अतीतकाे यात्राः बुद्धिसागरकाे फिरफिरे – Review By Raman Paneru

Firfire Book Review

२०६५ तिर बजारमा एउटा नौलो पुस्तक आयो । त्यसको चर्चा सर्वत्र फैलियो । त्यसबेला म एक नीजि स्कुलमा पढाउँथे । देशमा नाम चलेका पुस्तकहरु हामीकहाँ सजिलै उपलब्ध नहुने हुँदा समूह बनाएर किताबहरु किन्ने र त्यसै समूहभित्र एक अर्कालाई दिने भन्ने एउटा अमूर्त योजना थियो । त्यसअघि म कैलाली जनपुस्तकालयमा गएर घण्टौँ पुस्तकहरुमा घोत्लिन्थेँ । पुस्तकालयमा पुराना पुस्तकहरु थुप्रै भएपनि समकालीन साहित्यका पुस्तकहरु त्यति साह्रो उपलब्ध हुँदैन थिए । पुस्तकालयको सदस्य कसैले कुनै पुस्तक दान गरेछ भने बेग्लै कुरा नत्र नयाँ पुस्तक किनेर पढ्नुको विकल्प हुँदैन थियो । पुस्तक किन्नलाई पैसाको अभाव सँधै रहन्थ्यो । त्यसैले पुस्तक बाँडेर पढ्ने योजना अनुरुप पुस्तक किन्ने क्रममा स्कुलमा सामाजिक शिक्षा पढाउने कुँवर सरले पढ्न मन लागेको पुस्तकको नाम सुझाउन भन्दा कर्णाली ब्लुज भनेर भनेँ । पछि मैले सो पुस्तक किनेर पहिले कुँवर सरलाई नै दिएँ । विसाउनै गाह्रो मानेर पढ्नु भयो । ‘पिता पुत्रको सम्बन्धको गज्जब कथा छ’ भन्नु भयो।

घरमा पनि त्यो किताब खुबै चर्चित भयो । मलाई पनि किताब खुब मन पर्यो । सुदूरपश्चिमको भूगोल समेटिएको भएरै पनि त्यो पुस्तक मन परेको थियो । ‘कटासे बजार’ एकाएक पर्यटकीय गन्तब्य जस्तै भएको त्यसपछि नै त हो । दिदीका केहि साथीहरु त काठमाडौँ देखि कटासे बजार घुम्नैका लागी आएका थिए । त्यतिबेलै मैले पनि पछि केहि लेखेँ भने आफ्नै स्थानीय परिवेशको कथालाई रोज्ने छु भन्ने मनमनै प्रण गरेको थिएँ । नदेखिएको भूगोल लेखिँदा त्यस भूगोलको अस्तित्व सबैलाई अवगत गराउँछ भन्ने मेरो बुझाइ थियो ।

‘कर्णाली ब्लुज’ पछि बुद्धिसागरले धेरै कुराए । पहिलो पुस्तकले धेरै चर्चा बटुल्दा उनीप्रतिको अपेक्षा पनि चुलियो । यो अपेक्षा भन्नेकुरा एकदमै खतरनाक हुन्छ । पहिलो पुस्तकमा बुद्धिसागरसँगको अपेक्षा केही थिएन । तर त्यसमा उनले अपेक्षा भन्दा बढी दिएर गए । दोश्रो पुस्तक सम्म पुग्दा उनीसँग धेरैको अपेक्षा थपियो । त्यसैले पनि फिरफिरे बहुप्रतिक्षित र अलि बढी नै अपेक्षा गरिएको पुस्तक बन्यो ।

‘फिरफिरे’ हात पर्दा पहिले पढ्न डराएको थिएँ । मोटा पुस्तकले सँधै मेरो सातो खान्छन् । मैले पढेका नेपाली साहित्यको पुस्तकमध्ये ५३१ पानाको पुस्तक यो नै पहिलो थियो । धेरै पुस्तक पढ्ने रहर भएकाले सुरु गर्नै अप्ठेरो लागेको थियो । नियतीले उछिट्टयाएर सात समुद्र पारी पुर्याएकाले हात पार्नै पनि २ वर्ष लाग्यो । हात परिसकेपछि थाल्न गाह्रो भयो ।

पहिलो पाना सुरु गर्दा नै पुस्तकले सोझै धनगढी पुऱ्यायो जहाँ मैले मेरो बाल्यकाल बिताएको थिएँ । त्यसपछिका हरेक पानाले स्मृतीमा पुऱ्यायो । हरेक घटना र पात्रहरुले कुनै चिर परिचित पात्रको अनुहार सामुन्ने ल्याउँथ्यो । म मेरो परिवेशको कथा र बाँसवारीको कथा दाँज्थे । सायद आफू जन्मेको गाउँठाउँबाट उखेलिएकाहरुको नियती नै जिन्दगीभर ‘हृदयको झोलामा अटेसमटेस  हुनेगरी गाउँका स्मृतिहरु कोचेर’ हिँड्नु भनेर लेखिएको हुन्छ । अवसरको खोजी र सुख प्राप्तीको ध्याउन्नमा आफ्नो थलोबाट उछिट्टिएर फिरफिरे नभएका भाग्यमानीहरु सायद थोरै मात्र होलान् । बिडम्बनाको कुरा म ती भाग्यमानी मध्ये पर्दिन । गाउँ मात्रै होइन देशै छोडेको पनि ५ वर्ष कट्यो । यस बीचमा जम्मा एक पटक नेपाल पुगेको छु । अब फेरी कहिले फर्कन्छु यसै भन्न सक्दिन। त्यसैले फिरफिरेको यात्रा मेरो लागी अलि पिडादायी नै रह्यो । त्यो भन्छन् नि, खुशीको आँशु खसाल्ने खालको पठन भयो । फिरफिरे पढ्दै गर्दा आफूले लेख्दै गरेको कथा संग्रहमा पनि स्मृतिका पाना खोतलेर केही याद थप्न कर लाग्यो ।

