Vinaya Kasajoo’s जोन, जुठे र ड्राइभर

Vinaya Kasajoo

जुठेकी आमा विदेशी डाक्टरकहाँ काम गर्थिन् । जुठे आमासँग कहिलेकाहीँ डाक्टरको घरमा जान्थ्यो । डाक्टरको तीन जनाको परिवार थियो । डाक्टर, उनकी श्रीमती र छोरा । छोराको नाम जोन थियो । जुठेलाई जोनको मात्रै नाम थाहा थियो, किनकि उसलाई जोनले कहिलेकाहीँ खेल्न बोलाउँथ्यो ।

जोनसँग धेरै खेलौना थिए । खेलौनाहरूमध्ये उसले खरायो, कुकुर, बिरालो, चराजस्ता खेलौनाहरू त चिनेको थियो तर हिऊँमा हुने भालु, डाइनासोर, ह्वेलजस्ता जीवहरूलाई उसले कहिल्यै देखेको र चिनेको थिएन । जोनसँग किसिमकिसिमका खेलौना मोटरहरू पनि थिए । ती मोटरहरूमध्ये माल ओसार्ने ट्रक, मानिस ओसार्ने बस र साना जीप र कारहरू त जुठेले देखेको थियो तर माटो खन्ने र ओसार्ने र कम्मरपेटीजस्तो पांग्रा भएका मोटरहरू उसले कहिल्यै देखेको थिएन । कुनैकुनै मोटर दुईतीन वटा जोडेर एउटा बनाउन पनि सकिन्थ्यो । जुठेलाई ती मोटरहरू निक्कै मनपर्थे ।

जोनसँग मोटरसाइकलहरू पनि थिए । कुनै मोटरसाइकल दम दिएपछि बेस्सरी कुद्थे । कुनैमा ड्राइभर बसेको थियो । एउटा कालो रंगको मोटरसाइकलमा रातो फलामे लुगा र फलामे टोप लाएको ड्राइभर बसेको थियो । त्यो मोटरसाइल दम दिएपछि धेरै बेरसम्म कोठामा घुमिरहन्थ्यो । जोनलाई त्यो मोटरसाइकल मन पर्थ्यो । जुठे पनि जोनले त्यो मोटरसाइकल चलाउन थालेपछि दंग परेर हेरिरहन्थ्यो ।

कहिले काहीँ धेरै दम दिँदा मोटरसाइकलहरू बेस्सरी कुदेर बारीमा पुग्थे । जुठेले बारीबाट मोटरसाइकल खोजेर ल्याइदिन्थ्यो । जोनसँग खेल्दा जुठेलाई रमाइलो लाग्थ्यो । त्यसमाथि जोनले उसलाई पुराना खेलौना मोटरहरू पनि बेलाबेलामा दिने गर्थ्यो । जोनको संगतले जुठेले अंग्रेजी भाषाका केही शब्द र वाक्य पनि बोल्न सिकेको थियो ।

एक दिन जोनले आफूसँग भएका सबै मोटरसाइकलमा दम दिएर एकैचोटी कुदाउन खोज्यो । कुन मोटरसाइलले जित्छ भनेर उसले जुठेसँग बाजी थाप्न चाहृयो । तर आफू हारेको खण्डमा जोनलाई दिने कुरा जुठेसँग केही पनि थिएन । जोनले भन्यो, तिमीले भनेको मोटरसाइकलले जित्यो भने म त्यो मोटरसाइकल तिमीलाई नै दिन्छु । तर मैले भनेको मोटरसाइकलले जित्यो भने तिमीले बाँदरजस्तै गरी उफ्रँदै बारीको अम्बाको रुखमा चढेर अम्बा टिप्नुपर्छ ।

जुठेले जोनको कुरा मंजुर गर्यो । जोन र जुठेले एकएक वटा मोटरसाइकल एकै चोटी कुदाउँदै जित्नेलाई एकातिर र हार्नेलाई अर्कोतिर राख्दै गए । सबै मोटरसाइकल कुदाइसकेपछि उनीहरूले जित्नेजित्नेहरूको जोडा कुदाए र आखिरमा दुइटा जितुवा निस्के । एउटामा रातो लुगा लाएको ड्राइभर थियो भने अर्कोमा निलो लुगा लाएको ड्राइभर थियो ।

जोनले रातो लुगा लाएको ड्राइभर भएको मोटरसाइकल रोजेपछि जुठेले अर्को रोज्यो । दुबै जनाले ती दुइटा मोटरसाइकलमा पूरा दम भरे । अनि कुदाउने तयारीमा लागे ।

एक, दुई, तीन… दुबैले आआफ्नो मोटरसाइकललाई हातले जोडले अगाडि घचेटे । जोनले घचेटेको मोटरसाइकल चिप्लेर जोडले हुत्तिएर ढोका बाहिर गयो । अर्को मोटरसाइकल कोठामा वरिपरि कुदेर दम सकिएपछि पल्ट्यो ।

