“Karnali Blues” book review

Karnali Blues by Buddhi Sagar

फ्ल्यास ब्याक मा गएर कथा भनिएको र सरल भाषामा उनीएको कर्नाली ब्लुज, प्रकाशक का अनुसार ‘कर्नाली ब्लुज छोराको आँखाबाट पिता को संघर्ष देखाउने उपन्यास हो’ । तर प्रकाशक ले जे भनेपनि, आफूले बुझेको चाँहि, कर्णाली क्षेत्र को कथा, एउटा को जिवन संघर्ष जसले पढ्ने प्रत्येक पाठकलाई आफ्नो बाल्य अवस्था मा पुर्याइदिन्छ, कहिँ पेट मिचिमिचि हसाउँछ कहिले अनायासै आँशु खसालिदिन्छ ।
उपन्यास को ‘म’ पात्र को रुप मा लेखक आफैँ हामीलाई आफ्नो कथा सुनारहेका हुन्छन् । उनको जन्म सँगै उनको कथा सुरु हुन्छ । आफ्ना बाल्यकाल का रमाइला र उट्पट्याङ कुराहरु, अनि हृदयविदारक घटनाहरु उनी भन्दैजान्छन्, पढ्नेहरुलाई आफ्नै कथा झैँ लाग्छ । अनि आफ्ना ‘बा’ को जिवनचर्या पनि सँगसँगै अघि बढ्दै जान्छ उपन्यास मा !karnali blues
सुदुर तराई को गाउँ मटेरा मा उनको जन्म हुन्छ । अमौरीखोला, चन्द्रे, बा’को साइकल, कै वरिपरि कथा घुम्छ ! पार्वतीदिदी, ममतादिदी, भागिराम आदि ले पनि कथा मा आफ्नो उपस्थिति जनाएकाछन् । बाल्यकाल मा गरिएका उट्पट्याङ र रमाइला कर्तुतहरु ले कथा अघि बढेको छ, तर बिच बिच मा ममतादिदी को प्रसंग ले झस्काइदिन्छन् ।
पढाइ मा निकै लद्दु रहेका लेखक, ‘बा’ सँग डराउँछन् तर उनका सबैभन्दा प्रिय ‘बा’ नै हुन् । लेखक आफ्नो उमेर र परिस्थिति अनुसार बारम्बार आफ्ना ‘बा’ का बारेमा भन्छन् । “मेरा बा जस्ता जाति यस संसार मा कोही छैन”, “मेरा बा जस्तो राम्रो मान्छे कोही छैन”, “मेरा बा जस्ता माया गर्ने मान्छे कोही छैनन्”, “मेरा बालाई सबै कुरा थाहा छ” । टोपी, घडि देखि साइकल सम्म, ‘बा’ ले उनका लागि सजिलै उपलब्ध गराउँछन् । उनका ‘बा’ पेशाले ‘डाक्टर’ हुन् । कटासे बजार मा उनको ‘बा’ को मेडिकल थियो ।
फोटोहरु मा जुँगा बनाइदिने प्रसंग होस्, या भागीरामलाई सुर्ती खुवाएको प्रसंग या घर मा आगो लागेको प्रसंग या ममतादिदीलाई जिउँदै खाल्डो मा गाडेको प्रसंग, कहीँ लेखक ले औधि हँसाउछन् त कहीँ धर्धरी रुवाँउछन् । गाउँ मा बजारीकरण को प्रसंग बाट सुरु हुँदै, मटेरा गाउँ छाडेर उनको परिवार ‘कटासे बजार’ मा बसाइँ सर्छन् ।
कटासे बजार मा उनको साथ दिन बाटु, शिवशंकर, सद्दाम आदिहरु आइपुग्छन् । जति जति उपन्यास को कथा बढ्दैजान्छ, त्यति त्यति उनको ‘बा’ मा परिवर्तनहरु आउँदैजान्छ । उनका ‘बा’ पहिले का जस्ता छैनन् । ‘बा’ रातबिरात डुल्छन्, मेडिकल मा बिरामी आउँदा ‘बा’लाई खोज्न जानुपर्ने बाध्यता मा पुग्छन् लेखक । उनको घर मा बस्न आइपुगेकी ‘बाटु’ सँग का प्रसंग ले ‘म’ पात्र को किशोरअवस्था का धेरै कुराहरु बोल्छन् । हाँस चोरेर खाँदा, जेल मा जाकिएका प्रसंग पनि रमाइला छन् ।
