Excerpt from Suresh Pranjali’s “Tuin”

Tuin by Suresh Pranjali

FinePrint’s latest publication is “Tuin” by Suresh Pranjali. Here is an excerpt that appeared in Kantipur on Falgun 2. To read the whole excerpt, visit Kantipur’s page

गाउँमा अचानक झाडापखालाको महामारी फैलियो । कुचाले कसिङ्गर बढारेझैं मान्छे बढार्न थाल्यो । गाउँका हरेकजसो घरका एक न एकजना मरेर सबैजसो जुठा परे । कतिपय परिवारका त सबै सदस्य नै मरे । घरभित्रै लास कुहिन थालेपछि गाउँभरि दुर्गन्ध फैलियो । गोठमा बाँधेका डिँगा खान नपाएर कराउन थाले । खोलेर वनतिर छोडिदिने मान्छे पनि भएनन् गाउँमा । झन् लास कसले फाल्ने ! कति चौपाया त दाम्लामा परेर मरे ।

गाउँमा कि केटाकेटी थिए, कि त बूढाबूढी । पाखुरामा बल हुनेजति कोही बन्दुक बोकेर हिँडेका थिए । कोही बन्दुक बोकेर हिँड्नुपर्ने डरले सहर र इन्डिया भागेका थिए । उमेर घर्किएकाबाहेक मलामी जाने पनि मान्छे थिएनन् गाउँमा । हल पनि उमेर घर्किएका र आइमाई-केटाकेटीले नार्न थाले । तिनै उमेर घर्किएकालाई पनि हैजाले भकाभक टिप्दै लैजान थाल्यो । गाउँ पातलिँदै गयो, रित्तिन मात्र बाँकी रह्यो । त्यही मेसोमा मेरी आमालाई पनि च्याप्प समात्यो हैजाले । छाड्दै छाडेन ।

उँधैउँभै तारन्तार भइरह्यो । व्यथाले चेप्न थालेपछि आमा पानीपानी भनेर छट्पटाउँथिन् । छरछिमेकका बाहरूले त्यस्तो बेला पानी खान हुँदैन भनेर एक घुट्को मुखमा हाल्न दिँदैनथे । स्कुलमा भने झाडाबान्ता भएको बेला टन्न पानी खानुपर्छ भनेर पढाएका थिए सरले । मौका छोपेर कान्छाबालाई स्कुलमा सरले सिकाएको कुरा भनें, ‘कान्छाबा, स्कुलमा त पखाला लागिया बेला नुन र चिनी हाल्योर मस्तै पानी खानुपड्छ भुनीकन पडायाका छिया सरले ।’

मेरो कुरा न उनले सुने, न अरूले । सबैले बेवास्ता गरे ।

पानी नपाएपछि तिर्खाको तोडले अमारिन्थिन् आमा । म भने गहभरि आँसु पारेर टुलुटुलु हेरिरहन्थें, केही गर्न सक्दैनथें । चार दिनसम्म पनि उनले औषधिको रङ देख्न पाइनन्, न त गन्ध नै सुँघ्न पाइन् । दिनभर रातभर कहराइरहिन् । माइलाबा र कान्छाबा भएर धामीसँग जोखना हेराए । झारफुक गरे । मसान फाले । मस्टो देउतालाई उठाए । तर, थला परेकी आमालाई उठाउन सकेनन् ।

पाँचौं दिन बिहानै आमाले हातको इसाराले भाउजूलाई डाकिन् र सुकेको स्वरमा अड्कीअड्की भनिन्, ‘ठूली, यो कान्छोलाई राम्रो स्याहार गरेइ, सानै छ तोसित सुताएइ ।’

‘कान्छा तो राम्रै गरी पड्नू,’ आमाले मेरो टाउको सुम्सुम्याउँदै भनिन्, ‘भाउजूकन दुख्ख नदिएइ… ।’ त्यसपछि केही बोल्न सकिनन् आमा । वाक्य बस्यो । हालत पनि चौपट्टै बिग्रेको थियो । निधारमा नीला नशा देखिए । भासिएर ओढारजस्ता भएका आँखा घुच्चुकतिरबाट निस्किन्छन् कि झैं लाग्थे । नानी फुर्सा भएका । चेहेरा पहेंलिएको । दुवै ओठ कलेठी परेका । मुजा परेको अनुहार फुङ्ङ उडेको । गालाका हड्डीले छाला छेडेर बाहिर निस्कन मात्र बाँकी थियो । पेट सारङ्गीजस्तो भएको थियो, हातखुट्टा सुकेर निगालाजस्ता । दुब्लाएर सिन्काजस्ती भएकी थिइन् आमा । हाड र छालाबाहेक केही थिएन जीउमा ।

बिचरी मेरी आमा, ओच्छ्यानमा सुत्दा पनि आफ्नै हाडले बिझाउँदो हो ! सदरमुकामको स्वास्थ्य चौकीसम्म पुग्न पूरै दिन हिँड्नुपथ्र्यो । केही सीप नलागेपछि डोको काटेर खलङ्गाको स्वास्थ्यचौकी लैजाने तयारी भो । तर, आमा जान मानिनन् । उचाल्न लाग्दा सुकुलको बिट समातेर टीठलाग्दा आँखाले बालाई टुलुटुलु हेरिरहिन् । बा पनि केही बोल्न सकेनन्, पिल्पिलाएका आँखाले आमालाई हेरिरहे । हेर्दाहेर्दै आमाले हिक्क गरिन्, घाँटीमा केही अड्किँदा जसरी । उनको अनुहारमा ग्रहण लाग्यो ।

त्यसपछि, हतारहतार कान्छीआमाले गोबरमाटोले आँगनको दाहिने टुँडो लिपिन् । आमालाई पिँडीबाट ओच्छ्यानसितै उचालेर लिपेको ठाउँमा ल्याएर सुताए । ‘अब टाला फेरिदिनु, कोरीबाटी गरिदिनु पडो,’ जेठाबाले भने, ‘क्या खान्या मुन छ सोध्नु पडो ।’ माइला बाले सोधे । तर, वाक्य नै बसिसकेकी आमाले यस्तोउस्तो खान्छु भन्न सकिनन् । खाने मन त के थियो, कुन्नि ! मलाई लाग्यो, उनलाई पेटभरि पानी खाने मन भने पक्कै छ होला !

Image source: eKantipur
Text source: eKantipur