कोठा बाहिर हुत्तिएको मोटरसाइकल लिन जुठे बाहिर गयो । तर घेरै बेरसम्म जुठे फर्केन । जोनले उसलाई बोलायो । तर जुठेले जवाफ नफर्काएपछि ऊ बाहिर निस्क्यो । जुठे आगनमा थिएन । ऊ त पर झाङमा निहुरिएर मोटरसाइकल खोजिरहेको थियो । जोन जुठेको नजिक गयो र मोटरसाइकल कहाँ छ भनेर सोध्यो । दुबै जनाले बारीमा निक्कै खोजे तर मोटरसाइकल भेटिएन ।

हराएको मोटरसाइकलको कथा त्यसैको ड्राइभरको मुखबाट सुन्नुस् :

म जोनको उही हराएको मोटरसाइकलको ड्राइभर हुँ । मेरो नाम रोबिन हो । तर जोनले मेरो नाम बिगारेर रोबी भन्छ । खेल्न पुगेपछि जोनले मलाई खेलौनाको बाकसमा हुत्याइदिन्छ । तर जुठेले मेरो जिऊमा लागेको धुलो पुछेर मलाई जतनसँग बाकसमा राख्छ । यसैले मलाई जुठे मन पर्छ ।

त्यो दिन जोनको हातबाट हुत्तिएपछि चिप्लिएर म अलि पर पर्खालमाथि पुगेँ । जुठेले मलाई बारीमा फूलको बिरुवाको झ्यांगभित्र निक्कै खोज्यो तर उसले पर्खालमाथि हेरेन । उसले मलाई देखोस् भनेर मैले निक्कै कोसिस गरेँ । तर दम सकिएको हुनाले म बोल्न र चल्न सकिन । उसले मलाई भेटाउनै सकेन । जोनले जुठेले नै मलाई लुकाएको छ भन्ने आरोप लगायो । जुठेले अंध्यारो मुख लाउनेबाहेक अरु केही भन्नसकेन ।

म पर्खालमाथि बसेर कहिले मलाई जोन वा जुठेले देख्ला र मलाई लिन आउला भनेर जोनको घरतिर हेरिरहन्थेँ । तर म हराएको भोलिपल्टदेखि जोनको घरमा जुठे आएन । जुठेकी आमा पनि काममा आएको देखिन । जोन पनि घरभित्रै खेलिरहन्थ्यो । मलाई निक्कै पीर पर्यो । दिउँसो मलाई घामले पोल्थ्यो भने राती चिसोले कठ्यांग्रिन्थेँ । यसरी धेरै दिन बिते ।

एक दिन एउटा कौवा आयो र मलाई के थानेर हो कुन्नी थुङ्न थाल्यो । संयोगले जोनले झ्यालबाट हेरेको बेला पर्यो । कौवाले मलाई थुङेको देखेर जोन हत्तपत्त म भएको ठाउँमा आयो । उसले पर्खालमाथि चढेर मलाई भेट्टाउन खोज्यो तर सकेन । अनि उसले आफ्नी आमालाई बोलायो । आमा छोरा मिलेर भरेंड राखेर मलाई पर्खालबाट निकाले । जोनले माया गरेर मलाई पुछेर सफा गर्यो र घरभित्र लग्यो । अनि ऊ मसँग खेल्नथाल्यो ।

जोनसँग खेल्न पाएकोमा मलाई खुशी लाग्यो । जोन पनि खुशी थियो । धेरै दिनपछि जोन खुशी भएर खेलेको देखेर उसकी आमा पनि दंग भइन् । आमाले जोनको लागि खिर पकाइन् । आमाले ल्याइदिएको खिर खानै लागेको बेलामा उसको हात अचानक रोकियो । उसले आमासँग सोध्यो, “आमा जुठे छैन ! म एक्लैले कसरी खाने ? उ यहाँ भएको भए कस्तो रमाइलो हुन्थ्यो । उसलाई बोलाइदिनुस् न आमा ।”

जोनका कुरा सुनेर मलाई पनि खुशी लाग्यो । आखिरमा उसले आफ्नो साथीलाई बिर्सेको रहेनछ । जुठेलाई बित्थामा दोष लाएकोमा उनीहरूले पछुताउ गरे र माफी मागे ।

भोलिपल्टदेखि जुठेकी आमा जोनको घरमा पहिलेझैँ काममा आउन थालिन् र उनीसँगै जुठे पनि जोनसँग खेल्न आउन थाल्यो । मलाई अब जुठे र जोन दुबैले उत्तिकै माया गर्छन् ।

Image source: Kasajoo.com