Excerpts from Sudheer Sharma’s Prayogshala

prayogshala

काठमाडौ, भाद्र २९ – कान्तिपुर दैनिकका प्रधानसम्पादक सुधीर शर्माको नयाँ पुस्तक ‘प्रयोगशाला: नेपाली संक्रमणमा दिल्ली, दरबार र माओवादी’ असोज ६ गते फाइनल प्रिन्टबाट सार्वजनिक हुँदै छ । देशको निकट विगतमाथि लेखिएको उक्त पुस्तकबाट यो अंश लिइएको हो ।

२०६६ भदौ १, नयाँ दिल्ली । त्यस्तो बेतोडको आँधीबेहरी मैले कहिल्यै देखेको थिइनँ । भारतको यो हरियालीयुक्त राजधानीमा रूखहरू लडेर सडक जताततै अवरुद्ध भएको थियो । हामी निकै ढिलो मात्र पुग्यौं मानसिंह रोडको ताजमहल होटलमा । धन्य, हामीले भेट्न खोजेका मान्छे एक घन्टादेखि पर्खिबसेका रहेछन् ! उनी थिए- ‘र’ का पूर्वप्रमुख पीके हर्मिज थाराकन, जसले माओवादी- सात दल १२ बुँदे समझदारी निर्माणमा नेपथ्यबाट निर्णायक भूमिका खेलेका थिए ।

हामी अर्थात् ‘दि काठमान्डु पोस्ट’का सम्पादक अखिलेश उपाध्याय र म एकजना भारतीय सम्पादक मित्रको सहयोगमा उनलाई भेट्दै थियौं । हर्मिज त्यसै दिन बैङ्लोरबाट आएका थिए । हामी ताजकै भुइँतलाको मचान रेस्टुरेन्टमा छिर्‍यौं ।

‘मैले तपाईंका लेखहरू पढेको छु । तपाईंको बारेमा टमीले पनि कुरा गथ्र्यो,’ हर्मिजले कुराकानी थाले । टमी अर्थात् थोमस म्याथ्यु, लामो समय ‘हिमाल साउथ एसियन’मा एसोसिएट एडिटर थिए, अनि मचाहिँ नेपाली ‘हिमाल’ पाक्षिकमा काम गर्थें । तिनै थोमस उनका निकट नातेदार रहेछन् । कुरा हुँदै जाँदा बुझियो- हर्मिजलाई हाम्राबारे धेरै कुरा थाहा रहेछ । हुन पनि उनी भारतको गुप्तचर निकायको ‘चिफ’ भइसकेका व्यक्ति, त्यसमाथि झन्डै दुई वर्ष (२०५६-५८) त काठमाडौंमै ‘र’ को स्टेसन चिफ भएर बसेका ।

अग्लो शरीर, मोटो फुलेको जुँगा, नम्र बोली, दक्षिण भारतीय छनक आउने भद्र व्यक्तित्व- हर्मिज कतैबाट पनि जासुसको नाइकेजस्ता लाग्दैन थिए । तर पेसागत कीर्तिमानले उनलाई सफल गुप्तचर अधिकारीका रूपमा स्थापित गराएको थियो । नेपालबाट राजतन्त्रलाई बिदा गर्ने गरी दिल्लीको नीति मोड्नमा उनीसमेतको महत्त्वपूर्ण भूमिका थियो ।