कटासेबजार पनि खालि हुँदै गएपछि, र बजारीकरण को प्रभाव बढदैजाँदा, व्यापार घट्दै गएपछि, उनको परिवार ‘कालिकोट’ बसाइँ सर्छ । आमाले सुर्खेत जा’म भनेर भनिरहन्छिन् तर उनका ‘बा’ कालिकोट नै सर्छन् । डाक्टरी पेशा अँगालेका उनका ‘बा’ ले कपडा व्यापार थाल्छन् । कालिकोट प्रवेश सँगै, माओवादी जनयुद्ध को कुरा हल्का रुपमा मिसिन्छ । आर्मी, माओवादी, जरीलाल, मन्दिरे आदिहरु कालिकोटमा जोडिन आइपुग्छन् । चिट चोरेरै ‘उ’ एसएलसी पास हुन्छ । उसको साथी मन्दिरे ले प्रथम श्रेणी ल्याएको प्रसंग अनि मन्दिरे ले गाउँ छाडेको प्रसंग, निकै मर्मश्पर्शी छन् । माओवादी जनयुद्ध कै कारण, सुर्खेत मै बसेर पढ भनेर ढिपी गर्ने बा ले, ‘लेखक’ कै कुरा मा सदर गर्दै, काठमाडौँ पढ्न पठाउँछन् । बा’ को जिवनगाथा जोड्दै, कर्णाली क्षेत्र को परिस्थिति वर्णन गरिएको उपन्यास, उनको बा’को अन्त्य सँगै सकिन्छ ।
***************************************************************************
उपन्यास पढ्दै जाँदा आउने प्रसंग ले, आफ्ना बाल्यकाल सम्झाइदिन्छ। आफ्नो अतित सोच्न बाध्य बनाइदिन्छ । सायद यो नै, उपन्यास को विशेषता हो । सरल भाषा शैली मा लेखिएपनि, उपन्यास मा धेरै बिम्बहरु को प्रयोग भहेकाछन् । प्रसंग मा भन्न सुहाउने तर ‘मु…जी’ शब्दा बारम्बार दोहोरिँदा कता कता, लेखक ले पाठकहरु माथि अत्याचार नै गरेको भान हुन्छ । ठेट र क्लिष्ट शब्द प्रयोग गर्दा, रोचक हुन्छ भन्ने गलत सोच लेखक ले राखेको देखिन्छ । चिनी धेरै हुँदा तितो हुन्छ भने झैँ, ‘मु….जी’ शब्द का प्रयोगहरुले कथालाई अलि विच्छृखंल बनाइदिएको छ । ती शब्दहरु को प्रयोग कम गरिएको भए उपन्यास अझ धेरै राम्रो हुनेथियो ।
त्यसबाहेक त्यस्तै ‘यौनिक’ अर्थ दिने बिम्बहरु को प्रयोग गरिएका कारण, सबैका लागि पठनयोग्य छैन भन्दा पनि फरक पर्दैन । प्रसंगअनुसार त्यस्ता शब्दहरु, बोलिँदा विशेष अर्थ राख्लान् तर लेख्दा भने ती शब्दहरु भद्दा नै लाग्छन्, अश्लिल नै लाग्छन् । अंग्रेजी उपन्यास मा त्यस्ता शब्दहरु सजिलै राखिने र हामी ले पढ्ने गरेका कारण, ‘कर्नाली ब्लुज’ मा राखिँदा केही फरक पर्दैन भन्ने सोचाइ त होला तर पनि मेरा लागि चाँहि त्यस्ता शब्दहरु पाच्य भएनन्, सायद आफूले आजसम्म त्यसरी नबोलिएको कारण आफूलाई अप्ठेरो लागेको होला ।
