नालीको तुइनले त्यही एउटा काम कहिल्यै गर्न जान्दैन। सम्बन्धहरूलाई, दुःखी मानिसहरूले देखेको सपनालाई चुँडाउँछ मात्रै। जोड्दै जोड्दैन। लाग्छ, कर्नालीको तुइन एउटा भोको अजिंगर हो !

उपन्यासको वर्णनात्मक भाषा सशक्त छ। यद्यपि, पात्रहरूबीच जुम्ली भाषिकामार्फत हुने संवाद सबैतिर सजिलै बुझ्न सकिने खालका छैनन्। पुस्तकमा प्रयुक्त जुम्ली भाषिकाका केही शब्दका अर्थ अन्तिम पृष्ठमा खुलाइएका छन् तर ती पर्याप्त छैनन्। अझ धेरै शब्दावलीहरू खुलाइएको हुनुपथ्र्यो। त्यसले संवादको अर्थ थाहा पाउन सजिलो बनाउँथ्यो। जनताको सेवामा जुम्लामा खटिएका कर्मचारीहरूको बदमासी पढ्दा पाठकहरू धुरुक्कै हुन्छन्।

कोसौँ हिँडेर केही किलो चामल लिन गएका भूमिराज र उसका बालाई चामल नदिएर ती कर्मचारीले भट्टीमा रक्सी बनाउन चाहिँ सयौँ किलो चामल दिन्छन् ! देशमा भइरहेका कुरा यस्तै छन् र त उपन्यासमा त्यही कुरा देखाइएको छ। उपन्यासमा अनगिन्ती ‘वानलाइनर’हरू छन्, जसले प्रत्येकजसो पृष्ठमा एउटा अलग्गै मीठास छोड्न सकेका छन्। यसै गरी मालती र भूमिराजको प्रेम पस्किने लेखकीय शैली उत्कृष्ट छ। यद्यपि, मालतीसँग भूमिको भेटै नगराई पुस्तक अन्त्य गर्दा पाठकहरू खिन्न हुन सक्ने ठाउँचाहिँ छ। जीवन सोचेजस्तो कहाँ हुन्छ र ! जिन्दगीको चौघेराभित्रै त छ।

कर्नाली नदीछेउमै बगिरहे पनि जुम्लीहरू सधैँसधैँ तिर्खाएरै बाँचिरहेछन्। युगौँदेखि उनीहरूलाई तिर्खा छ, विकास र शिक्षाको। उनीहरूलाई तिर्खा छ भोकमरी र पछौटेपन मेट्ने। तर, तिर्खाएका जुम्लीलाई कसैले एक अञ्जुली पानी पनि उभाएर दिन सकेको छैन। देशमा चलेको दसवर्षे द्वन्द्व र विकट पहाडी भेग हुनुको दोहोरो मारमा परेको जुम्ला र त्यहाँका स्थानीय बासिन्दाको पिरको कथा भनिसाध्ये छैन। तिनै कथाको केही अंश तुइनले इमानपूर्वक प्रस्तुत गर्न सकेको छ।

एउटा लेखकका लागि अमूल्य रत्न उसले आफ्ना लेखाइमा बोकी हिँड्ने शैली नै हो। केही वर्षअघिसम्म साहित्यिक र गैरसाहित्यिक पत्रिकामा देखिने प्राञ्जलीको कथा लेखन शैली र अहिले आएर यस उपन्यासमा देखिएको उनको पाण्डित्य हेर्दा लाग्छ, यी लेखकले आफ्नो शैलीलाई पूरै १ सय ८० डिग्रीमा परविर्तन गरेका छन्। पहिलेका रचनामा उनी एकदम लामा वाक्य, जटिल संरचना र अप्ठ्यारा सिद्धान्तको भीडभाड मच्चाउँथे। तर, यस उपन्यासमा ती सबै विशेषतालाई चटक्कै माया मार्दै छोटा वाक्य, सजिला संरचना र मन छुने वर्णनसाथ प्रस्तुत भएका छन्। थुप्रै प्रसंगमा पाठकले बजारमा स्थापित एक वा दुई उपन्यासकारको शैलीको गन्ध भने जरुर पाउनेछन्। उनको यो लेखकीय छलाङ हो वा बजारमा पाठकले जे खोजेका छन्, त्यस्तै स्वाद पस्किने बठ्याइँ, त्यसबारे उनको आगामी लेखन शैलीले बताउला।

समग्रमा, उपन्यास उत्कृष्ट हुनुका थुप्रै मानक छन्, मीठो भाषा, चुम्बकीय शैली, सरल प्रस्तुति र तारिफयोग्य पात्रचित्रण। यिनै विशेषणले तुइनलाई एउटा उत्कृष्ट पुस्तकको आकार दिन सघाएका हुन्। र अन्त्यमा, भूमिराजको प्रश्नको उत्तर कसले दिन सक्ला?

‘सस्ता दबाइका गोलीभन्दा बन्दुकका महँगा गोली पाइने किन होला कर्नालीमा? सस्ता गोली खान नपाएर ज्यान गुमाउनुपर्ने किन होला कर्नालीमा?’
CP Aryal blogs at http://cparyal.blogspot.com/