सन् १९६७ ब्याचको केरला क्याडरका आईपीएस अफिसर हर्मिजले संयोगवश त्यसै दिनदेखि ‘र’ प्रमुखको कार्यभार सम्हालेका थिए, जुन दिन राजा ज्ञानेन्द्रले सत्ताहरण गरे । २०६१ माघ १९ को त्यो बिहान ‘र’ निर्देशकका रूपमा उनले आफ्ना ‘बोस’ प्रधानमन्त्री मनमोहन सिंहलाई दिनुपरेको पहिलो ‘बि्रफिङ’ नै ज्ञानेन्द्रको ‘कू’ सम्बन्धी थियो । त्यसपश्चात् दुई वर्ष उक्त पदमा रहुन्जेल नेपाल उनको प्राथमिकताबाट हटेन । त्यही अवधिमा नेपाली राजनीति ठूलठूलो उथलपुथलबाट गुजि्रयो ः १२ बुँदे समझदारी, माओवादी-सात दल सहकार्य, दोस्रो जनआन्दोलन, माओवादीको मूलधारमा प्रवेश, शान्तिप्रक्रिया, संविधानसभा निर्वाचन, गणतन्त्र घोषणा आदि । यी सबैमा हर्मिजको नदेखिने भूमिका कुनै न कुनै रूपमा जोडिएकै थियो ।

हामीले भेट्दा हर्मिज ‘र’ बाट सेवानिवृत्त भइसकेका थिए, नेसनल सेक्युरिटी एड्भाइजरी बोर्डका सदस्य थिए । उनले करिब दुई घन्टाको अनौपचारिक छलफलमा नेपाल-अनुभूति खुलेरै बताए । ‘नेपालमा जेजति काम भयो, त्यसको मुख्य श्रेय प्रधानमन्त्री मनमोहन सिंहलाई जान्छ । उहाँले हामीलाई जहिले पनि पुरानो ढर्राबाट नभई फरक तरिकाले सोच्न र काम गर्न प्रोत्साहित गर्नुभयो ।’ हर्मिजले आफ्नो राजनीतिक नेतृत्वको प्रशंसा गर्दै भने, ‘१२ बुँदे समझदारी विशेष परिस्थितिमा भएको थियो । धेरै कुरा मिलेकाले मात्र त्यो सम्भव भएको थियो । इतिहासमा घरीघरी त्यस्तो अवसर आउँदैन, सम्भव पनि हुँदैन ।’

माओवादीलाई मूलधारमा ल्याउने र राजतन्त्रलाई पाखा लगाउने गरी भारतीय नीतिमा आएको परिवर्तनको जस हर्मिज एक्लैले लिन चाहेनन् । ‘त्यो मैले एक्लै पनि गरेको होइन, त्यसमा धेरै जनाको महत्त्वपूर्ण भूमिका थियो’ भन्दै उनले माक्र्सवादी कम्युनिस्ट पार्टी (सीपीएम) का महासचिव प्रकाश करात र सीताराम यचुरीदेखि राष्ट्रवादी कङ्ग्रेसका डीपी त्रिपाठीलगायत थुप्रैको भूमिका स्मरण गरे ।

नेपालका माओवादी नेताप्रति उनको ठूलो आशा र भरोसा रहेछ । ‘मैले नेपालका लगभग सबै प्रमुख नेताहरूसँग अन्तरक्रिया गरेको छु । तीमध्ये सबभन्दा उल्लेख्य राजनीतिक इच्छाशक्ति माओवादी नेतृत्वमै देखेको छु । खासगरी बाबुराम भट्टराईसँग मेरो निकै अपेक्षा छ ।’

भारतीय प्राध्यापक एसडी मुनिका भनाइमा, बाबुराम र हर्मिजको परिचय पुरानै हो । ‘माओवादीहरू र ‘र’ बीच उत्कृष्ट समझदारी हुनुमा ‘र’ का नयाँ प्रमुख हर्मिज थाराकन र बाबुराम भट्टराईबीचको राम्रो व्यक्तिगत सम्पर्कले पनि सहजीकरण गरेको थियो,’ ती दुवैलाई नजिकबाट चिन्ने मुनिले लेखेका छन्, ‘थाराकन राजनीतिक रूपमा प्रगतिशील थिए र नेपालका माओवादीले नेपालको सामाजिक-आर्थिक रूपान्तरणका निम्ति साँचो सङ्घर्षको अगुवाइ गरिरहेको रूपमा हेर्थे ।’

Image source: http://samudrapari.com/wp-content/uploads/2013/09/prayogshala.jpg