त्यस्तै पात्र ‘बाटु’ को सन्दर्भ आउँदा कता कता, विपी कोइराला का कथाहरु याद आएका थिए । अनि ममतादिदीलाई जिउँदै गाडेको प्रसंग ‘मगरमामा’ बाट सुन्दा, लेखक का ‘बा’लाई झैँ आफूलाई पनि निक्कै रिस उठेको थियो, त्यस समाजप्रति ! जुँगा को प्रसंग आउँदा, पेट मिचिमिचि हाँसेको थिँए । अनि चन्द्रे ले गाउँ छाडेको प्रसंग ले, व्यथित भएको थिएँ । चकचक गरेर, घर मा आगो लाग्दा, मन कुँडिरहेको भएपनि,उसका उपद्रो को बयान ले खित्का छुटिरहेको थियो । भागिरामलाई सुर्ती खुवाएको प्रसंग आउँदा, एक छिमेकीलाई ‘भाङ’ लागेको प्रसंग दिमाग मा ताजा भएर आएको थियो । अनि अमौरीखोला उर्लेर आउँदा, आफूलाई पचास साल को बाढी को याद ले बगाइरहेको थियो । चन्द्रे लगायत साथिहरु को र स्कुल को कुरा आउँदा, आफ्ना लागि पिटाइखान पछि नपर्ने साथिहरु र, कक्षा मा अगाडि बस्न को लागि घमासान परेको, हेडमास्टर को कोठामा उपस्थित हुनुपरेको यावत् आफ्ना कुराहरु याद आए ! मोटरसाइकल बाटो मा कुद्दा, त्यसको गन्ध सुँघ्न ‘लेखक’ बाटो मा घोप्टिने प्रसंग ले, ठ्याक्कै आफ्नै बाल्यकाल सम्झाइदिए । अनि बसाइसराइ को प्रसंग ले, आफू बसाइसरिएको घटना याद गरायो ।
कर्नाली ब्लुज पढिसकिएपछि लाग्यो, आफ्नो जिवन का बाल्यकाल मा आफूले पनि निकै रमाइलो गरिएको रहेछ । खास मा आफ्ना, बाल्यकाल का स्मृतिहरुलाई लिपिबद्ध गरेर राख्ने हो भने, पछि त्यही सम्झना गरेर भनेपनि रमाइलो गर्न सकिनेरहेछ । (कुनै समय आफ्ना बाल्यकाल का प्रसंगहरु यसै ब्लग मा लेख्नेछु ) ।
कर्नाली ब्लुज मा कसैको पनि भुमिका नराखिएका कारण, सुरु मा नाम सुन्नेहरु ले पढ्न हिच्किचाएको आभाष भयो । साथै, यस का लक्षित पाठकहरु युवाहरु नै रहेको अनुमान गरेको छु । फाइनप्रिन्ट ले प्रकाशन गरेको ‘कर्नाली ब्लुज’, साजसज्जा र कागज को क्वालिटि का हिसाब ले अब्बल छ । प्रकाशक का अनुसार ‘सरस र सरल भाषामा लेखिएको यो उपन्यास भाषिक सशक्ता का लागि पनि पढिनेछ’ भनिएको छ ।
बजार मा यसरी विज्ञापन गरिएको थियो कि, कर्नाली ब्लुज बजार मा नआउनु भन्दा पहिले देखि नै चर्चा मा रहेको थियो । नागरिक का पत्रकार ‘बुद्धिसागर’, अझ भन्दा ‘स्वर्ग बंक’ देखि उनी चर्चा मा आए, धेरै ले अझै ‘स्वर्ग बंक’का लेखक भनेर नै चिन्छन् जस्तो लाग्छ । कुनै दुइमत छैन, अब बुद्धिसागर स्वर्ग बंक भन्दा पनि ‘कर्नाली ब्लुज’ का लेखक भनेर चिनिनेछन् । नेपाली साहित्य का लागि र हाम्रा लागि उनले लेखेका उत्कृष्ट कृती का लागि उनलाई हार्दिक धन्यवाद र सफलता को शुभकामना ! मेरो आग्रह, ‘कर्नाली ब्लुज’ किनेर पढ्दा, नारायण वाग्ले को ‘मयुर टाइम्स’ पढेर किनेको जस्तो थक्क मान्नुपर्दैन । अत: किनेर पढ्दा, पैसा पुर्णत असुल हुन्छ, साथ मा कर्नाली ब्लुज को ह्यांगओभर ले, आफ्नो बाल्यकाल सम्झाइरहन्छ ।

Book review by Aakar Anil.
Karnali Blues book image from Karnali Blues Facebook page