फिरफिरे पढ्दै गर्दा नयनराज पाण्डेको ‘लू’ पनि बारम्बार सम्झना आइरह्यो । ‘लू’ पनि नेपालगञ्जकै कथा थियो । त्यसमा भएका पात्रहरुका उपनामको कथाजस्तै फिरफिरेमा पनि थुप्रै उपनामका कथाहरु जोडिएका थिए । पिच्कु माझी, चिलगारी, कोहिनुर झाँक्री, जुठी आमै, असारे बा आदि नामहरु पढ्दा ‘लू’का टूटे पण्डित र रेडियोलालहरुको याद आयो । सिमान्त समुदाय र पात्रहरुको कथा मुलधारको साहित्यको विषय बन्नुले एक किसिमको उत्साह पनि थप्यो ।

‘फिरफिरे’ले व्यक्तिगत र सामाजिक पक्षहरुलाई त समेटेको छ तर राजनीतिक घटनाक्रमको बाट भने टाढा रहेको छ । बेलाबेला राजा र राजतन्त्र कुरा छिटपुट रुपमा आए पनि त्यसको प्रचुरता भने भेटिँदैन । मुलतः ४० को दशक देखि ५० को दशकको पूर्वार्ध तिरका घटनाक्रमहरु उपन्यासमा समेटिएको छ । सायद यो पुस्तक पछिल्ला पुस्ताहरुका लागी पनि ग्रामीण परिवेशको वाल्यावस्था लागि सहायक सिद्ध हुनेछ । ‘उपमा’हरुको पनि बेजोड प्रयोग गरिएको छ ।

बुद्धिसागरसँग पुस्तक पढ्दा मोटाइको गुनासो बाहेक त्यस्तो खास गुनासो छैन । जुठी आमैलाई न्याय भएको भए र गाउँले सबैले कोहिनुरको चरित्र थाहा पाएको भए अलि राम्रो हुन्थ्यो कि भन्ने लागेको थियो । असारे बा को अन्तिम सम्म प्रतिक्षा गर्दा पनि फर्केनन् । असारे बा कै प्रसंगले मैले मेरी प्रेमिकालाई झगडा भएकै बेला पनि ऊ प्रतिको प्रेम प्रकट गरेको छु । तर ती बुढा अन्तिमसम्म पनि जुठी खोज्न आएनन् । अन्तिम सम्म जुठी आमी कतै ठोकिन्छिन् कि भन्ने आशा पनि त्यसै रह्यो। पिच्कु माझी पनि उसले मागेको नायिकाको तस्वीर हेर्न नसक्ने भएको पढ्दा अलि चाँडै जानु पर्ने भन्ने लाग्यो । हिसाब अलि नमिलेको हो कि जस्तो भान भएको थियो । यी गुनासा अरु सबै पात्रहरुको जीवन्त चित्रणको परिणाम हो । कथाको संसारका पात्रहरु जीवन्त भएर आइदिँदा वैकल्पिक अन्त्यको अपेक्षा हुँदो रहेछ ।

त्यसबाहेक पृ. ५०७ मा पवनको उमेर १६ पुगेको छ जब कि पृ ३९ मा उसको उमेर ११ वर्षको उल्लेख छ । ती दुई पानाको समय काल २०४५ साल र २०५३ सालका बिच भने ८ वर्षको फरक छ । हालको महंगाइले पुराना मोलहरुको अनुमानमा पनि असर पारेको हो कि झैँ पनि लाग्यो । नत्र ‘पोष्टकार्ड’ साटासाट त मेरो पुस्ताले पनि गर्यो। हाम्रा पालामा १ रुपैयाँमा पोष्टकार्ड पाइन्थे । पात्रहरु किशोरावस्था प्रवेश गरे पनि बालसुलभ व्यवहार रोकिएको भान भएन। पवनमा केहि परिवर्तन आएको थियो तर त्यो सहरको हावा लागेको भन्ने तर्क थियो । मुनमुन चिया खान आएको प्रसंग अलि अमिल्दो लाग्यो। ५० को दशकको पूर्वाद्धका किशोरकिशोरीहरु सायद अलि बढी नै लजालु थिए कि! शैली ठाउँठाउँमा बालकथाको जस्तै भएको भान समेत हुन्थ्यो।

यी सबै गुनासाहरुका बाबजुद मनलाई सम्झाउने एउटा तर्क भने साथमा थियोः सबै जीवन समान हुने भए फरक फरक कथा नै लेखिने थिएनन् । जे होस् आगामी दिनमा पनि यसरी नै राम्रा राम्रा उपन्यासहरु पढ्न पाइयोस् ।